साप्ताहिक संवाददाता
सानै उमेरदेखि संगीतमा रुचि राख्ने मानस श्रेष्ठ अहिले ड्रमरका रूपमा स्थापित हुने तरखरमा छन् । १० वर्षको उमेरदेखि ड्रम बजाउन थालेका १८ वर्षीय मानस हाल लोकप्रिय ब्यान्ड माउन्ट ८८४८ का ड्रमर हुन् । व्यवस्थापन संकायमा प्लस टु अध्ययनरत श्रेष्ठ नियमित अध्ययनसँगै संगीतलाई नै निरन्तरता दिन चाहन्छन् । मानस व्यवसायिक हिसाबले तीन वर्षदेखि ड्रमरका रूपमा करिब एक दर्जन ब्यान्डसँग आबद्ध भैसकेका छन् । क्लाइडोस्कोप म्युजिकमा चार वर्ष र पछिल्लो समय जिन्दाबाद ब्यान्डका किरण शाहीसँग १ वर्ष ड्रमको ज्ञान लिइसकेपछि उनी प्रोफेसनल ड्रमर भएका हुन् । विश्वविख्यात ड्रमरहरू माइक पोडनोई र मार्को मिनिम्यानलाई प्रेरणाको स्रोत मान्ने मानस आफूलाई सर्वोत्कृष्ट ड्रमरका रूपमा स्थापित गर्न चाहन्छन् । अगस्ट २०१४ मा ठमेलस्थित पर्पल हेज बारमा अमेरिकन प्रोगेसिभ ब्यान्ड पर्कोपाइन ट्रिको ट्रिब्युट सोजमा नेपाली प्रोगेसिभ ब्यान्ड स्टेयर्स अफ सिरिथका तर्फबाट ड्रम बजाएका मानसले लोडसेडिङ, टेपरेकर्डर आदि ब्यान्डसँग पनि काम गरिसकेका छन् । उनी हाल माउन्ट ८८४८ ब्यान्डमा सहभागी भएर मुलुकका विभिन्न स्थानमा कन्सर्ट दिइरहेका छन् । आगामी दिनमा संगीतको थप अध्ययन गर्दै अघि बढ्ने उनको योजना छ ।
नेपाली संगीतमा ड्रमरको भविष्य कस्तो देख्नुभएको छ ?
नेपाली ब्यान्डहरूमा अन्य म्युजिसियनको तुलनामा राम्रा ड्रमरको संख्या एकदमै न्यून छ, यद्यपि ड्रमरका रूपमा करियर बनाउन खोज्ने हामीजस्ता किशोरहरूको संख्या धेरै भएकाले भविष्यमा यो क्षेत्रमा चर्को प्रतिस्पर्धा हुने निश्चित छ । लाइभ पर्फमेन्समा ड्रमरको भुमिका मुख्य हुने भएकाले ड्रमरको भविष्य उज्जवल छ । अहिले तुलनात्मक रूपमा आर्थिक भविष्य पनि सुरक्षित छ ।
ड्रमर त सधैं पर्दापछाडि रहन्छ, तपार्इंले किन यो क्षेत्र रोज्नुभएको ?
ड्रमर ब्यान्डको ब्याक बोन हो । ड्रमरले एउटा गीतलाई फ्रेम दिने काम गर्छ, मलाई लाग्छ, त्यो महत्त्वपूर्ण काम हो । संगीतमा रुचि भएर अघि बढिसकेपछि को अगाडि को पछाडि हुन्छ भन्ने कुरा गौण हुन्छ । त्यहाँ सबैको बराबर भूमिका हुन्छ । पर्दा पछाडि नै रहे पनि ड्रमरले अन्य म्युजिसियन र सिंगरलाई डोर्याइरहेको हुन्छ । नेपालमा ड्रमरको स्कोप देखेर नै मैले यो क्षेत्रमा हात हालेको हुँ ।
आगामी योजनाहरू के–के छन् ?
मैले मानस श्रेष्ठ नाममा आफ्नै युट्युब च्यानल बनाएर पश्चिमा गीतहरूमा आफ्नो प्रयोग देखिने गरी ‘कभर ड्रम’ का भिडियोहरू राखेको छु । त्यसलाई दर्शकहरूले रुचाउनुभएको छ । चाँडै ज्याज संगीतको थप अध्ययनका निम्ति अमेरिका जाँदैछु । म्युजिक अध्ययनका क्रममा कि–बोर्डको ज्ञान पनि अनिवार्य भएकाले मेरो संगीत ज्ञानको दायरा अझ फराकिलो हुनेछ । त्यसपछि नेपाल आएर प्रयोगात्मक संगीतमा काम गर्ने मन छ । मेरो अबको जीवन संगीत अध्ययन र कर्ममै बित्नेछ ।