साप्ताहिक संवाददाता
नेपाली सांगीतिक आकाशमा मंसिर १९ गते सम्झनालायक हुन्छ । स्वरसम्राट् स्व. नारायणगोपाललाई अधिकांश संगीतकर्मीले यही दिन सम्झन्छन् । गत मंसिर १९ गते स्वदेश तथा विदेशमा नारायणगोपालको सम्झनामा विभिन्न सांगीतिक कार्यक्रम सम्पन्न गरिए । अधिकांश नेपाली संगीतकर्मीका प्रेरणाका स्रोत नारायणगोपाल गुरुवाचार्यको २५ औं स्मृति दिवसको अवसर पारेर गत शनिबार उनकै गीत–संगीत प्रस्तुत गर्दै उनको सम्झना गरियो ।
स्मृति दिवसका अवसरमा नारायणगोपाल संगीत कोषले महाराजगञ्ज, काठमाडौंस्थित आफ्नै परिसरमा आयोजना गरेको एक समारोहमा संगीतकारद्वय हरिप्रसाद रिमाल तथा शम्भुजित बास्कोटालाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरियो । सम्मानित भएपछि संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले नारायणगोपाललाई सम्झने शब्द नै नभएको प्रतिक्रिया दिए । ‘एउटा आकाशलाई कसरी हेरिन्छ, धर्तीलाई कसरी हेरिन्छ, त्यसरी नै नेपाली संगीत क्षेत्रमा नारायणगोपाललाई हेरिनुपर्छ, बास्कोटा भन्दै थिए— नेपालको संगीतलाई जगाउन नारायणगोपालको ठूलो योगदान छ ।’ उक्त अवसरमा गायक शिशिर योगी, रोशनी क्षत्री, मदन गोपाल, बीबी अनुरागी, देबेन्द्रमान सिंह, विकासजंग राणा, उत्तम रिमाल, निकिता थापा, सुरज श्रेष्ठ आदि गायक–गायिकाहरुले नारायण गोपालका गीतहरु प्रस्तुत गरेका थिए ।
स्मृति दिवसकै अवसर पारेर शनिबार सांस्कृतिक संस्थानमा विभिन्न गायक–गायिकाले नारायणगोपालका गीत गाएर उनलाई सम्झिए । सांस्कृतिक संस्थान नेपाल, नाचघरद्वारा आयोजित नारायणगोपालको २५ औं स्मृति दिवस तथा सांगीतिक कार्यक्रममा नयाँ पुस्ताका स्रस्टाहरूले उनका गीतहरू सुनाए । कार्यक्रममा संस्थानका गायक रूपक चौधरी, गायिका लोचन भट्टराई, गायक विपिन घिमिरे, गायिका शिला, टीका गुरुङ तथा भीमकला गुरुङले स्वरसम्राट्का विभिन्न लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।
झापाको चन्द्रगढीमा पनि नारायणगोपालको सम्झनामा सांगीतिक कार्यक्रम सम्पन्न गरियो । लेखनाथ पुस्तकालय, चन्द्रगढीको आयोजनामा सम्पन्न सांगीतिक कार्यक्रममा गायक हरी दाहाल, सञ्जय प्रधान, गायिका तारा ढकाल तथा बाल गायिकाद्वय साधना दाहाल र श्रेया दाहालले गीत गाउँदै नारायणगोपालको सम्झना गरेका थिए ।
इलामको नेपाली साहित्य संगीत तथा कला उत्थान मञ्चले नारायणगोपालको स्मृतिमा आयोजना गरेको सांगीतिक जमघटमा नयाँदेखि पुराना कलाकारसम्मले नारायणगोपालको गायकीलाई पुनर्ताजगी दिने प्रयास गरे । उक्त अवसरमा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य कोमल निरौला, लेखु विवश, सरगम राई, श्रेयस्कर गदाल, रमेश श्रेष्ठ, ब्रिज प्रधान, कृतिका राई आदि कलाकारले स्वरस्रमाट् नारायणगोपालका चर्चित गीत गाएका थिए । ट्रयाकमा गीत गाउने प्रचलन बढेका बेला स्थानीय र सीमापारिका संगीतकर्मीले लाइभ म्युजिक प्रस्तुत गर्दा दर्शकले पनि भरपुर मनोरञ्जन प्राप्त गरेका थिए । उक्त कार्यक्रममा सीमापारि मिरिकका संगीतकर्मीसँगै स्थानीय कलाकारहरू भूपेन्द्र राई, शरण राई, सन्दीप प्रधान, केशव लिम्बू, मिलन राई, राकेश गोले आदि प्रस्तुत भएका थिए ।
अस्ट्ेरलियाको एडिलेडमा पनि नारायणगोपालको सम्झनामा सांगीतिक कार्यक्रम प्रस्तुत भयो । रेडियोकर्मी प्रदीप निरौलाका अनुसार शनिबार साउथ अस्ट्रेलियाको एडिलेडमा आयोजित ‘सांगीतिक साँझ–२०१५’ मा गायक दीप श्रेष्ठ, गायक तथा गीतारिस्ट अनिल शाहीसँगै स्थानीय गायिका प्रजिता गेलाल, सदा श्रेष्ठ, टेकेन दाहाल आदिले नारायणगोपालका गीतहरू सुनाए ।
नारायणगोपालकै गीत गाएर सांगीतिक करियर प्रारम्भ गरेका गायक रामकृष्ण ढकालले अमेरिकामा आयोजित सांगीतिक कार्यक्रममा नारायणगोपालका गीतहरू गाएर दर्शकलाई मनोरञ्जन गराए । अमेरिकाको न्यू हेम्पसायरमा सम्पन्न समारोहमा गीत गाउने क्रममा गायक ढकालले स्वरसम्राट्लाई पटक–पटक सम्झिए ।
स्वरसम्राट् नारायणगोपालको २०४७ साल मंसिर १९ गतेका दिन काठमाडौंमा निधन भएको थियो । वि.सं. १९९६ मा काठमाडांैको किलागलमा बुबा आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा जन्मिएका नारायणगोपालले आफ्नो सांगीतिक यात्राका क्रममा करिब १ हजारभन्दा बढी गीत गाएका थिए ।