साप्ताहिक संवाददाता
मासिक १७ हजार आउने तलबले ३ वर्षमा ६ लाख कमाई नेपाल फर्कन्छु भनेर आएको मलाई अहिले ३ वर्षपछि नाकाबन्दी, बन्द–हड्ताल सम्झेर नेपाल फर्कन मन छैन ।’ यो युएईमा कार्यरत मकवानपुरका यादव रायमाझीले फेसबुकमा व्यक्त गरेको निराशजनक अभिव्यक्ति हो । यादवजस्तै प्रवासमा रहेका धैरै युवाको मन बदलिन थालेका छन् । विदेशमा केही वर्ष दु:ख गरीस्वदेश फर्केर केही गर्ने सोच बनाइरहेकाहरूसमेत नाकाबन्दीको खबर सुनेर नेपाल फर्केर केही गर्न सकिँदैन भन्न थालेका छन् । अहिले उनीहरू नेपाल फर्केर केही गरौं भन्नुभन्दा पनि उतै कमाऔं र बैंक ब्यालेन्स गरौं भन्ने मानसिकतामा पुगेका छन् ।
जेनतेन बनाएको घर भूकम्पले ढालेपछि विरक्तिएका सर्वसाधारणलाई नाकाबन्दीले थप निराश बनाइदिएको छ । अहिले मुलुकमा इन्धनको चरम अभाव छ । इन्धन अभावले एकातिर ढुवानीमा समस्या छ भने अर्कातिर सीमित उपभोग्य वस्तुको मूल्य अकासिएको छ । यसले साना मात्र होइन ठूला व्यवसायसमेत नराम्रोसँग प्रभावित भएका छन् । विदेशबाट फर्केर स्वदेशमा केही गर्न चाहनेहरूको मुख्य रोजाइ बन्ने व्यापार–व्यवसाय क्षेत्र चौपट भएपछि नेपालमा लगानीको वातावरण नै बिग्रिन पुगेको छ ।
जारी छ प्रवासी दबाब
भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा चरम मानवीय संकट निम्तिने खतरा बढेपछि प्रवासी नेपालीहरूले पनि नाकाबन्दी खोल्न दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरिरहेका छन् । यो साता पनि विश्वभर छरिएर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम सम्पन्न गरेका छन् ।
गैरआवसीय नेपाली संघ, आयरल्यान्डको आयोजनामा अमेरिकामा भव्य रूपमा विरोध प्रदर्शन भएको छ । नेपालीहरूको मानवअधिकार हनन हुने गरी भारतले अत्याचार गरेको भन्दै त्यसको जानकारी विश्व समुदायलाई दिन उक्त दबाबमूलक कार्यक्रम आयोजित गरिएको थियो । विरोधका क्रममा उनीहरूले पारवहन अधिकार हनन गर्न पाइँदैन, नाकाबन्दी तत्काल खोल, नेपालमाथिको हस्तक्षेप बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरेका थिए ।
त्यसैगरी लक्जेम्बर्गमा रहेका नेपालीहरूले पनि युरोपेली संसद् भवन घेराउ गरेका छन् । प्रदर्शनसँगै उनीहरूले संसद्का अध्यक्षलाई विरोध–पत्रसमेत बुझाएका छन् । नाकाबन्दीविरुद्ध अमेरिकाको सन्फ्रान्सिस्कोमा पनि प्रदर्शन भएको छ । सयौंको संख्यामा रहेका नेपालीले सिभिक सेन्टरबाट प्रदर्शन सुरु गरी बजार परिक्रमा गरेका थिए । त्यसैगरी क्यालिफोर्नियामा पनि विरोध कार्यक्रम सम्पन्न भएको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले पनि दबाबमूलक कार्यक्रम सम्पन्न गरेको छ । एकमहिने लामो विरोध कार्यक्रम आयोजना गर्दै आएको एनआरएन अस्ट्रेलियाले राजधानी क्यान्बेरामा विरोध प्रदर्शन गरेको हो । त्यहाँ अस्ट्रेलियाली संसद् र भारतीय राजदूतावासमा नाकाबन्दीविरुद्ध प्रदर्शन गरिएको थियो । सो क्रममा उनीहरूले अस्ट्रेलियाका विभिन्न राज्यबाट संकलन गरिएको हस्ताक्षरसहित ज्ञापनपत्रसमेत बुझाएका थिए । उनीहरूले आन्तरिक समस्या आफैं समाधान गर्न नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ज्ञापनपत्र पठाएका छन् । यसबीच नेपालमाथि भारतीय नाकाबन्दीका विषयमा अस्ट्रेलियाको संसदमा समेत छलफल भएको छ । अस्ट्रेलियाको प्रमुख प्रतिपक्षी लेबर पार्टीसँग आबद्ध नेपाली समुदायका अगुवाहरूले नेपालमा मानवीय संकटको विषय उठाएका हुन् ।
नेपाली टोलीले लेबर पार्टीका स्याडो विदेश मन्त्री तथा विपक्षी दलकी उपनेता तान्या पिल्भेसेक, पूर्वअर्थमन्त्री क्रिस बोबेन, पूर्वअध्यागमन मन्त्री रिचार्ड माल्र्स, सांसद मिचेल रोल्यान्ड तथा सिनेटर श्याम दस्तीयारीसँग भेटेर समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।