साप्ताहिक संवाददाता
अघिल्लो शुक्रबार बिहानसम्म अभिनेत्री तथा निर्मात्री पूजना प्रधान आफ्नो पहिलो चलचित्र ‘चकलेट’ का कारण उत्साहित थिइन् । सडक बालबालिकाको कथामा सन्देशमूलक चलचित्र निर्माण गरेका कारण पनि उनको उत्साह बढेको थियो । शुक्रबार चलचित्र प्रदर्शन भएपछि पूजनाको मात्र होइन, उनका शुभचिन्तकहरूको समेत उत्साह घट्यो ।
अधिकांश दर्शक ‘कबड्डी–कबड्डी’ प्रति आकर्षित भएपछि ‘चकलेट’ ले दर्शक पाएन । लाखौं रुपैयाँ खर्चेर सामाजिक सेवाको उद्देश्यले निर्माण गरिएको चलचित्र असफल भएपछि पूजना एकाएक रुष्ट देखिइन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार बिहान एउटा स्ट्याटस लेख्दै पूजनाले आफ्नो रुष्टता सार्वजनिक गरिन् । उनले लेखेकी छिन्— ‘तपाईंहरूले हेरि दिनु भएन, त्यसैले चकलेट फिल्म चलेन ।
नेपालीलाई राम्रो कथा, राम्रो फिल्मभन्दा हावा कथा भएको फिल्म नै मन पर्दो रहेछ । मैले राम्रो मनले राम्रो कामका लागि फिल्म बनाएँ तर तपाईंहरूको साथ पाइनँ, धन्यवाद । फेसबुकमा यो नै मेरो अन्तिम स्ट्याटस हो । आजबाट म फेसबुक पनि चलाउँदिन ।’ चलचित्र नचलेको झोँकमा फेसबुक नै नचलाउने घोषणा गर्नुलाई चाहिँ पूजनाको केटाकेटीपनका रूपमा हेरिएको छ ।