लेखक, पत्रकार तथा वृत्तचित्र निर्देशक मोहन मैनालीले रिपोर्टिङ र छायांकन क्रममा बटुलेका अनुभवहरू समेटेर दुई वर्षअघि ‘उपल्लो थलो’ शीर्षकको पुस्तक बजारमा ल्याएका थिए । यतिबेला फाइन प्रिन्टले प्रकाशन गरेको उनको पुस्तक ‘मान्ठा डराएको जुग’ बजारमा उपलब्ध छ । यो पुस्तकले २०७२ को पद्यम्श्री साहित्य पुरस्कार पनि हात पार्यो भने दोस्रो संस्करण पनि आउँदैछ । पत्रकारिताका प्रशिक्षकका रूपमा समेत सक्रिय मैनालीसँग नरेन्द्र रौलेले गरेको कुराकानी :
‘मान्ठा डराएको जुग’बाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
राम्रै प्रतिक्रिया पाइरहेको छु । पुस्तकमा उल्लेखित पदमबहादुर शाहीका भाइ घरमै भेट्न आउनुभयो । मैले पुस्तक दिन खोज्दा पढिसकें भन्नुभयो । उहाँले शाखा अधिकृतमा नाम निकाल्नुभएको रहेछ । उहाँले पुस्तक पढेर भावुक भएको सुनाउनुभयो । कालिकोटको कोटबाडाबाट फोन आयो । फेरि कालिकोट, बाजुरा तथा जुम्ला पुग्न मन छ ।
‘मान्ठा डराएको जुग’ माओवादीप्रति रूखो र सेनाप्रति नरम रूपमा भएर प्रस्तुत भएजस्तो लाग्दैन ?
मेरो नियत त्यस्तो होइन, तर द्वन्द्वकालीन अवस्थामा उनीहरूकै व्यवहारले त्यस्तो हुन गयो । मैले त जे भोगें, जे महसुस गरें, इमानदार भएर लेखेको हँु ।
कालिकोटको कोटबाडामा निर्दोषहरू मारिएको कुरालाई सानो स्पेस दिनुभयो तर माओवादीकै आलोचना गर्नमा बढी शब्द खर्चिनुभयो नि ?
जोगीमारामा मारिएकाहरूका बारेमा लेखिसकिएको हुनाले थप त्यसमा लेखिरहनु परेन । यो ठूलो च्याप्टर हो । त्यसैले कोटबाडा घटनाका सम्बन्धमा कमै लेखियो ।
पुस्तकमा नअटाएका पाटाहरू के–के छन् ?
डोटीको मुडभरामा माओवादी र प्रहरीहरू सेनाको गोलीले मरे । कैलाली, पहलमानपुरको घटना तथा दोस्रो पटक जोगीमारा जाँदाको प्रसंग छुट्यो । यसैमा लेखौं भने पुस्तक ठूलो हुने भयो । अर्को लेखौं भने एउटै विषयकति दोहोर्याउनु जस्तो लाग्यो ।
व्यक्तिगत रूपमा कस्ता खालका पुस्तक पढ्न रुचाउनुहुन्छ ?
आख्यान र गैरआख्यान दुवै पढ्छु । आख्यानले आफ्नो लेखन एवं प्रस्तुति राम्रो बनाउन सघाउँछ र पढ्दा पनि आनन्द आउँछ । गैरआख्यानले तथ्य जान्न, बुझ्न मद्दत गर्छ ।
वृत्तचित्र र पुस्तक लेखनलाई सँगसँगै अघि बढाइरहनुभएको छ । कुनमा बढी सन्तुष्टि मिल्छ ?
दुवै शक्तिशाली माध्यम हुन् । पुस्तक पनि प्रभावकारी हुन्छ । वृत्तचित्रमा श्रव्य–दृश्य दुवै हुनाले यसको प्रभाव बेग्लै छ । पुस्तक गाउँगाउँ पुग्न सक्छ । जतिबेला जहाँसुकै पढ्न सकिन्छ । वृत्तचित्र आफ्नो सुविधाअनुसार हेर्न नमिल्न सक्छ ।
घुम्दै लेख्न रुचाउनुहुन्छ, किन ?
हामीले पत्रकारिता गर्ने भनेको मानिसका बारेमा हो । आफ्ना कुरा अरूलाई सुनाउन नसक्नेका कथा लेख्दा सही पत्रकारिता गरेको ठहरिन्छ । हाम्रो लेखनीले मानिसहरूको सुख–दु:खमा केही परिवर्तन ल्याओस् । उनीहरूलाई ढाडस मिलोस् । आवाजविहीनहरूले आफ्ना कुरा अरूले सुनिदिए न्याय पाएको अनुभूति गर्छन् । आनन्द महसुस गर्छन् । म अरू विधामा लेख्न सक्दिनँ । कथा, कविता, उपन्यास लेख्न जानिनँ । त्यो मेरो बाटो हो जस्तो पनि लागेन ।
द्वन्द्वकालमा देश घुम्न, रिपोर्टिङ गर्न कत्तिको गार्हो भयो ?
पत्रकार हुनुको फाइदा उठाइयो । हामीलाई अलिअलि सुविधा थियो । पत्रकार भनेपछि जोखिम कम हुन्थ्यो । पत्रकारलाई छुनु हँुदैन भन्ने थियो । यद्यपि केही जोखिम लिने प्रयास पनि गरियो ।
थुप्रै जिल्ला घुम्नुभयो । कस्तो महसुस भयो ?
अहिलेसम्म ६८ वटा जिल्ला घुमियो । पश्चिम पहाडको भूगोल छिचोल्दा अलिकति कठिन भए पनि त्यो ठाउँ असाध्यै सुन्दर लाग्यो । त्यहाँका मानिसको बोली र प्रस्तुतिमा रस भेटिन्छ । विम्ब र साहित्य पनि प्रशस्तै फेला पर्छ । बोली नै कविताजस्तो लाग्ने । पूर्वचाहिं शिक्षामा अगाडि, प्राकृतिक स्रोत–साधनको उपयोग पनि पूर्वमै बढी छ ।
अबको तयारी के छ ?
घुमघामका क्रममा भेटिएका मानिसहरू तथा आफू पुगेको गाउँ–ठाउँका बारेमा अर्को पुस्तक लेख्ने तयारी गर्दैछु । अबको दुई वर्षभित्र यो पुस्तक पाठकहरूको हातमा पारिसक्ने योजना छ । घुम्ने क्रम पनि रोकिएको छैन ।