दुई महिनायता नेपालमा बिजुली र सौर्य ऊर्जाबाट चल्ने साधनहरूको खोजी हुन थालेको छ । सीमा नाकाहरूमा भैरहेको अवरोधका कारण इन्धन संकट सिर्जना भएपछि यस्ता सवारी साधनहरू मानिसको रोजाइमा पर्न थालेका हुन् । हाल काठमाडौं उपत्यकाका २५ वटा रुटमा विद्युत् र ग्यासबाट चल्ने करिब १ हजार ५ सय सार्वजनिक सवारी साधन रहेको सरकारी तथ्यांक छ ।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले पनि अहिलेको अवस्थाको मूल्यांकन गर्दै विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने नीति लिएको छ । विद्युतीय सवारी साधन आयात गर्दा लाग्ने करलाई उल्लेख्य रूपमा घटाउने साथै चार्ज गर्न विभिन्न स्थानमा चार्जिङ स्टेसनसमेत राख्न प्रोत्साहित गर्ने मन्त्रालयको योजना छ ।
सजिलो साइकल
अहिले नेपालका सडकमा विद्युतीय मात्र होइन, सामान्य किसिमका साइकल पनि बग्रेल्ती गुड्न थालेका छन् । साइकल चढ्नेहरूको संख्या काठमाडौंमै करिब ४ लाख रहेको अनुमान छ । विद्युतीय साइकलमा लाग्ने १ युनिट विद्युत्ले १ लिटर पेट्रोलको काम गर्ने विक्रेताहरूको दाबी छ । अहिले काठमाडौंका सडकमा ४ लाख थान साइकल चल्ने हो भने दिनको औसतमा २ लाख लिटर पेट्रोल बचत हुने व्यवसायीहरूले बताउँदै आएका छन् । नेपालमा यतिबेला १५ हजारदेखि ४ लाख रुपैयाँसम्मका साइकल उपलब्ध छन् ।
ई–रिक्साको सहारा
तराई–मधेसका जिल्लामा ई–रिक्सा सबै वर्गका मानिसको सहारा बनेको छ । अढाई वर्षअघि नेपालमा छिटपुट रूपमा मात्र भित्रिएका यस्ता रिक्सा यतिबेला सयौंको संख्यामा छन् । ६ सीट क्षमता भएको रिक्साको मूल्य २ लाख ६० हजारदेखि ४ लाख रुपैयाँसम्म पर्छ । एकपटक ब्याट्री चार्ज गरेपछि ८० किलोमिटर गुड्ने ई–रिक्सा यतिबेला प्रभावकारी यातायातको साधन बनेको छ ।
‘सफा’ टेम्पोको साथ
काठमाडौंको सफा टेम्पोले धेरैलाई साथ दिइरहेको छ । यो ट्याम्पो सिटमुनि राखिएको ब्याट्रीलाई विद्युत्मा चार्ज गरेपछि चल्छ । ११ सिट क्षमता भएका यस्ता टेम्पो काठमाडौंमा मात्र ७ सयभन्दा बढी छन् । यस्ता तीनपांग्रे टेम्पोको मूल्य करिब १० लाख रुपैयाँ पर्छ ।
इलेक्ट्रिक स्कुटर
नेपालको बजारमा उपलब्ध विद्युतीय स्कुटरहरू यतिबेला धेरै मानिसको रोजाइमा छ । दुई जना चढ्न मिल्ने कतिपय स्कुटर प्रतिकिलोमिटर गुडाउँदा २० पैसा मात्र खर्च हुने व्यवसायीहरूको दाबी छ । एसएमएस ब्रान्डका विद्युतीय स्कुटरको मूल्य प्रतिगोटा करिब ८५ हजार रुपैयाँसम्म पर्छ । एसएमएस स्कुटरमा ६ महिनादेखि एक वर्षसम्म वारेन्टी छ भने ६ घण्टा चार्ज गर्दा करिब ५० किलोमिटर गुडाउन सकिन्छ । ‘टर्रा’ ब्रान्डको जापानी स्कुटर पनि धेरैले रुचाएका छन् । १ लाख ५ हजार देखि १ लाख ८० हजार रुपैयाँसम्म पर्ने टर्रा ब्रान्डका स्कुटरले ३५ देखि ७५ किलोमिटरसम्म माइलेज दिने बताइन्छ । यो स्कुटर चार घण्टामा पूर्ण रुपले चार्ज हुन्छ ।
आनन्ददायक कार
नेपालमा विद्युत्बाट चल्ने कारका उपभोक्ताहरूको संख्या पनि क्रमश: बढ्दै गएको छ । नेपालमा भारतीय कम्पनी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडका साथै चीनियाँ कम्पनी गुन्जाओ ल्याङक्यिङ इलेक्ट्रिक कम्पनीद्वारा उत्पादित कारहरू बढी बिक्री भैरहेका छन् । रेभा कार पनि उत्तिकै रुचाइएको छ । मर्मत खर्च कम लाग्ने, चलाउँदा आवाज नआउने यस्ता कारप्रति मानिसहरू निकै आकर्षित छन् । महिन्द्रा एन्ड महिन्द्राको विद्युतीय कारको बजार मूल्य २४ लाख ३५ हजार रुपैयाँ छ । यसलाई पाँच घण्टा चार्ज गरेपछि १ सय २० किलोमिटर दौडाउन सकिन्छ । रेभा कार चलाउँदा प्रतिकिलोमिटर ४० पैसा मात्र खर्च लाग्छ करिब साढे दुई घण्टा ब्याट्री चार्ज गरे पुग्छ । एकपटक चार्ज गरेको ब्याट्रीले करिब ८५ किलोमिटरसम्म गुडाउन सकिन्छ । चीनमा उत्पादित इलेक्ट्रिक एलजिई–३ मोडलको कारमा चारवटा सिट छन् । १ सय ५० एम्पियरका ६ वटा ब्याट्री भएका यस्ता कार प्रतिघन्टा ६० किलोमिटरका दरले गुड्न सक्छन् । गियरसमेत नभएको यो कार फाइबर र मेटल बडीमा उपलब्ध छ र यसको बजार मूल्य १२ लाख तथा १६ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
बसमा सरर
नेपाली बजारमा विद्युतीय बसको पनि खोजी हुन थालिसकेको छ । अटो व्यवसायीहरूले यस्ता बसको बिक्री प्रारम्भ गरिसकेका छन् । नेपाल इलेक्ट्रिक भेहिकल ट्रेड लिंकले नेपाली बजारमा ल्याएको विद्युतीय बस सफा–१ र सफा–२ गरी दुई मोडलका छन् । १४ सीट क्षमता भएको सफा–१ बसको बजार मूल्य १३ लाख ५० हजार रुपैयाँ पर्छ । सफा–२ मा पनि १४ वटै सिट छन् । यसको बजार मूल्य १६ लाख ५० हजार रुपैयाँ छ । १० घण्टा ब्याट्री चार्ज गरेपछि यस्ता बस प्रतिघण्टा ४० देखि ६० किमीसम्म गुड्न सक्छन् ।
विद्युतीय सवारीका विक्रेता
नेपालमा सीमित कम्पनीले विद्युतीय सवारी साधनहरूको कारोबार गरिरहेका छन् । सरकारको प्रस्ट नीति तथा पर्याप्त चेतनाको अभावमा उपभोक्ताहरूले पनि यस्ता सवारी साधनप्रति विश्वास गर्न सकिरहेका छैनन ।
पाँच वर्षअघि नै बालुवाटारमा खुलेको नेभी ट्रेड लिंकले विद्युतीय बसको बिक्री गरिरहेको छ । शुभ पद्मश्री इन्टरप्राइजेजले पनि विभिन्न ब्रान्डका स्कुटर बेचिरहेको छ । नियोजेन बिजनेस नेपालले भने साइकलको माग धानिरहेको छ । इको भिजन्सले नेपालमा सबैभन्दा पहिले सन् २००८ देखि व्यवसायिक रूपमा विद्युतीय कार बिक्री गरिरहेको छ । सोसाइटी मुभ अन अल्टरनेटिभ सोर्सले पनि विद्युतीय साधनको सेवा प्रदान गरिरहेको छ । त्यस्तै नेपाल इलेक्ट्रिक भेहिकल ट्रेड लिंकले चीनमा उत्पादित इलेक्ट्रिक कार बिक्री गर्छ । यता महिन्द्रा कम्पनीले पनि कारको माग पूरा गरिरहेको छ । फेयर अटो, अग्नी इनर्जी आदिले पनि यस्ता साधनको बिक्री प्रवद्र्धनमा सघाइरहेका छन् ।