साप्ताहिक संवाददाता
विसरालोडा गाविस, धनुषाका पुष्पेन्द्रकुमार गोइतले राष्ट्रिय स्तरको एथलेटिक्स प्रतियोगितामा पहिलो सहभागितामै १६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका छन् । त्यसले उनलाई चर्चा मात्र दिएन, १२ औं दक्षिण एसियाली खेलकुद (साग) को छनौटमा पनि सफलता प्रदान गर्यो । २० वर्षीय गोइतले ७ दशमलव ०९ मिटर उफ्रँदै लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो सहभागितामा कस्तो प्रदर्शनको आशा गर्नुभएको थियो ?
यो स्पर्धामा राम्रा खेलाडी पनि थिए । त्यसैले दोस्रोसम्म हुने अपेक्षा थियो, तर कीर्तिमानै बन्यो, जुन सोचिएको थिएन ।
तयारी कस्तो थियो ?
स्कुलमा राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गरेको थिएँ । त्यसपछि खेलेको थिइनँ । काका दीपेन्द्रकुमार गोइतले जनकपुरमा एक महिना प्रशिक्षण गराएपछि साग छनौटका लागि काठमाडौं आएको हुँ ।
सागमा कस्तो नतिजाको आशा गर्नुभएको छ ?
राम्रो प्रशिक्षण प्राप्त गर्न सकियो भने सागमा ७ दशमलव ३० मिटरसम्म उफ्रने लक्ष्य छ । यति उफ्रिन सकें भने पदक जित्न सक्छु जस्तो लाग्छ ।
साग छनोटमा सहभागी हुन कसरी आउनुभयो ?
बैंगलोरमा प्लस टुको अध्ययन सकेपछि घरमै थिए । काकाले नै प्रतियोगिता हुँदैछ भनेर प्रशिक्षण दिई मलाई काठमाडौं ल्याउनुभएको हो ।
भविष्यको लक्ष्य ?
८९ प्रतिशत अंकसहित प्लस टु उत्तीर्ण गरें, अब डाक्टर बन्न चाहन्छु । त्यसका लागि अर्को वर्ष चीन जाने योजनामा छु ।