साप्ताहिक संवाददाता
सरु मुनिकार, जस्मिन ब्युटीपार्लर
अहिले विवाहको मौसममा ब्राइडल मेकअपको निकै चर्चा हुन्छ । यतिबेला ब्युटिसियनहरू पनि ब्राइडल मेकअपका लागि विभिन्न ठाउँमा जाने र दुलही सिँगार्ने काममा व्यस्त छन् । वनस्थलीस्थित जस्मिन ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरकी ब्युटिसियन सरु मुनिकारसँग ब्राइडल मेकअपका सम्बन्धमा गरिएको कुराकानी
दुलहीका लागि कुन मेकअप उपयुक्त हुन्छ ?
सिमर मेकअप, पेनकेक मेकअप, प्यानस्टिक फाउन्डेसन बेसमा गरिएको मेकअप दुलहीका लागि उपयुक्त हुन्छन । यी मेकअपले दुलहीको अनुहारमा भएका दाग छोप्नुका साथै अनुहारलाई कलिलो पनि देखाउँछ ।
दुलहीको मेकअप गर्दा के कुरामा ध्यान पुर्याउनुपर्छ ?
दुलहीको अनुहारको छाला कुन प्रकारको हो त्यसमा विशेष ध्यान दिनुपर्छ । दुलहीको मेकअपका लागि क्लिन्जिङ गर्नुपर्छ तर स्क्रब आवश्यक हुँदैन । टोनर ब्लेम गरेर छालाको कोषलाई कसिलो बनाउनुपर्छ । छालाको प्रकार अनुरूप फाउन्डेसन बेसमा लुज पाउडर प्रयोग गरि अनुहार चम्किलो बनाउनुपर्छ ।
मेकअप लामो समय टिकाउन के गर्नुपर्छ ?
जग्गेमा लामो समय बस्नुपर्ने भएकाले दुलहीको मेकअप पनि सोहीअनुसार गरिनुपर्छ । यसका वाटर प्रुफ मेकअप गर्नुपर्छ भने कुन प्रकारको छाला हो, त्यसैअनुरूप मेकअप गर्नुपर्छ ।
कुन फेसियल प्रभावकारी हुन्छ ?
डाइमन्ड र गोल्ड फेसियल उपयुक्त हुन्छ । यस्तो फेसियलले दुलहीको अनुहारमा तुरुन्तै फरकपन देखाउँछ । यसले अनुहारमा भएका अनावश्यक दाग लुकाउन पनि सहयोग गर्छ ।
आँखाको मेकअप कस्तो हुनुपर्छ ?
दुलहीको आँखा कस्तो छ त्यसमा भर पर्छ । सबैभन्दा पहिले ल्यासेस, त्यसपछि गाजल लगाएर अन्तमा मस्कारा लगाउनुपर्छ ।
हेयर स्टाइल कस्तो हुनुपर्छ ?
लामो केशमा साइड पार्टेसन गर्नु राम्रो हुन्छ । यसैगरी अनुहारको आकार हेरेर पफ, साइड पफ वा टु साइड पफ बनाउन सकिन्छ ।