साप्ताहिक संवाददाता
मंसिर २८, २०७२
खासमा दक्षिण एसियाली खेलकुदको पहिलो संस्करण आयोजना गर्ने अवसर बंगलादेशलाई प्राप्त भएको थियो । तयारीको अभावमा बंगलादेश त्यसमा सफल भएन, तर जति बेला नेपालले पहिलो दक्षिण एसियाली महासंघीय खेलकुदको सफल आयोजना गर्यो, उसलाई त्यसको दोस्रो संस्करण आयोजना गर्न हतार भैहाल्यो ।
काठमाडौंमा सम्पन्न पहिलो संस्करण सम्पन्न भएको १५ महिना नबित्दै ढाकाले दोस्रो दक्षिण एसियाली महासंघीय खेलकुदको आयोजना गर्यो । सन् १९८५ को डिसेम्बर २० देखि २६ सम्म सञ्चालित प्रतियोगितामा सात खेल समावेश गरिएको थियो । यसअघिका एथलेटिक्स, बक्सिङ, फुटबल, भारोत्तोलन तथा पौडीसँगै ढाकामा कपर्दी र कुस्ती थपिएका थिए । कुल सहभागी खेलाडीको संख्या थियो- ४ सय ७० ।