अघिपछि युवापुस्ताले भरिने नारायणगढस्थित नारायणी कला मन्दिर सोमबार साँझ पाका पुस्ताले भरिएको थियो । युवापुस्ताको उपस्थिति अघिपछि भन्दा कम देखिन्थ्यो । कला मन्दिरको सभा हल भने हाउसफुल थियो । कला मन्दिरले स्वर सम्राट् नारायण गोपाल गुरुवाचार्यको २५ औं पुण्य स्मृतिमा आयोजना गरेको ‘नारायण गोपाल स्मृति साँझ–२०७२’ मा युवादेखि पाका पुराना गायकले श्रोताहरूलाई मन्त्रमुग्ध बनाए । सरस्वती बन्दनाबाट प्रारम्भ भएको कार्यक्रममा सबैभन्दा पहिले गायक विश्व प्रधान देखिए । त्यसपछि शेखर श्रेष्ठ, सपना रोइला, रेशमलाल श्रेष्ठ, उमेश अधिकारी आदिले दर्शकहरूलाई स्तब्ध पारे ।
सबैको नजरमा भने कला मन्दिरका अध्यक्ष एवं गीतकार दिलीप पिया परे । उनले गायिका सपनाका साथमा ‘ए कान्छा...’ मार्फत दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गरे । पियापछि गायक एवं संगीतकार सहन प्रधान, छाँया पिया तथा अनुराधा क्षेत्री प्रस्तुत भए । कार्यक्रमको अन्तिमतिर भने स्टेजमा युवा गायक–गायिकाहरू नारायणगोपाललाई गीतमार्फत सम्झन उपस्थित भए जसमा प्रदीप ढकाल, विराजमान श्रेष्ठ, सुदीप खतिवडा र शिला मानन्धर थिए ।