जापानको टोकियोमा हुन गैरहेको बृहत् सांस्कृतिक कार्यक्रम महजात्रामा सहभागी हुन यसै हप्ता हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतका कलाकारहरू जापान पुग्दैछन् ।
एनआरएनए जापानले आयोजना गर्ने उक्त कार्यक्रमका लागि महजोडीसँगै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का, नायिका प्रियंका कार्की, नरेन्द्र कंशकार, लोकगायक बमबहादुर कार्की, मोहितवंश आचार्य, यमन श्रेष्ठ आदि कलाकार जापान पुग्दैछन् । २० डिसेम्बर आइतबार टोकियोमा हुने महजात्रालाई डिसेम्बर २२ तारिख ओशाका तथा २४ तारिख फुकुओकामा प्रस्तुत गरिनेछ ।
जापानमा रहेका नेपालीहरूमाथि आइपर्ने समस्या समाधान एवं उद्धारका लागि ५ करोड रुपैयाँको आकस्मिक राहत कोष स्थापनार्थ रकम संकलन गर्ने उद्देश्यले आयोजित महजात्राको सम्पूर्ण तयारी पूरा भैसकेको एनआरएनए जापानका अध्यक्ष सूदन थापाले जनाएका छन् । कार्यक्रममा महजोडी सहित कलाकारहरूले विभिन्न समसामयिक विषयमा व्यंग्य एवं प्रहसन प्रस्तुत गर्नेछन् भने नायिका प्रियका कार्कीले आर्कषक नृत्य प्रस्तुत गर्नेछिन् ।