साप्ताहिक संवाददाता
२८५२ औं सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ कला संस्कृति केन्द्रले ‘मिस तामाङ’ को नयाँ संस्करण आयोजना गर्ने भएको छ । तामाङ समुदायको सांस्कृतिक एवं जातीय पहिचानका विविध पक्षको सेरोफेरोमा सञ्चालन हुने यो प्रतियोगितालाई तामाङ युवतीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा प्रतिभा प्रस्फुटनको अवसरका रूपमा प्रस्तुत गरिंदै आएको छ । आयोजक संस्थाले उल्लेख गरेअनुसार यो प्रतियोगितामा एसएलसी उत्तीर्ण गरिसकेका १६ देखि २६ वर्ष उमेर समूहभित्र पर्ने तामाङ युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । शारीरिक उचाइको हकमा कम्तीमा ५ फिट हुनुपर्नेछ ।
‘मिस तामाङ–२०१६’मा सहभागिताका लागि आगामी पुस १५ गतेभित्र आवेदन फारम भरिसक्नुपर्ने छ भने माघ महिनाको तेस्रो साता प्रतियोगिताको ग्रान्ड फिनाले हुनेछ । यसअघि जेनिशा मोक्तान, उपाली ग्याबोक, समी भज्यु, रोजिना घिसिङ, सुमि मोक्तान, लाक्पा वाङमो तामाङ, मुनाश्री लामा तथा लक्ष्मी तामाङ मोक्तानले मिस तामाङको उपाधि जितिसकेका छन् ।