अल्पसंख्यक आठपहरियाहरू यतिबेला उनीहरूको सबैभन्दा ठूलो मंसिरे चाड धूमधामका साथ मनाइरहेका छन् । खास थातथलो धनकुटा भएका आठपहरिया जाति मुलुकभर करिब २० हजारको संख्यामा रहेको बताइन्छ ।
आठपहरियाहरू हरेक वर्ष कार्तिक पूर्णिमादेखि १५ दिनसम्म मनाइने मंसिरे चाडमा जन्म र मृत्युपछिका विभिन्न संस्कार प्रस्तुत गर्छन् । वर्षभरि मृत्यु भएका आफन्तहरूप्रति श्रद्धाञ्जली दिन बरखी बारेका आठपहरियाहरू केश मुण्डन गरी सुनसरीको चतरास्थित प्रसिद्ध बराह धामको यात्रा गर्छन् ।
पितृ उद्धारका लागि तीन दिनसम्म गरिने कष्ठकर पैदलयात्रापछि बराह भगवान्को दर्शन सकेर कोकाहा नदीको शुद्ध जल उठाई घर फर्कने यो समुदायको परम्परा छ । यसरी ल्याइएको जलले घर चोख्याएर मार्गा थानमा स्वस्तिशान्ति गरी जुठो फुकाइन्छ । जुठो सकेर मौलिक वाद्यवादनका साथ मुन्धुम गाउँदै मारुनी नाच्ने र परिवारका दिवंगत सदस्यहरूको मृतआत्माको चिरशान्ति एवं भावी सन्ततिको समृद्धिको कामना गर्ने चलन आठपहरियाहरूमा छ ।