साप्ताहिक संवाददाता
भुवन प्यासी, गायक
सांगीतिक व्यस्तता कस्तो छ ?
चितवनबाट सांगीतिक यात्रा प्रारम्भ गरेकाले पनि होला, यो क्षेत्रका अधिकांश महोत्सव तथा सांगीतिक कार्यक्रमहरूमा सहभागी भैरहेको छु । दोस्रो एकल एल्बम ‘यात्रा जिन्दगीको’ का ६ वटै गीतका म्युजिक भिडियोको निर्माण भर्खरै सम्पन्न भएको छ ।
सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएको कति भयो ?
सात वर्षअघि पहिलो एल्बम ‘यादहरू’ सार्वजनिक गर्दै सांगीतिक क्षेत्रमा आएको हुँ । पहिलो एल्बमका केही गीत श्रोताले मन पराएपछि यो क्षेत्रमा सक्रिय छु ।
पहिलो एल्बम र दोस्रो एल्बमको बीचमा धेरै ग्याप गर्नुभएछ नि ?
पहिलो एल्बम सार्वजनिक गर्दा मैले संगीतको औपचारिक प्रशिक्षण लिएको थिइनँ । त्यसैले उक्त एल्बमका केही राम्रा गीतप्रति न्याय गर्न नसकेको अनुभव भयो । त्यसपछि चितवनको नारायणी कला मन्दिरमा संगीतकर्मी बद्री अधिकारीसँग तीन वर्ष लामो शास्त्रीय संगीत प्रशिक्षण लिएपछि दोस्रो एल्बमको तयारी थालेको हुँ ।
दोस्रो एल्बममा कस्ता गीत समावेश गर्नुभएको छ ?
सुगम संगीतमा आधारित गीतहरू समावेश छन् । राष्ट्रिय गीतदेखि लोक–पपसम्मका गीतले ‘यात्रा जिन्दगीको’ एल्बमका गीतहरू कर्णप्रिय बनेका छन् ।
यो एल्बमको सांगीतिक पक्ष कस्तो छ ?
संगीतकार अर्जुन पोखरेलले मेरा लागि मिठासपूर्ण गीत तयार पार्नुभएको छ । बीबी अनुरागी र शंकर थापाको संगीत पनि कर्णप्रिय छ ।
कुन–कुन गीत लोकप्रिय हुने अपेक्षा गर्नुभएको छ ?
‘मान्छे भुइँमा ढल्छ...’ गीत लोकप्रिय भैसकेको छ । यो गीतको भिडियोले युट्युबमा पनि प्रशस्त दर्शक पाएको छ । ‘यो देशका लागि...’ शीर्षकको राष्ट्रिय गीतले यसै वर्षको कालिका एफएम एवार्ड जितिसकेको छ । सुरजसिंह ठकुरीको निर्देशनमा तयार भएको म्युजिक भिडियोसहितको ‘हल्का हल्का...’ पनि लोकप्रिय हुने क्रममा छ ।
पाश्र्व गायन पनि गर्नुभएको रहेछ, भविष्यमा कुन विधामा सक्रिय हुने योजना छ ?
पहिलो चलचित्र ‘भेटी’ देखि पछिल्लो चलचित्र ‘यो पागल मन’ सम्म आइपुग्दा चेतन सापकोटा, अर्जुन पोखरेल आदि संगीतकारले पाश्र्व गायनमा पनि विश्वास गर्नु भएको छ । संगीतका हरेक पक्षमा सक्रिय हुँदै आधुनिकदेखि चलचित्रसम्मका गीतलाई निरन्तरता दिने योजना छ ।