साप्ताहिक संवाददाता
‘तक्मेबूढा’को चरित्रबाट ख्याति कमाएका हास्यकलाकार विल्सनविक्रम राई र नायक गौरव पहारीबीच चलचित्र ‘अधकट्टी’को निर्माणदेखि मित्रता फस्टाएको हो । पहारी र राई हास्यप्रधान चलचित्र ‘अधकट्टी’का तीन नायकमध्ये दुई नायक हुन् । अभिनयका कारण निकै नजिक भएका उनीहरू फुर्सदमा भेटघाट एवं रमाइलो गर्छन् । ‘अधकट्टी’ पछि उनीहरूले चलचित्र ‘रातोघर’मा पनि साथै काम गरिसकेका छन् । यी दुई अविवाहित अभिनेतामध्ये विल्सनले दाइ भन्ने गौरवलाई केही सल्लाह सुझाव दिँदै यसरी कुरा काटे :
असल बाइट्स
सुग्घरी : कुरा मात्र सफा गर्ने होइन, उहाँ आफू पनि निकै सफा–सुग्घरी हुनुहुन्छ ।
अरूको कुरा सुन्ने : अरूको कुरा सुनेर मनन गर्ने व्यक्ति कमै हुन्छन् । गौरव दाइमा त्यो क्षमता छ ।
मेन्टेन गर्ने : उमेरमा मभन्दा अलिकति मात्र जेठो भए पनि उहाँले आफूलाई यति मेन्टेन गर्नुभएको छ कि कुनै बेला त मभन्दा कान्छो देखिनुहुन्छ ।
व्यवहारिक : ठूलोलाई सम्मान र सानोलाई माया गर्ने उहाँको व्यवहार निकै मन पर्छ । विशेष गरी जहाँ पनि समयमै पुग्नुहुन्छ ।
दक्ष अभिनेता : मान्छे मात्र राम्रो होइन, उहाँ एक असल अभिनेता पनि हुनुहुन्छ ।
खराब बाइट्स
मनको कमलो : दाइको मन यति कमलो छ कि छिट्टै भावनामा बग्नुहुन्छ । अहिलेको संसारमा मन कमलो होइन, दह्रो हुनुपर्छ ।
नङ टोक्ने : उहाँलाई नेलकटर नै चाहिँदैन । हातका नङ दाँतले कुटु–कुटु टोकेरै सक्नुहुन्छ ।
परफ्युमको अति प्रयोग : एउटा परफ्युमको सिसी एकपटकमै सकिने गरी स्प्रे गर्नुहुन्छ ।
नाइँ भन्न नसक्ने : कसैलाई कुनै पनि काममा नाइँ भन्न सक्नुहुन्न । त्यसले गर्दा धेरैपटक धोका पाइसक्नुभएको छ ।
झडङ्ग रिसाउने : रिसचाहिँ नाकको टुप्पोमै छ । उहाँले रिसलाई आफ्नो वशमा राख्न जान्नुपर्छ ।