साप्ताहिक संवाददाता
हिमाल सागर, गायक
मैले गीत गाएरै यसरी संसार डुल्छु भन्ने कल्पनासम्म गरेको थिइनँ । एउटा कलाकारले वास्तवमै सबैभन्दा बढी सम्मान विदेश पुगेर पाउँदा रहेछन् । मैले यही अनुभव गरेँ । सानोमा बुवा–आमाले दसैंमा टीका लगाइदिँदा ठूलो भएर संसार डुलेस् भन्ने आशीर्वाद दिनुहुन्थ्यो । मलाई उहाँहरूको आशीर्वाद लागेको छ ।
गाउन सुरु गरेको केही समयमै मेरा केही गीत चर्चामा आए । ‘न मैले लेखें, न उनले लेखिन्’, ‘मेरो माया मारेपछि’, ‘तिमीले माया नगरे’, ‘मेरो मनमा आगो लाउने’, ‘नाच तिमी आज मादलको तालमा’, ‘तीन ढिक्की फुली लाएर’ जस्ता एक दर्जन गीत श्रोताहरूले मन पराइदिएपछि मेरो विदेश यात्रा सहज भएको छ । मेरो गायन यात्रा आरम्भ भएको १२ वर्ष भयो । अहिलेसम्म मैले १ सय ५० जति गीत गाइसकेको छु ।
सन् २००९ मा म पहिलो पटक बोइङ चढेर दुबई पुगेको थिएँ । त्यसपछि नै हो मेरो यात्राको क्रम बढ्दै गएको । कतार, मलेसिया, थाइल्यान्ड, म्यानमार, सिंगापुरपछि मेरो यात्रा युरोपतिर सुरु भयो । साइप्रस, स्विजरल्यान्ड, फिनल्यान्ड, फ्रान्स, इस्तोनिया, स्कटल्यान्ड, नेदरल्यान्डजस्ता युरोपका सम्पन्न सहरहरू पुगेर मैले त्यहाँ रहेका नेपालीहरूसामू आफ्ना गीत सुनाइसकेको छु । युरोप घुम्दा जुनसुकै नेपालीलाई के लाग्छ भने हाम्रो नेपालमा त्यस्तो विकास कहिले हुन्छ ?
विदेशमा रहेका आत्मीय नेपालीहरूले मलाई कार्यक्रमका लागि बोलाइरहनुहुन्छ । म नेपाली चलचित्रका महानायक राजेश हमाल तथा चर्चित गायक रामकृष्ण ढकालका साथ पनि कार्यक्रमहरूमा सहभागी भएको छु । राजेश दाइ र रामकृष्ण दाइले मलाई सल्लाह सुझाव पनि दिइरहनुहुन्छ । उहाँहरूको संगतमा मैले सेलिब्रेटी लाइफ स्टाइल सिक्न पाएको छु ।
गायन कर्ममा लागेपछि मैले अहिले हाम्रो गीतसंगीत व्यवसायिक रूपमा निकै पछि परेको पाएको छु । मजस्ता केही गायक–गायिका तथा कलाकारलाई विदेशमा रहेका नेपाली आयोजकहरूले कार्यक्रममा निम्तो गरेका कारण हाम्रो रोजिरोटी चलिरहेको छ । विदेशका कार्यक्रम नहुने हो भने अझ धेरै प्रतिभाशाली कलाकार यहाँबाट पलायन हुन्छन् ।
बितेका पाँच वर्षमा मैले झन्डै २० वटा देश घुमिसकेछु । यही अंग्रेजी नयाँ वर्षदेखि नेपाली नयाँ वर्षको बीचमा म ओमान, फ्रान्स, पोर्चुगल, नर्वे, स्विटजरल्याण्ड, जापान तथा बहराइन जाँदैछु । यो वर्षमा लन्डन, अस्ट्रेलिया, साइप्रस, क्यानाडा, हङकङ, ओमन तथा जापान जाँदैछु ।
हालैमात्र म अष्ट्रेलिया, अमेरिका तथा क्यानडा टुर सकेर स्वदेश फर्किएकी हुँ । अमेरिकाबाट फर्किएपछि मलाई धेरै जनाले ‘ग्रिनकार्ड एप्लाइ गरेको हो ?’ भनेर सोधे । म नेपाली गायक हुँ र आफ्नो गायन कर्मबाट जति कमाएको छु, त्यसबाट सन्तुष्ट छु । मलाई आफ्नो देश छाडेर सदाका लागि कतै पलायन हुने रहर छैन । म नेपाली गायककै रूपमा सबैतिर आफ्ना गीत सुनाइरहन चाहन्छु र अझै धेरै देश पुगेर संसारका महत्वपूर्ण ठाउँहरू नियाल्ने रहर बाँकी नै छ ।