प्रमोद खरेल, गायक
गीत : प्रियसीका यादहरू
जति पटक सुने पनि धीत नमर्ने निकै कम गीतमध्ये यो गीत अग्रपंक्तिमा छ । दिव्य खालिङको संगीत तथा नारायण गोपालको स्वरको यो गीतको तीनवटै पक्ष उत्कृष्ट छ ।
गायक : नारायण गोपाल
स्वरसम्राट स्व.नारायण गोपालको स्वरमा जुन डेप्थ पाइन्छ, त्यो विरलै गायक–गायिकामा हुन्छ । शब्द तथा संगीतको समेत राम्रो ज्ञान भएका यी गायकका गीतमा शास्त्रीयता भित्र पनि नेपालीपन भेटिन्छ ।
गायिका : तारादेवी
गायिका तारादेवीको स्वरमै जादु छ । शब्द उच्चारण स्पष्ट हुनुका साथै उहाँ गीतको शब्द छनौटमा पनि उत्कृष्ट हुनुहुन्छ ।
संगीतकार : गोपाल योञ्जन
कस्तो शब्दलाई कस्तो संगीत दिनुपर्छ भन्ने वृहद ज्ञान भएका संगीतकारमा गोपाल योञ्जन अग्रपंक्तिमा हुनुहुन्थ्यो ।
गीतकार : क्षेत्रप्रताप अधिकारी
क्षेत्रप्रताप अधिकारीको लेखन शैली आकर्षक त छ नै, उहाँ शब्द छनौटमा पनि उत्तिकै
ध्यान दिनुहुन्थ्यो ।
चलचित्र : टलक जंग भर्सेस टुल्के
नयाँ ट्रेण्डमा निर्माण भएको यो चलचित्रले दसवर्षे जनयुद्धलाई आकर्षक ढंगले चित्रण गरेको छ । निर्देशकले कलाकारहरूलाई आकर्षक अभिनय गराउन सफल भएकाले पनि यो चलचित्र उत्कृष्ट बनेको हो ।
अभिनेता : हरिवंश आचार्य
हरेक भूमिकामा अभिनय गर्न सक्ने भर्सटायल अभिनेता हरिवंश आचार्य नै हुनुहुन्छ ।
अभिनेत्री : कृष्टि मैनाली
काली–काली हिस्सी परेकी यी नायिकाका चलचित्र हेरेर हुर्किएकाले उनको तुलना अन्य नायिकासँग गर्नै सक्दिन ।
हास्य कलाकार : मह जोडी
मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको जोडी उदाहरणीय छ । म खासगरी उहाँहरूको मदनबहादुर र हरिबहादुरको चरित्रबाट प्रभावित छु ।
मोडल : अनुदान जंग राणा र उषा खड्गी
ड्यासिङ पर्सनालिटीका धनी अनुदानजंग राणाको हाउभाउ पनि उत्तिकै आकर्षक छ । मिस नेपालहरूमध्येकी एक उषा खड्गी सुन्दर तथा शालिन देखिनुहुन्छ ।
ठाउँ : झापा र पोखरा
आफ्नो ठाउँ भएकाले झापा मन पर्छ । पोखराको सुन्दरताको वर्णन त दुई–चार शब्दमा गर्नै सकिँदैन ।
मन्दिर : पशुपति नाथ
फुर्सद हुनेबित्तिकै भगवान् श्री पशुपतिनाथको मन्दिर पुगिन्छ ।
पहिरन : क्याअजुल
हरेक अवसरमा सुहाउने र सजिलो पहिरन नै क्याजुअल वेयर भएकाले म प्राय: यस्तै पहिरनमा भेटिन्छु ।
महिना : असोज–कात्तिक
न जाडो, न गर्मी । वर्षभरिमा मलाई यी दुई महिना असाध्यै मनपर्छन् ।
चाडपर्व : तिहार
तिहारका पाँचै दिन मन पर्छ । खासगरी लक्ष्मीपूजाको झिलिमिली र भाइटीकाको रमाइलो जमघट सबैभन्दा रमाइलो हुन्छ ।