मेरो श्रीमान्को म माथि आरोप छ कि मैले उहाँसँगको यौनसम्बन्धलाई बुझ्न सकेकी छैन । उहाँको मान्यता यौनसम्पर्क दिनको दुई पटकसम्म हुनुपर्छ भन्ने छ, तर मलाई त्यस्तो मान्यता मन पर्दैन । मलाई यो समयमा निकै रिस उठ्छ र झगडा पनि गर्छु तर उहाँ मान्नु हुन्न । मैले सहमतिमा हप्ताको एकपटक यौनसम्पर्क गर्ने कुरा गरिसकें तर उहाँ त्यसरी यौनइच्छालाई मार्न नसक्ने कुरा गर्नुहुन्छ । उहाँमा चिडचिडाहट पनि देखिने गरेको छ । हामीबीचको यो समस्या कसरी सुल्झाउन सकिन्छ ? के दैनिक दुई पटक यौनसम्पर्क गर्नु सामान्य हो ?
मी.
यो प्रश्नबाट तपाईंको र श्रीमान्को यौनचाहनामा भिन्नता भएको बुझिन्छ । दुवैको यौनइच्छाका बीच तादात्म्य नमिलेजस्तो छ । राम्रो संयोजन वा तालमेल नभएको हो कि ? ब्रिटेनमा गरिएको एक राष्ट्रिय सर्वेक्षणअनुसार २७ दशमलव ४ प्रतिशत महिलामा तथा २३ दशमलव ४ प्रतिशत पुरुषमा यौनचाहनामा भिन्नता हुने जनाएको छ, तर कहिलेकाहीं महिलामा यौनचाहना पुरुषमा भन्दा बढी भएको पनि पाइएको छ । जब यौनचाहनामा भिन्नता भएको थाहा पाइन्छ, एक–अर्कालाई दोष लगाउनुभन्दा पनि किन भिन्नता आइरहेको छ भन्ने कुरा पत्ता लगाउँदै त्यसको समाधान दुवै जना मिलेर खोज्नु उचित हुन्छ ।
यस्तो हुनुको पछाडि तनाव वा उमेरअनुसार हार्मोनको कमी, नयाँ औषधीको सेवन आदि हुनसक्छ । उच्चस्तरको सन्तुष्टि प्राप्त गर्नेमा दुई जनाबीचको गुणस्तरीय संवाद गर्ने सीप नै सबैभन्दा महत्त्वपूर्ण हुने हँुदा कतै यसमा कमी आइरहेको पो छ कि खोज्नु आवश्यक छ । जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीं यौनका बारेमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलै समस्या हुने उदाहरण प्रसस्तै छन् ।
अनुसन्धानकै कुरा गर्ने हो भने पुरुषहरूको वीर्यको उत्पादन, प्राकृतिक टेस्टोस्टेरोन हार्मोनका कारणले उनीहरूले यौनसम्र्पकद्वारा हरेक ७२ घण्टा वा हरेक तीन दिनमा वीर्य स्खलन गर्न चाहन्छन्, यसको अर्थ यौनइच्छा हरेक तीन दिनमा हुनु स्वभाविक हो । महिलामा पनि तीव्र यौन चाहना हुन्छ । धेरैले महिनावारी सुरु हुन लागेको समयमा त्यस्तो हुने बताउँछन्, केहीले महिनावारी भएको केही समयपछि । यदि उक्त समयमा आफ्नो पार्टनरले यौनसम्पर्क गर्न नमानेको खण्डमा महिलालाई धोका दिएजस्तो महसुस हुन्छ र कहिलेकाहीं पार्टनरमाथि नै शंका गर्छन् । हुन सक्छ, तपाईंले पनि यस्तो अनुभूति गर्नुभएको छ । आफूलाई यौनचाहना भएको समयमा पार्टनरले समन्वय नगर्दा महिलालाई जस्तो अनुभूति हुन्छ त्यस्तै अनुभूति पुरुषलाई पनि हुन्छ ।
हरेक व्यक्तिको यौनइच्छा फरक–फरक हुन्छ, दुई व्यक्ति जब दाम्पत्य जीवनमा प्रवेश गर्छन् एक–अर्काको यौनइच्छाको फरकपनलाई कसरी एउटै बनाउने, त्योचाहिँ महत्वपूर्ण कुरा हो ।
तपार्इंको प्रश्न पढ्दा यौन प्रवृत्तिमा कुनै फरकपन आएको बुझिन्छ । थप अप्ठ्यारो स्थिति आउन नदिन तपाईंहरूको यौन इच्छा वा दैनिक जीवनका बारेमा कुरा गर्न जरुरी छ । तपाईंहरूबीच कुनै चिन्ता, मतभेद वा झगडा छ कि प्रस्ट हुन जरुरी हुन्छ । प्रश्न पढ्दा एक–अर्काप्रतिको सम्मान गर्ने कुरामा कमी भएको पनि बुझिन्छ । एक–अर्काप्रतिको आकर्षणमा कमी भएको पनि हुनसक्छ अथवा भनौं मानसिक तनावका अनेकन कारण हुन सक्छन् । तिनीहरूका बारेमा पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ ।
एक–अर्कालाई दोष मात्र लगाउँदा दैनिक जीवनमा विभिन्न समस्या सिर्जना हुन सक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ । दुई जनाबीच यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ । तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ ।