अघिल्ला वर्षहरूजस्तै यो वर्ष पनि सौराहामा हात्ती महोत्सव हुने भएको छ । महोत्सव पुस ११ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । १२ औं चितवन हात्ती महोत्सवका लागि सौराहालाई बेहुलीझैं सिंगार्ने क्रम सुरु भएको छ ।
भूकम्प र तराईको बन्द–हड्तालसँगै भारतको नाकाबन्दीले थिलथिलो भएको पर्यटन व्यवसायलाई महोत्सवले उकास्ने आशा स्थानीय व्यवसायीहरूले गरेका छन् । प्रत्येक क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी चितवनमा हात्ती महोत्सव सञ्चालन गरिँदै आएको छ ।
सन् २००४ मा अन्तर्राष्ट्रिय हात्ती दौडका रूपमा प्रारम्भ भएको यो परम्परालाई केही वर्षयता महोत्सवका रूपमा सञ्चालन गर्न थालिएको हो । हात्ती महोत्सवको लोकप्रियता बढ्दै जानु र पर्यटक आगमन बढ्नुले पनि हात्ती महोत्सव सौराहाको ब्रान्ड सावित भएको छ । महोत्सवका क्रममा सौराहाको बाघमारा सामुदायिक वनमा हात्तीको कला हेर्न ठूलो भीड लाग्छ । नेपालका विभिन्न जिल्ला तथा विदेशबाट आउने आगन्तुकहरू हात्तीले देखाउने कलाबाट मोहित हुन्छन् । महोत्सव नसकिँदासम्म उनीहरू हात्तीकै कला हेर्न ब्यस्त हुन्छन् । अघिपछि जंगल सफारीमा व्यस्त हुने हात्तीहरू महोत्सव अवधिभर आ–आफ्नो कला देखाउन व्यस्त हुन्छन् । यतिबेला हात्तीलाई सिंगारेर मीठो खाना ख्वाइन्छ । यसपटक हात्ती दौडको नाम परिमार्जन गरेर ‘इलेफेन्ट फास्ट वाक’ राखिएको छ । अघिल्ला वर्षहरूमा हात्तीलाई दुईतर्फी दौडाएर प्रतिस्पर्धा गराइन्थ्यो । गत वर्षसम्म पनि हात्तीबीच एकतर्फी दौड गराइएको थियो । यसपटक हात्तीलाई हिंडाएर मात्र प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा २० वटा हात्तीले सहभागिता जनाउनेछन् ।
महोत्सवका क्रममा हात्तीहरूबीच सामूहिक वनभोज कार्यक्रम, फास्ट वाक प्रतियोगिता, छावाहरूका बीच रोचक फुटबल तथा श्रृंगार प्रतियोगिता आदि सञ्चालन हुनेछन् । छावाबीच हुने फुटबल प्रतियोगितामा ४ वटा हात्ती तथा श्रृंगार प्रतियोगितामा ५ वटा हात्तीको सहभाधगिता रहनेछ । त्यस्तै गाडा दौड, टाँगा दौड र डुंगा दौड प्रतियोगिताले महोत्सवमा रौनक थप्नेछन् । गाडा दौडमा २०, टाँगा दौडमा १८ तथा डुंगा प्रतियोगितामा १० वटा डुंगाले प्रतिस्पर्धा गर्नेछन् भने राष्ट्रिय तथा स्थानीय कलाकारले आ–आफ्नो प्रस्तुतिमार्फत स्थानीय दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । स्थानीय थारु समुदायमा लोकप्रिय नृत्यमार्फत पनि दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिनेछ । महोत्सवका अवसरमा विभिन्न परिकारसमेत चाख्न पाइनेछ ।