पछिल्लो समय नेपाली फुटबल मैदानबाहिरको विवाद र अन्यौलमा सीमित रह्यो । आउने साता नेपाली राष्ट्रिय फुटबल टिम मैदानमा ओर्लंदैछ र यसका शुभचिन्तकहरूको आशा छ, केही राम्रो समाचार सुन्न पाइनेछ । भारतको केरलामा अर्को संस्करणको साफ च्याम्पियनसिप फुटबल पुस ८ गते प्रारम्भ हुँदैछ । प्रतियोगितालाई लिएर नेपाली टिमले ठूलो महत्त्वकांक्षा भने पालेको छैन ।
नेपाली टिमका नयाँ प्रशिक्षक हुन्— प्याट्रिक ओसेम्स । बेल्जियमका यी पूर्वखेलाडीले टिम हेर्ने अवसर पाएको पनि लामै समय भैसकेको छ तर समस्या के छ भने उनले यो टिम वास्तवमै कस्तो छ, मैदानमा जाँच्न पाएका छैनन्, त्यसमाथि टिममा बढी युवा खेलाडी छन् । त्यसैले साफ च्याम्पियनसिपको चर्चा गर्दा उनको गुनासो छ— टिमलाई एक्सपोजरको अभाव छ ।
म्याच फिक्सिङको आरोपमा नेपाली टिमले प्रमुख दुई खेलाडी गुमाएको छ, कप्तान सागर थापासँगै सन्दीप राई । यही प्रकरणका कारण नेपाली टिमविरुद्ध अरू कुनै प्रतिद्वन्द्वी मैत्रीपूर्ण अभ्यास खेल्न तयार नभएको हल्ला पनि सुनिएको थियो । आखिर अखिल नेपाल फुटबल संघको लामो प्रयासपछि नेपालले साफ च्याम्पियनसिप अघि अभ्यासका लागि कम्तीमा एउटा खेल पाएको थियो ।
त्यो खेल बंगलादेशविरुद्ध ढाकामा हिजो सम्पन्न भैसकेको छ र ढाकामै तीन दिन बिताएर नेपाली टिम त्रिवेन्द्रम पुग्नेछ । यो खेलले आफ्नो टिम वास्तवमै कस्तो छ भनेर प्रशिक्षक ओसेम्सले जाँच्ने अवसर पाएको हुनुपर्छ । तैपनि उनी प्रतियोगितामा आफ्नो टिमको प्रदर्शन कस्तो हुनेछ भनेर दाबी गर्ने स्थितिमा छैनन् । प्याट्रिकले काठमाडौंमै छँदा बारम्बार भनेका छन्, टिममा अनुभवको कमी छ ।
उनका अनुसार, ‘यो टिमबाट यस्तै छ भनेर ठूलो दाबी गर्न सकिँदैन तर यसको अर्थ टिम नराम्रो छ भन्ने पनि होइन । यो टिम वास्तवमै युवा छ, धेरै खेलाडी नयाँ छन् । यो टिमलाई लिएर म के सम्म भन्न सक्छु भने यसलाई लामो समयको अवसर र एक्सपोजर दिने हो भने केही वर्षमा यसबाट राम्रै आशा गर्न सकिन्छ । यो टिम भविष्यमा परिपक्व बन्नेमा शंका छैन ।’
उनले तयारी खासै राम्रो हुन नसकेको वास्तविकता पनि स्विकारेका छन् । नेपालले सातदोबोटा एन्फा कम्प्लेक्सको आर्टिफिसिएल टर्फ पिचमा तयारी गरेको छ, तर प्रतियोगिता प्राकृतिक मैदानमा हुनेछ । यसले पनि केही फरक पार्ने नै छ । प्रशिक्षक ओसेम्सले आफूलाई जे–जस्तो सुविधा दिइएको थियो, त्यसैका आधारमा तयारी गरिएको बताएका छन् ।
तीन टिमको समूह
नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ र उक्त समूहमा तीन टिम मात्र छन् । पाकिस्तानले आन्तरिक विवादबीच प्रतियोगितामा सहभागिता नजनाउने निर्णय गर्दै आफ्नो नाम फिर्ता लिएको थियो । यस्तोमा समूहका अरू दुई टिम हुन्, भारत र श्रीलंका । तीन टिमको लिग चरण सधैं कठिन र अन्यौलपूर्ण हुन्छ । यो समूहमा के हुन्छ भन्न सकिँदैन, सहज पनि हुन सक्छ, उत्तिकै अप्ठ्यारो पनि ।
एउटा जितले टिमलाई सेमिफाइनल पुर्याउन सक्छ भने एउटै खराब प्रदर्शनले सबै सम्भावनाको ढोका बन्द गर्न सक्छ । नेपाली फुटबल जस्तै श्रीलंकाली फुटबल पनि अहिले ओरालो लागेको छ । सम्भवत: श्रीलंकाली फुटबल आफ्नो इतिहासमा सबैभन्दा तल्लो तहमा छ र टिममा कुनै प्रकारको उत्साह छैन् । त्यसैले नेपालले कम्तीमा श्रीलंकामाथि जित निकाल्ने रणनीति बनाउनेछ ।
नेपालले पुस ८ को उद्घाटन खेलमा श्रीलंकाको सामना गर्नेछ र उक्त खेलको नतिजाले नै सेमिफाइनलको समीकरण तयार पार्नेछ । पुस १० मा भारतले श्रीलंकासँग खेल्नेछ । त्यसपछि भारतविरुद्ध पुस १२ मा नेपालको खेल छ । उक्त खेलअघि नै सम्भवत: नेपालले आफ्नो स्थिति के हुने हो थाहा पाइसक्नेछ । त्यसैले नेपालका लागि सबैभन्दा महत्त्वको खेल श्रीलंकाविरुद्ध नै हुनेछ ।
अर्को कठिन समूह
प्रतियोगिताको अर्को समूहमा छन्, डिफेन्डिङ च्याम्पियन अफगानिस्तानसँगै माल्दिभ्स, बंगलादेश र भुटान । अर्को समूहको तुलनामा यो समूह बढी कठिन देखिन्छ र सेमिफाइनल प्रवेशका लागि त्रिकोणात्मक संघर्ष हुने तय छ । त्यसमाथि भुटानको चुनौतीलाई पनि कम मान्न सकिन्न, किनभने अहिले भुटानी फुटबल आफ्नो पूरा इतिहासकै सबैभन्दा बलियो स्थितिमा छ ।
नयाँ दुई खेलाडी
एपीएफका विंगर नवीन लामा र गोलकिपर अमृत चौधरीले पहिलोपल्ट नेपाली राष्ट्रिय टिममा स्थान बनाएका छन् । यी दुईसहित मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सले साफ च्याम्पियनसिपका लागि २० खेलाडीको नाम घोषणा गरेका हुन् ।
राष्ट्रिय लिग सम्पन्न भएलगत्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक टिममा ४१ खेलाडी बोलाएको थियो । दोस्रो चणमा छनोट भएका २७ खेलाडीमध्ये भरत खवास, देवेन्द्र तामाङ र शिव श्रेष्ठ चोटका कारण टिमबाट हटेका छन् भने फरवार्ड कर्ण लिम्बू, डिफेन्डर अजित भण्डारी, मिडफिल्डर राजेन्द्र रावल र विंगर टंक बस्नेत अन्तिम चरणबाट बाहिरिएका छन् । रावललाई वैकल्पिक खेलाडीमा राखिएको छ ।
राष्ट्रिय टिममा पहलोपल्ट स्थान बनाएका नवीन लेफ्ट विंगर हुन् । साफको प्रारम्भिक टिममा चार गोलकिपर बोलाइएपछि दिनेश थापामगर ट्रेनिङमा सहभागी भएनन् । त्यसैले राष्ट्रिय टिममा अमृतको भाग्य खुलेको हो । मिडफिल्डर योगेश गुरुङ र हेमन गुरुङले यसपल्ट डेब्यु गर्ने अपेक्षा गरिएको छ । उनीहरू यसअघि पनि राष्ट्रिय टिममा थिए तर मैदानमा ओर्लने अवसर पाएका थिएनन् । बेल्जियन प्रशिक्षक प्याट्रिक ओसेम्सले साफमा ४–३–३ को संरचनामा खेलाउने तयारी गरेका छन् । यस्तोमा विंगरले पनि फरवार्डको भूमिका निर्वाह गर्नसक्छन् ।
नेपाली टिम
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, अमृत चौधरी ।
डिफेन्स : विराज महर्जन, रबिन श्रेष्ठ, जितेन्द्र कार्की, अनन्त तामाङ, रन्जित धिमाल, आदित्य चौधरी ।
मिडफिल्डर : रोहित चन्द, जगजित श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, योगेश गुरुङ, नवीन लामा ।
फरवार्ड : अनिल गुरुङ, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट