साप्ताहिक संवाददाता
के सरकारी रोजगारीको खोजीमा हुनुहुन्छ ? यदि त्यसो हो भने यो तपाईंका लागि अवसर हो । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको अप्राविधिक (अधिकृत) अन्तर्गत विभिन्न सेवा समूहका लागि विज्ञापन गरेको छ । आयोगले विभिन्न सेवा समूहअन्तर्गत ५ सय ५१ जना अधिकृतका लागि विज्ञापन खोलेको हो ।
फारम भर्ने अन्तिम मिति पुस १४ लाई तोकिएको छ भने दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म फारम भर्न सकिन्छ । आयोगले यस वर्षदेखि अनलाइनमार्फत फारम भर्न सकिने व्यवस्था मिलाएको छ । दरखास्त शुल्क १ हजार रुपैयाँ तोकिएको छ भने समावेशीतर्फ फारम भर्न अतिरिक्त ४ सय रुर्पया तिर्नुपर्छ । त्यस्तै परराष्ट्र सेवाका लागि थप ४ सय दस्तुर लाग्नेछ । उमेरका हकमा आवेदनकर्ता २१ वर्ष पुगेको र ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला तथा अपांगका लागि ४० वर्ष ननाघेको हुनुपर्नेछ । यी पदका लागि माघमा प्रथम चरणको परीक्षा हुनेछ । त्यसमा उत्तीर्ण भए मात्र दोस्रो चरणको परीक्षामा सहभागी हुन पाइनेछ जुन चैतमा सञ्चालन हुने आयोगले जनाएको छ ।
समावेशी कोटाअन्तर्गत आवेदन दिने उम्मेदवारले सम्बन्धित निकायको सिफारिस अथवा प्रमाणपत्र पनि बुझाउनुपर्छ । विज्ञापन, पाठ्यक्रम, परीक्षा कार्यक्रमजस्ता कुरा लोक सेवा आयोगको वेबसाइट बाट पनि हेर्न सकिन्छ ।
कुन सेवा समूहमा कति ?
आयोगले सामान्य प्रशासनको न्याय सेवाअन्तर्गत ६६ जना, न्यायअन्तर्गत नै कानुन समूहका लागि २३ जना, सरकारी वकिलका लागि ५२ जना, परराष्ट्रका लागि १६ जना, प्रशासनअन्तर्गत सामान्य प्रशासनका लागि २ सय ८१ जना, सामान्य प्रशासनअन्तर्गत लेखाका लागि ७४ जना, राजस्वका लागि १९ जना, लेखा परिक्षणका लागि १५ जनाको विज्ञापन गरेको छ । त्यसैगरी व्यवस्थापिका संसद्का लागि ५ जना मागिएको छ ।
अधिकृत तहका विभिन्न समूह गरी खुल्लामा ३ सय १० जना माग गरिएको छ । आरक्षण कोटातर्फ महिलाका लागि ७९ जनाको दरखास्त आह्वान गरिएको छ । त्यसैगरी आदिवासी जनजातितर्फ ६४ जना, मधेसीतर्फ ५५ जना, दलिततर्फ २२ जना, अपांग १५ जना तथा पिछडिएको क्षेत्रबाट ६ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
योग्यता
अधिकृत तहमा आवेदन दिन न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्छ । प्रशासन सेवाका लागि व्यवस्थापन, वाणिज्य शास्त्र आदि विषयमा स्नातक गर्नुका साथै अर्थशास्त्र, गणित, तथ्यांकशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई अध्ययन गरेको हुनुपर्छ । त्यस्तै न्याय सेवाका लागि कानुनमा स्नातक गरेको हुनुपर्छ । लेखापरीक्षाकका लागि व्यापार प्रशासन वा वाणिज्यशास्त्रमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी उत्तिर्ण हुुनुपर्छ ।
लोकसेवा आयोगको अनलाइन फारम कसरी भर्ने ?
यो वर्षदेखि लोकसेवा आयोगले अनलाइनमार्फत फारम भर्नुपर्ने व्यवस्था गरेको छ । यसका लागि आयोगको वेबसाइट गएर आफ्नो युजर प्रोफाइल बनाउनुपर्ने हुन्छ । त्यसका लागि सुरुमा अनलाइन एप्लिकेसन भन्ने अप्सनमा जाने र त्यसमा क्लिक गरेर युजर म्यानुअल अध्ययन गर्न सकिन्छ ।
त्यसपछि साइन अप मेनुमा क्लिक गरी दर्ता फारममा सोधिएका विवरण स्पष्ट र पूर्ण रूपमा भर्नुपर्छ । पछि पटकपटक यो फारम भरिरहनु पर्दैन । त्यसपछि ओकेमा क्लिक गर्ने । लगतै युजर नेम र पासवर्डसहितको म्यासेज देखिन्छ । उक्त म्यासेज उमेदवारले भरेको मोबाइल नम्वरमा पनि आउनेछ । यो युजरनेम र पासवर्डबाटै आफ्नो प्रोफाइल साइन इन गर्नुपर्ने हुन्छ । सुरुमा विन्डोज खोल्दा पासवर्ड परिवर्तन गर्न भनिन्छ । यसरी नयाँ पासवर्ड राखिसकेपछि त्यसलाई विर्सिनु हुँदैन, किनभने यो अन्य इमेल आईडीजस्तै महत्वपूर्ण हुन्छ । आफ्नो व्यक्तिगत विवरण भर्दा एकदमै ध्यान दिनुपर्छ, किनभने गल्ती भएपछि त्यसलाई आफैंले पनि सच्याउन मिल्दैन । फारममा आवश्यक विवरण प्रस्ट र नछुटाई भरिसकेपछि नेक्स्ट–नेक्स्ट गर्दै हरेक पानामा विवरण भर्नुपर्ने हुन्छ ।
दरखास्त फारममा कम्तीमा १ सय ५० पिक्सेलको हालसालै खिचिएको फोटो राख्नुपर्छ । त्यसका साथमा शैक्षिक योग्यताको प्रमाणपत्र स्क्यान गरी अपलोड गर्नुपर्छ । अपलोड गर्नुपर्ने फाइलहरूको नाम अंग्रेजीमा हुनुपर्छ । यसमा युनिकोड प्रयोग गर्नु हँुदैन । अपलोड गर्नुपर्ने डकुमेन्टको साइज बढीमा ५ सय केबी हुनुपर्छ । फारम भरिसकेपछि एकपटक प्रिभ्यु हेर्नुपर्छ । कुनै विवरण भर्न छुट भए फेरि भर्न सकिन्छ । त्यसपछि आफूले कुन सेवा, समूह, उपसमूहका लागि फारम भर्ने हो, सोही विज्ञापन छानेर क्लिक गर्दै जानुपर्छ । सबै विवरण भरी सकेपछि एकपटक रिचेक गरेर फारम पेस गर्न सकिन्छ । त्यसपछि आफ्नो मास्टर आइडीसहितको भपाई देखिन्छ जसलाई प्रिन्ट गरेर सुरक्षित राख्नुपर्छ ।