लोडसेडिङले सताइरहने नेपालमा मोबाइल फोन पारखीहरूमा सधैं ब्याट्री सकिने चिन्ता हुन्छ । यही समस्याको समाधानका रूपमा हाल जताततै एक्सटर्नल चार्जर अर्थात् पावर बैंक नामक डिभाइस वरदान बनेर आएको छ । अहिले धेरैको हातमा पनि पावर बैंक देखिन थालेको छ । पावर बैंकलाई बत्ती भएको समयमा टन्न चार्ज गरेर राखेपछि फुर्सदमा यसै मार्फत मोबाइल वा अन्य डिभाइस चार्ज गर्न सकिन्छ ।
पावर बैंक एउटा विशेष प्रकारको ब्याट्री नै हो । यसलाई इमरजेन्सीमा प्रयोग गर्न सकिन्छ । यसमा आवश्यक शक्ति संचित हुन्छ । पावर बैंकलाई कुनै पार्किङ स्थल, सिनेमा हल, बजार, मल आदि जुनसुकै स्थानमा पनि चार्ज गर्न सकिन्छ । यसमा युनिभर्सल चार्जर उपलब्ध हुन्छ । यसको अर्थ फरक फरक डिभाइसका लागि फरक–फरक चार्जर राख्नु पर्ने आवश्यकता हुँदैन ।
पावर बैंकको महत्त्व बुझेर कतिपय स्मार्टफोन विक्रेताहरूले स्मार्टफोनसँगै पावर बैंक पनि उपहार प्रदान गर्न थालेका छन् । कतिपय कम्पनीले उपहार र चिट्ठाका रूपमा पावर बैंक राखेका छन् । नेपालमा पनि पछिल्लो समयमा पावर बैंकको लोकप्रियता बढ्दो छ ।
लोडसेडिङले सताइरहने देश नेपालका लागि एक्सटर्नल चार्जर अर्थात् पावर बैंकको महत्त्वपूर्ण भूमिका छ । पहिले नै मोबाइल रिचार्जका लागि आवश्यक शक्ति पावर बैंकमा उपलब्ध हुन्छ । त्यसैले घरबाहिर हिँड्दा आफ्नो मोबाइलको चार्ज सकियो भने पनि यही पावर बैंक प्रयोग गरेर फेरि ब्याट्री चार्ज गर्न सकिन्छ । यसको बढ्दो प्रयोगसँगै विभिन्न प्रतिष्ठित कम्पनीहरूले पावर बैंकको उत्पादन पनि थालेका छन् । सामसुङ, सियाओमी, टचकन, रोमस, आइफोन आदि ब्रान्डका पावर बैंक नेपालमा पनि उपलब्ध छन् । बजारमा २ हजारदेखि २० हजार एमएएच क्षमताका पावर बैंक उपलब्ध छन् । यिनको मूल्य १ हजारदेखि २० हजार रुपैयाँसम्म पर्छ ।
नेपालमा यस्ता पावर बैंक भित्रिएको करिब २ वर्ष मात्र भएको छ । पावर बैंकको प्रयोगका कारण अब मोबाइल फोनको ब्याट्री सकिने चिन्ता लिइरहनु पर्दैन । हेर्दा चिटक्क परेको, बोक्न हलुका हुने भएकाले प्रयोगकर्ताहरू यसलाई सजिलै आफ्नो मोबाइल फोनजस्तै खल्तीमा राखेर बोक्न सक्छन् ।
बजारमा १८ सय एमएएच पावर देखि लिएर ५० हजार एमएएच पावर सम्मका पावर बैंक उपलब्ध छन् । बढी एमएएच पावर भएका पावर बैंक भारी हुने भएकाले बोक्न गार्हो हुने र बढी पावरका पावर बैंक ट्याब्लेट चार्ज गर्न प्रयोग हुने भएकाले मोबाइल फोनलाई उपयुक्त हुने पावर बैंकको प्रयोग बढी हुने गरेको छ ।
यी कुरामा ध्यान राखौं
बजारमा दर्जनौ ब्रान्डका पावर बैंक उपलब्ध हुन सक्छन् । यद्यपि कुनै प्रतिष्ठित ब्रान्डको पावर बैंक खरिद गर्नु नै श्रेयस्कर हुन्छ ।
साधारण ब्रान्डका सस्ता पावर बैंक किन्नु हुँदैन । तिनमा कमसल गुणस्तरको लिथियम आयोन ब्याट्री हुन्छ । यसको पावर कम हुनुका साथै स्वास्थ्यका लागि समेत हानिकारक मानिन्छ ।
बिल्ट–इन केबुलसहितको पावर बैंक किन्नु उपयुक्त हुन्छ ।
पावर बैंक पोर्टेबल अर्थात् एक स्थानबाट अर्को स्थानमा बोकेर लानकै लागि किनिन्छ । त्यसैले बोक्न सजिलो पावर बैंक किन्नुपर्छ । यसको अर्थ धेरै वजन भएको पावर बैंक किन्नु आवश्यक छैन ।
आफ्नो मोबाइल चार्ज गर्न कति करेन्ट आवश्यक छ भन्ने जानकारी राख्नु आवश्यक छ । पुराना मोबाइल फोनमा ब्याट्री चार्ज गर्न १ एम्पियर भन्दा धेरै करेन्ट आवश्यक थिएन । यद्यपि अहिलेका नयाँ स्मार्टफोन तथा ट्याब्लेट चार्ज गर्न २ दशमलव १ एम्पियर इनपुट करेन्टको आवश्यकता हुन्छ । त्यसैले त्यही क्षमताका पावर बैंक किन्नु उपयुक्त हुन्छ ।
पावर बैंकमा चार्जिङका लागि कति युएसबी पोर्ट छन् भन्ने कुराको पनि ख्याल राख्नु आवश्यक छ । कुनै पावर बैंकमा १ दशमलव ५ एम्पियरको एउटा युएसबी पोर्ट र २ दशमलव १ एम्पियरको अर्को युएसबी पोर्ट हुन्छ ।
१ दशमलव ५ एम्पियरको युएसबी पोर्ट साना र मध्यम डिभाइसका लागि र २ दशमलव १ एम्पियरको पोर्ट ठूला डिभाइसका लागि उपयुक्त हुन्छ ।