यो प्रेमकथा म विराटनगर कलेज पढ्दाको हो । प्रेम मेरो एउटा साथीले मेरी एउटी साथीलाई गरेको थियो, जुन सफल हुन सकेन । त्यसले उसलाई ठूलो चोट दिएको थियो । त्यसको खत उसको छातीमा अझै रहेछ ।
०००
साथीको नाम हो रवि, घर धनकुटा । जसलाई ऊ प्रेम गथ्र्यो उनी थिइन्– वसन्ती । विराटनगरको भट्टा चोकमा वसन्तीको घर थियो । उनी काली त थिइन्, तर उनको सौन्दर्यलाई त्यही श्वाम वर्णले उजिल्याएको थियो । उनको हाँसोले कलेजको वातावरण नै उजिल्याउँथ्यो । म्यानेजमेन्टमा एउटा विषय थियो, बिजनेस म्याथ । यही विषयमा उनी पहिलो वर्ष कलेज टपर भइन् । उनको नेपाली कमजोर थियो तर त्यसको क्षतिपूर्ति रविले गरिदियो । भट्टा चोक पुग्नुअघिको एउटा मोडमा रविको डेरा थियो । कलेजबाट दुवै साइकलमा एकसाथ निस्कन्थे । रविले डेरामा उसलाई खाजा मात्र ख्वाउँदैथ्यो, नेपाली पनि सिकाइदिन्थ्यो । वसन्तीलाई नेपाली व्याकरण सिकाउने क्रममा कतिबेला मन दियो, थाहै पाएनछ ।
०००
‘म तिमीलाई प्रेम गर्छु, भविष्यमा तिमीसँग विवाह गर्न चाहन्छु ।’ एक दिन रविले वसन्तीलाई रुन्चे स्वरमा भनेछ ।
‘भाषाको समस्या छ, जातको समस्या छ ।’ वसन्तीले अप्ठ्यारो देखाइछ ।
‘म मैथिली सिक्छु, यतै बस्छु । तिमीले पहाड जानुपर्दैन ।’ उसले वसन्तीलाई सपना देखाएछ ।
म काठमाडौं आएपछि वसन्ती बीबीएस पढ्न थाली । मेरो साथी मोरङको मधेसी गाउँ कदमाहामा शिक्षकको जागिर खान थाल्यो । रविले मधेसी गाउँमा जागिर खानुको उद्देश्य केवल मधेसी संस्कृति र भाषा सिक्नु मात्र थियो भन्ने कुरा मैले धेरैपछि मात्र थाहा पाएँ ।
०००
केही पछि घरमा वसन्तीको विवाहको कुरा चलेछ । वसन्ती आफ्ना लागि देहातमा बसेर पढाइरहेको रविलाई भेट्न कदमाहा पुगिछ । आफूलाई खोज्दै वसन्ती गाउँसम्म आएको देखेर रवि खुसी हुने नै भयो तर एक–दुई घण्टा सँगै बसेपछि वसन्तीले भनिछ, ‘रवि तिम्रो र मेरो विवाह हुन सक्दैन । तिमी त पूरापूर ‘जोरुका गुलाम’ देखियौ । मलाई गुलाम लोग्ने चाहिएको होइन, तीन वर्षअघिको आफ्नै व्यक्तित्व भएको रविलाई मैले प्रेम गरेकी हुँ— गुड बाई ।’
त्यसपछि वसन्तीले विराटनगरकै एक व्यापारी युवकसँग विवाह गरी । रवि भने धनकुटा, गाउँ नै फर्कियो । लोकसेवाको जाँच दिन रातदिन जोतिन थाल्यो तर उत्तीर्ण हुन सकेन । अन्त्यमा नजिकैको विद्यालयमा राहत दरबन्दीमा शिक्षकका रूपमा काम गर्न थाल्यो । आजभोलि मधेस आन्दोलन र नाकाबन्दीको पीडामा उसले मधेसीलाई निकै गाली गरेको स्टाटस फेसबुकमा भेटिन्छ । म उसको स्टाटसमा मधेसी आन्दोलनले निम्त्याएको अप्ठ्यारोभन्दा वसन्तीले दिएको धोका र लोकसेवा उत्तीर्ण गर्न नसकेको पीडा बढी देख्न थालेको छु ।