साप्ताहिक संवाददाता
चलचित्र निर्माण गरेर समाजसेवा गर्ने पवित्र उद्देश्य लिएकी अभिनेत्री पूजना प्रधानले ‘चकलेट’ को असफलतापछि पनि आफूले हिम्मत नहारेको स्पष्ट पारेकी छिन् । चलचित्रले दर्शकको साथ नपाएपछि दिक्क हुँदै पूजनाले फेसबुक नै नचलाउने घोषणा गरेकी थिइन् ।
उक्त घोषणा गरेको केही दिन नबित्दै पूजनाले पुन: अर्को एउटा स्टाटसमार्फत एउटा चलचित्र असफल हुँदैमा निराश नहुने बताएकी छिन् । स्टाटसमा पूजनाले आक्रोशपूर्ण जिज्ञासा राख्दै लेखेकी छिन्— ‘मैले फेसबुक चलाउँदिनँ भन्दा यति धेरै कमेन्ट ? मैले त्यत्रो पटक चलचित्र हेर्नुस् भन्दा कसले हेर्नुभयो ?’ पूजनाको घुर्की छ— ‘तपाईंहरू जस्तासँग फेसबुकमा कुरा गरेर समय फाल्नुको के अर्थ, त्यसैले फेसबुक चलाउँदिनँ भनेकी हुँ, हरेस खाएकी होइन ।’ ‘एउटा फिल्म नचल्दा मलाई केही फरक पर्दैन, पूजनाले लेखेकी छिन्— ‘मेरो लक्ष्य ५० जना असहाय बालबालिहरूका लागि बस्ने, खाने र पढ्ने सुविधा भएको भवन निर्माण गर्नु हो, त्यो म जसरी पनि बनाएरै छाड्छु ।
मेरो जे उद्देश्य छ त्यसलाई फिल्म चल्नु र नचल्नुले रोक्दैन । म समाजसेवी हुँ, जे गर्छु भनेकी छु त्यो गरेर देखाउँछु । चाहे कसैले साथ देओस् अथवा नदेओस् ।’ पूजनाले आफ्नो चलचित्र नहेरी अनावश्यक टीका–टिप्पणी गर्ने फेसबुकका साथीहरूलाई अनफ्रेन्ड गर्ने धम्कीसमेत दिएकी छिन् ।