साप्ताहिक संवाददाता
खुकुरीको प्रयोजन के हुन सक्छ ? कतिले यसलाई मासु काट्ने त कतिले वनजंगल फाँड्ने घरेलु हतियारका रूपमा बुझेका होलान् । यद्यपि खुकुरीको महिमालाई यतिमा मात्र खुम्च्याउन मिल्दैन । नेपालीका निम्ति यो त्यस्तो हतियार हो, जसले वीरताको गौरवमय इतिहास रचेको छ । ठूला युद्धहरूमा शत्रुलाई परास्त गर्न नेपालीहरूले यही खुकुरीको सहारा लिएका थिए । परिणामत: अहिले पनि ब्रिटिस तथा भारतीय आर्मीमा खुकुरीलाई उत्तिकै महत्त्व दिइन्छ । हलिउड चलचित्रदेखि भिडियो गेमसम्म खुकुरीले प्रवेश पाएको छ ।
दु:खलाग्दो कुरा, नेपाली समाजले खुकुरीको त्यो गरिमा जोगाउन उति तदारूकता देखाएको छैन । यही पृष्ठभूमिमा ब्रिटिस आर्मीका अवकाशप्राप्त राष्ट्र राई खुकुरीलाई फराकिलो आयाममा प्रस्तुत गर्न कस्सिएका छन् । उनलाई लाग्छ– ‘खुकुरी हतियार मात्र होइन, गौरवको प्रतीक पनि हो ।’ खुकुरीसँग जोडिएर विश्वका जुनसुकै कुनामा बसेका नेपालीले आफ्नो छाती चौडा बनाउन सक्छन् ।
३२ वर्षअघि ब्रिटिस आर्मीमा भर्ती भएका राईले खुकुरीका त्यस्ता चमत्कारी कथाहरू सुने, जसले उनको ह्दयलाई स्पर्श गर्यो । अन्तत: उनले अवकाशप्राप्त जीवन खुकुरीको संरक्षण, संवद्र्धनमा बिताउने योजना बनाए । ‘खुकुरी हाम्रा निम्ति गौरवको विषय हुनसक्छ,’ बेलायतमा स्थायी बसोबास गरिरहेका राइले भने– ‘त्यसैले यसलाई छुटै ब्रान्डका रूपमा स्थापित गर्न जाँगर चल्यो ।’
अहिले उनी खुकुरीको इतिहास खोतल्नदेखि त्यसको प्याटेन्ट राइट लिनसम्मको दौडधूपमा छन् । त्यसो त राईले खुकुरीको परम्परागत बान्कीलाई परिमार्जन गर्ने काममा पनि उत्तिकै मस्तिष्क खियाएका छन्, पसिना बगाएका छन् । पहिलेको खुकुरीमा रहेका त्रुटिहरूलाई परिमार्जन गरेर उन्नत रूपमा उतारेका छन् र त्यसको नाम दिएका छन्– फाइटिङ खुकुरी जी टु–१०० ।
मासु काट्ने वा रूख ताछ्ने खुकुरीभन्दा फरक ढाँचा, विशेषता र महत्त्वका खुकुरीलाई स्थापित गर्नुपर्छ भन्ने मान्यताका साथ उनले ‘फाइटिङ खुकुरी’ जन्माएका हुन् । विशेषत: यो युद्धमा मात्र प्रयोग गर्ने हिसाबले डिजाइन गरिएको छ । गत वर्ष बेलायती सेनामा नेपालीहरू भर्ती भएको २ सय वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमको शीर्षक ‘जी टु–१००’ खुकुरीको पुच्छरमा झुन्ड्याइएको हो । यसका साथै हरेक खुकुरीमा सिरियल नम्बर र कोड हुन्छ, जो त्यसको गोपनीयता र सुरक्षाका निम्ति आवश्यक छ ।
फाइटिङ खुकुरी १२ इन्च लामो छ भने त्यसको बिंड ५ इन्चको छ । यो गाडीको स्प्रिङको फलामबाट बनाइएको हो, बिंडचाहिँ सिसौको काठको । यसअघि ब्रिटिस आर्मीले प्रयोग गर्ने खुकुरीको तुलनामा यो केही ठूलो र स्तरीय छ । अगाडिको भागमा दुवैतिर धार लगाइएको छ । बिंडमाथि लामो नट राखिएको छ, जसले बगेको रगतलाई बिंडमा पर्न दिँदैन । यसको धार ब्लेड जत्तिकै तिख्खर छ । खुकुरीको दाप, चकमक र कर्द पनि विगतको तुलनामा अब्बल छ ।
‘फाइटिङ खुकुरी’ लाई छुटै ब्रान्डका रूपमा स्थापित गर्ने गरी यसको प्याटेन्ट राइट लिने तथा व्यवसायिक उत्पादन गर्ने मेलोमेसो मिलाइरहेका छन्, उनी । ‘खुकुरीको प्रभाव र महत्त्व जोगाउने प्रयास हो,’ राई भन्छन्– ‘यसमा हामी सबैले गर्व गर्नुपर्छ ।’
खोटङमा जन्मिएका राईले ब्रिटिस आर्मीमा छँदै एउटा पुस्तक लेखेका थिए, फाइटिङ बुक शीर्षकको । यही पुस्तकले पनि उनलाई खुकुरीका सम्बन्धमा थप जान्न प्रेरित गर्यो । ‘अरूले चलचित्र, पुस्तक तथा भिडियो गेमहरूमा खुकुरीको प्रयोग गरिसकें,’ राई तीतो पोख्छन्– ‘तर, हामीले यसप्रति न चासो राख्यौं, न संवद्र्धनका लागि प्रयास नै गर्यौं ।’ मनमा यही खिन्नता बोकेर उनी खुकुरीको गरिमा जोगाउन लागिपरेका हुन् ।
‘खुकुरी हाम्रो सान हो,’ राईलाई यस्तै लाग्छ । खुकुरीसँग नेपालीको छुट्टै आत्मीयता छ । कम्मरमा खुकुरी भिरेपछि बेग्लै आत्मविश्वास जाग्ने राईले महसुस गरेका छन् ।
राई फिजिकल ट्रेनिङ इन्स्ट्रक्टर पनि हुन् । उनी मार्सल आर्टमा राम्रो दख्खल राख्छन् । ब्रिटिस आर्मीको प्रतिनिधित्व गर्दै उनले हङकङमा सम्पन्न केही अन्तर्राष्ट्रिय प्रतियोगितामा भिडेर उपाधिसमेत हात पारेका थिए ।
२००२ मा राईले सगरमाथा तेक्वान्दो डोजाङ स्थापना गरे, बेलायतमै । अहिले त्यसको १२ वटा शाखा विस्तार भएको छ । उनी त्यहीं प्रशिक्षकका रूपमा कार्यरत छन् । पेसागत जीवन हातहतियार, शत्रु तथा लडाइँको सेरोफेरोमा घुमे पनि उनको मनमा उत्तिकै सिर्जनशीलता छचल्किन्छ । राईले बनाएका सुन्दर चित्रहरूले त्यही भन्छन् ।
उनी बेलाबेला चित्र बनाउँछन्, प्रदर्शन गर्छन् र त्यसबाट प्राप्त आम्दानी च्यारिटीमा खर्चन्छन् । पछिल्लो समय उनले प्रदर्शन गरेको चित्र २ हजार पाउन्डमा बिक्री भयो जसलाई उनले झापाको एक संस्थाका लागि एम्बुलेन्स खरिद गर्ने काममा सघाएका छन् ।