साप्ताहिक संवाददाता
देशमा माछाका लागि केही थोरै ठाउँ प्रसिद्ध छन् । तीमध्येको एक प्रमुख ठाउँ हो- धादिङको मलेखु । पृथ्वी राजमार्गमा पर्ने मलेखु बजार त्रिशूलीका माछाका लागि प्रख्यात छ । माछाका पारखीका लागि थप आकर्षित गर्न मलेखुमा माछा महोत्सव हुने भएको छ । पुस ९ देखि १९ सम्म हुने राष्ट्रिय व्यापार मेलाअन्तर्गत माछा महोत्सव हुने भएको हो ।
महोत्सव आयोजक राष्ट्रिय वाणिज्य संघ। धादिङका अध्यक्ष लोकनाथ डल्लाकोटीले जिल्लाका माछा व्यवसायीहरूलाई प्रोत्साहन गर्न र माछा व्यवसायीहरूको आर्थिक एवं सामाजिक उत्थानका लागि महोत्सव आयोजना गरिएको बताए ।
यो महोत्सव २ लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने र १० करोडको व्यापार हुने आयोजकको अनुमान छ । मलेखुमा मात्र दैनिक १ हजार ५ सय किलोग्राम माछा खपत हुने गरेको छ । जिल्लामा हालसम्म ६४ जना व्यवसायिक किसानले १२ हेक्टर जग्गामा १ सय ६५ वटा पोखरीमा माछापालन गरेका छन्, जसबाट बर्सेनि १६ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ ।