उच्च शिक्षा अध्ययनका लागि विदेश नेपालीहरूको भरपर्दो गन्तव्य मानिन्छ । प्लस टुको अध्ययन सकेर स्नातक पढ्न अर्थात् अन्य प्राविधिक विषयहरूको अध्ययनका लागि हजारौं विद्यार्थी विदेशका विभिन्न कलेजहरूमा जान्छन् । स्नाकोत्तरदेखि विधावारिधि गर्न पनि धेरै नेपाली विदेशलाई नै गन्तव्य बनाउँछन् । गुणस्तरीय शिक्षा र आकर्षक जीवनशैलीका कारण विदेशले नेपालीहरूलाई लोभ्याउँछ । विदेशमा गुणस्तरीय शिक्षा लिएपछि स्वदेशमा उच्चस्तरको रोजगारी पाउने आशामा लाखौं खर्चेर विदेशमा पुग्ने नेपालीको संख्या दैनिक रूपमा वृद्धि भइरहेको छ । विदेशमै स्थापित हुन पनि धेरै खर्च गरेर स्टुडेन्ट भिसामा नेपाल छाड्ने नेपालीहरू पनि उत्तिकै छन् ।
शिक्षा मन्त्रालयको ‘नो अब्जेक्सन लेटर’ लिने विद्यार्थीको भीड मात्र होइन, देशैभर खुलेका कन्सल्टेन्सीहरूको संख्याले पनि नेपालीहरूको विदेश मोह प्रस्टयाउँछ । आयमूलक र रोजगारमूलक विषय पढाउने देशहरू बुझेर भिसा प्रक्रिया अघि बढाउनेहरूको जमात पनि उत्तिकै छ । छिमेकी देश भारत, चीन, बंगलादेशदेखि युरोप र अमेरिकी मुलुकहरू नेपालीको रोजाइमा पर्छन् । त्यसमध्ये कुन देशमा कुन विषय प्रचलित छन्, त्यहीअनुरूप मुलुक पनि रोजाइमा पर्छन् । सस्तो शुल्क र छात्रवृत्तिका आधारमा पनि देश छनोटमा पर्ने गरेका छन् । नेपालीहरूको रोजाइ र अध्ययन गर्ने विषयअनुसार केही मुलुकको चर्चा यहाँ गरिएको छ ।
सबै विषयमा सस्तो र सहज भारत
छिमेकी देश भारतमा पनि गुणस्तरीय शिक्षा र सुविधासम्पन्न कलेजहरू छन् भनेर धेरैले वास्ता गरेका हुँदैनन्, तर हिजोआज भारत नेपालीहरूको प्रमुख शैक्षिक गन्तव्य बन्दै गैरहेको छ । भारतका विश्वविद्यालय तथा कलेजहरूले नेपालमा आएर गरेको प्रचारले पनि धेरैलाई आकर्षित गर्न थालेको छ । धन कमाउने भन्दा पनि अन्तर्राष्ट्रिय स्तरको डिग्री हासिल गर्न भारत भरपर्दो गन्तव्य मानिन्छ । विशेष गरी आइटी र इन्जिनियरिङका लागि उपयुक्त मानिन्छ । बैंगलोर, चेन्नाई, दिल्ली, पन्जाब, नोइडा, हरियाणा, आसाम, दार्जीलिङ धेरैको रोजाइमा पर्छन् । ती स्थानका पनि विशेष गरी निजी स्तरका कलेजहरू धेरैले छनोट गर्छन् । भिसालगायतका प्रक्रियाको झन्झट गर्नु नपर्ने, रहनसहन साथै भाषा पनि नेपालीहरूका लागि मिल्दोजुल्दो भएकाले भारतका कलेजहरू सहज मानिन्छ । पार्टटाइम जब गर्न नपाइए पनि अध्ययन सकेपछि भने कलेजहरूले नै रोजगारी मिलाउन सहयोग गर्छन् । होस्टललगायत सम्पूर्ण सुविधासहित भारतमा पढ्दा ३ लाख देखि ३० लाख रुपैयाँ सम्म खर्च हुन्छ ।
मेडिकल पढ्न चीन
विश्वमा उच्च आर्थिक वृद्धि गरिरहेको मुलुक चीन पनि धेरै विद्यार्थीको रोजाइमा पर्छ । मेडिकल, इन्जिनियर, एमबीए, बीबीएलगायका विषयको अध्ययनका लागि चीन नेपालीको रोजाइमा पर्छ । नेपालमा हाल कार्यरत धेरै डाक्टरहरू चीनकै उत्पादन हुन् । चिनियाँ भाषा अनिवार्य उत्तीर्ण हुनैपर्ने प्रावधान रहेकाले चीनमा केही झन्झटचाहिं बेहोर्नुपर्छ । किनभने यहाँ दुई किसिमका कलेजहरू छन्, एउटा अंग्रेजी माध्यम र अर्को चिनियाँ माध्यम । त्यसैले भाषा जानेका विद्यार्थीहरू प्राथमिकतामा पर्छन् । गोन्जाओ, सिचुआन, युनान सहरमा धेरै नेपालीको रोजाइमा पर्छ । बैंक ब्यालेन्स, पर्पटी भ्यालुएसन त्यति महत्त्व नदिने यहाँका कलेजहरूमा पार्ट टाइम जबको अवसरमा पाइँदैन । मेडिकल विषय पढ्नका लागि प्रमुख गन्तव्य मानिने यहाँ प्लस टुमा विज्ञान पढेर अनिवार्य ६० प्रतिशत अंक ल्याएकै हुनुपर्छ । त्यतिमात्र नभै बायोलोजी, केमेस्ट्री, फिजिक्समा पनि ६० प्रतिशत अंक ल्याएकै हुनुपर्छ । ६ वर्षे मेडिकल विषय पढ्नका लागि एउटा विद्यार्थीले लगभग ३० लाख रुपैयाँ खर्चिनुपर्छ ।
एमबीबीएसका लागि बंगलादेश
नेपाल मात्र होइन, विश्वका धेरै देशबाट मेडिकल अर्थात् एमबीबीएस र बीडीएसको अध्ययनका लागि बंगलादेश रोजाइमा पर्छ । सहज, सस्तो र उत्कृष्ट गन्तव्यका रूपमा मात्र होइन रहनसहन, भाषालगायतमा पनि यो देश नेपालीहरूका लागि उपयुक्त मानिन्छ । ढाका, चटगाउँ, राजशाहीलगायतका युनिभर्सिटीहरूमा धेरै नेपाली अहिले पनि अध्ययन गरिरहेका छन् । ६ वर्षे मेडिकल कोर्स गर्न जान एउटा विद्यार्थीलाई २५ देखि ४० लाख रुपैयाँ खर्च लाग्छ । यो खर्चले खान बस्न र कलेजको शुल्क तिर्न पुग्छ । प्रपर्टी भ्यालुएसन अर्थात् प्रशस्त बैंक ब्यालेन्सजस्ता कुरा देखाइरहन आवश्यक छैन । बंगलादेशमा पढ्न जाँदा आवतजावत, भाषागत समस्या धेरै झेल्नु पर्दैन ।
आइटीमा राम्रो बेलायत
आइटी, म्यानेजमेन्ट, नर्सिङ लगायतका विषयहरूको अध्ययनका लागि ब्रिटिस मुलुक बेलायत अब्बल मानिन्छ । पैसा कमाउनेभन्दा पनि गुणस्तरीय अध्ययनका लागि बेलायत राम्रो मुलुकमा गणना हुन्छ । यहाँका मिडलसेस, ग्रिनविच, लिड्स, मेटोपोलिटिन, युनिर्भसिटी अफ वेस्ट लन्डनलगायतका विश्वविद्यालयहरू नेपालीको रोजाइमा पर्छन् । यद्यपि हप्ताको २० घण्टा काम गर्न भने पाइन्छ । कामका लागि होटल, रेस्टुराँ, डिपार्टमेन्टल स्टोरहरू रोजाइमा पर्छन् । १२ कक्षा उत्तीर्ण गरी आइएल्टस गरेको जोकोही विद्यार्थीले आवेदन दिन पाउँछन् । एक जना विद्यार्थीका लागि लन्डनमा १ हजार र बाहिर ८ सय पाउन्डजति प्रतिमहिना खानबस्नका लागि खर्च लाग्छ । बेलायत जानका लागि सुरुमै करिब १२ लाख रुपैयाँ खर्च लाग्छ र सुरुमा बैंक ब्यालेन्स देखाउनुपर्छ ।
धेरैको रोजाइमा अस्ट्रेलिया
करियर बनाउन र धन आर्जन गर्नका लागि धेरैको रोजाइमा प्रमुख देश अस्ट्रेलिया पनि पर्छ । अस्ट्रेलियन सरकारले सन् २०१२ मा बनाएको नीतिका कारण नेपाली विद्यार्थीहरूले प्रमुख गन्तव्य नै अस्ट्रेलियालाई बनाइरहेका छन् । जुनसुकै विषय अध्ययन गर्न सकिने, पिआर, डिपेन्डेन्ट भिसा, बैंक ब्यालेन्सका लागि सबै बैंक स्वीकार्य गरेपछि धेरैले यस देशलाई प्राथमिकता राख्छन् । त्यतिमात्र नभै अध्ययन पूरा भएको चार वर्षसम्म काम गर्न पाउने सुविधा छ । यहाँ अध्ययन सुरु गरेपछि पाक्षिक ४० घण्टा र बिदामा पूरै काम गर्न पाउँछन् । एउटा विद्यार्थीले घण्टामा सरदर १८ डलरभन्दा माथि कमाउन सक्छन् । आवेदन दिंदा कम्तीमा ५५ प्रतिशतभन्दा माथि, आएल्समा ५ दशमलव ५ भन्दा माथिको रिजल्ट साथै पढ्न सक्ने क्षमता भएका विद्यार्थीलाई प्राथमिकता दिइन्छ । पिआर पाउनका लागि भने अंग्रेजीमा दख्खल, ब्याचलर र मास्टर्समा राम्रो अंकमा उत्तीर्ण र कुनै एक काममा दक्ष भएको राम्रो मानिन्छ ।
सपनाको देश अमेरिका
नेपाल विकासोन्मुख देश भएकाले धेरैले अमेरिकालाई सपनाको देश नै मान्छन् । विश्वमा समृद्ध र आधुनिक शिक्षा प्रदान गर्नेमा अमेरिका एक नम्बरमै पर्छ । यहाँ एउटै विश्वविद्यालयमा पनि नर्सिङ, बीए, बीबीए, इन्जिनियरिङ, कम्प्युटरलगायतका विषयहरू पढेमा एउटै शुल्क लाग्छ । छोटो वा लामो अवधिका जुनसुकै तह अध्ययनका लागि पाँच वर्षको भिसा पाउने र पिआर समेत एप्लाइ गर्न पाइन्छ । यहाँका टेक्सास, भर्जिनिया, क्यालिफोर्निया, न्युयोर्कलगायतका विश्वविद्यालय नेपालीको रोजाइमा पर्छन् । यहाँ खान–बस्नका लागि मासिक ५ देखि ७ सय डलरसम्म खर्च हुन्छ, तर वर्षमा करिब तीन महिनाजति बिदा पर्ने भएकाले कमाउने अवसर मिल्छ । विशेषत: अमेरिकामा सरकारी, मिसनरी र निजी कलेजहरू सञ्चालित छन्, तर सबैमा उस्तै शुल्क लाग्छ । यहाँ प्राय:जसो जनवरी र अगस्टमा कक्षाहरू सुरु हुन्छन् ।
फिलिपिन्समा पाइलट
औषधी विज्ञानमा अब्बल जनशक्ति उत्पादन गर्ने मुलुकको अग्रसूचीमा फिलिपिन्सको नाम आउँछ, तर धेरै नेपाली पाइलट, एमबीबीएस, एरोनेटिकल इन्जिनियरिङ, एमडी, कम्प्युटर इन्जिनियरिङलगायतका विषय अध्ययनका लागि पुग्छन्, तर एमबीबीएस अध्ययन गर्न रुचाउने विद्यार्थीका लागि नेपाल मेडिकल काउन्सिलबाट इलिजिबिलिटी सर्टिफिकेट लिनुपर्ने प्रावधान छ । यी कोर्स गर्नका लागि कम्तीमा ४० लाख रुपैयाँसम्म खर्च लाग्छ । जसमा खान, बस्न, ट्युसन फीदेखि हवाई भाडासमेत समेटिन्छ । अंग्रेजी भाषा बोलिने मुलुक, भिसा प्रोसेसिङका लागि सजिलो साथै किस्ताबन्दीमा शुल्क तिर्ने सुविधा छ । यहाँ पार्ट टाइम जब गर्नका लागि अनुमति छैन ।
कमाउँदै पढ्नका लागि जापान
अनिबार्य रुपमा भाषा र संस्कृति सिकिसकेपछि जापानका लागि आवेदन दिन पाइन्छ । यहाँ विद्यार्थीलाई २४ घण्टा काम गर्न पाउने अधिकार दिइएको छ । पछिल्ला दिनहरूमा इमिग्रेसनबाट सोधपुछ र दूताबासबाट अनिवार्य रूपमा भाषासम्बन्धी अन्तर्वार्ता दिनुपर्ने बाध्यता छ । त्यतिमात्र नभै जेएलपिटी र न्याटको पाँच लेभल पास गर्नुपर्ने प्रावधान पनि राखिएको छ । मेडिकल, आइटी, इन्जिनियरिङलगायतका विषयहरू पढ्नका लागि जापान धेरैको रोजाइमा पर्छ । यहाँ पुगेका विद्यार्थीले प्रतिघण्टा ८ देखि ९ सय येन सम्म कमाउन सक्छन् । काम गर्ने समय प्रशस्त भएकाले कमाउँदै पढ्न सकिन्छ, तर मासिक खान बस्नका लागि ४५ हजार येनसम्म खर्च हुन्छ । यतिबेला जापान जानका लागि एक जना विद्यार्थीलाई हवाई टिकट र प्रोसेसिङ खर्चबाहेक करिब १० लाख रुपैयाँ खर्च लाग्छ । यसमा एक वर्षको ट्युसन शुल्क र ६ महिनाको आवास शुल्क समावेश गरिएको हुन्छ । जापानका लागि २० लाख रुपैयाँ आम्दानीको स्रोत र २२ लाख रुपैयाँ बराबरको बैंक ब्यालेन्स देखाउनुपर्छ । पिआर र डिपेन्डेन्टको सुविधा पनि राखिएको छ ।
न्युजिल्यान्डमा बिजनेस स्टडिज
पछिल्ला वर्षहरूमा न्युजल्यान्ड नेपाली विद्यार्थीहरूको अब्बल गन्तव्य हो । बिजनेस स्टडिज, आइटी, हस्पिटालिटी, फरेस्ट्री, म्यानेजमेन्ट, नर्सिङलगायतका विषयहरू अध्ययन गर्न धेरै नेपाली यहाँ पुगिसकेका छन् । यो देश पढ्न जानका लागि ब्याचलरका लागि करिब १५ लाख रुपैयाँ र मास्टर्सका लागि २० लाख रुपैयाँसम्म खर्च लाग्छ । यो रकम एक वर्षको शुल्क, ट्युसन शुल्क, बिमा, भिसा चार्ज समेटिएको हुन्छ । यहाँका लागि १५ लाख रुपैयाँ जति बैंक ब्यालेन्स, एजुकेसन लोनमा ब्याचलरका लागि ३० लाख रुपैयाँ र मास्टर्सका लागि ४० लाख रुपैयाँ जति देखाउनुपर्छ । सम्पत्तिचाहिं १ करोड ५० लाख रुपैयाँ हुनुपर्छ । यहाँ विद्यार्थीले हप्तामा २० घण्टा र बिदामा पूरै समय काम गर्न पाउँछन् ।
नि:शुक पढ्न फिनल्याण्ड
फिनल्यान्ड नि:शुल्क शिक्षा प्रदान गर्ने मुलुकका रूपमा परिचित छ । यहाँ निजी कलेज छैनन्, सबै सरकारी मात्र छन् । सबैखाले विषयको ट्युसन खर्चदेखि विभिन्न खाले शुल्क लिन पाइँदैन । सबैखाले इन्जिनियरिङका कोर्सहरू, बिजनेस इन्फरमेसन टेक्नोलोजी, टुरिज्मलगायतका विषयहरूको अध्ययनका लागि धेरै नेपाली यहाँ पुग्छन् । यहाँ जान करिब २ लाख लागे पनि बैंक ब्यालेन्स १० लाख रुपैयाँ देखाउनुपर्छ । साइन्स युनिभर्सिटी र युनिभर्सिटी गरी यहाँ ३६ वटा विश्वविद्यालय छन् भने सबै कलेज समान प्रकारका छन् । प्लस टुमा ६० प्रतिशत अंक ल्याएको छ, साथै टोफेलमा ९२ प्रतिशत र आइएल्टसमा ६ दशमलब ८ ल्याएको छ भने सोझै एप्लाइ गर्न पाइन्छ । तर वर्षमा एकपटक मात्र आवेदन खुल्छ । जागिरका लागि होटल, रेस्टुराँ, सुपर मार्केट, किचन हेल्परका रूपमा काम गर्न पाइन्छ । हप्तामा २५ घण्टा ‘पब्लिक वर्किङ आवर’ छुट्टयाएको हुन्छ भने कलेजबाहेकको अन्य समय जब गर्न पाइन्छ । जुन, जुलाई र अगस्ट महिनामा ब्दिा हुने भएकाले यी महिनाहरूमा मजाले काम गरेर कमाइ गर्न सकिन्छ ।