नेपाली राष्ट्रिय फुटबल टिमका १५ औं कप्तान भएका छन्— अनिल गुरुङ । २९ वर्षीय गुरुङले नवौं साफ च्याम्पियनसिपमा नेपालको नेतृत्व गर्नेछन् । ८ अक्टोबर २००७ मा ओमानविरुद्ध मस्कटमा भएको विश्वकप छनोटमार्फत् राष्ट्रिय टिममा डेब्यु गरेका गुरुङले ४३ क्याप जित्दै ९ गोल गरेका छन् । गुरुङसँग साप्ताहिकको पाँच प्रश्न :
कप्तान घोषणा गरिँदा कस्तो लाग्यो ?
अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दा जति खुसी भएको थिए, कप्तान हुँदा पनि त्यत्तिकै खुसी लाग्यो । राष्ट्रिय टिमबाट खेल्नु नै भाग्य हो त्यसमा पनि कप्तानी गर्न पाउनु मेरा लागि ठूलो गौरवको कुरा हो ।
कप्तान भएपछि जिम्मेवारी पनि बढ्यो नि ?
हो, मेरो काँधमा जिम्मेवारी थपिएको छ । अनुशासनमा विशेष ध्यान दिँदै टिमलाई एक बनाएर अघि बढ्ने प्रयास गर्नेछु ।
पहिलो रोजाइमा खेल्न पाउनेमा कति विश्वस्त हुनुहुन्छ ?
मैले निकै मेहनत गरिरहेको छु । अभ्यास खेलहरूमा पनि प्लेइङ सेटमै खेले । त्यसैले अहिलेको टिममा प्लेइङ सेटमै खेल्न पाउँछु भन्ने लाग्छ । मैले खेल्न पाइन भने विराज महर्जन वा रोहित चन्द कप्तान हुनेछन् ।
साफ च्याम्पियनसिपमा नेपाली टिमबाट के–कस्तो आशा गर्न सकिन्छ ?
नयाँ टिम, नयाँ प्रशिक्षक र नयाँ वातावरणले राम्रो नतिजा दिलाउन सहयोग गर्छ जस्तो लागेको छ । पहिलो खेलमै श्रीलंकालाई हराएर अघि बढ्ने लक्ष्य छ ।
नेपालको तयारी कस्तो छ ?
उच्चस्तरका प्रशिक्षक (प्याट्रिक ओसेम्स) का साथमा साफका लागि दुई महिना आर्टिफिसियल टर्फमा प्रशिक्षण गर्यौं । सबै खेलाडी फिट छन् । घाँसे मैदानमा अभ्यास र मैत्रीपूर्ण खेलको अभाव रह्यो ।