साप्ताहिक संवाददाता
ए. गुरुङ (भँगेरी डन), कलाकार
अर्जुन गुरुङबाट कसरी ए.गुरुङ भइयो ?
अभिनेताका रूपमा आगमन हुँदा अर्जुन नाम निकै सामान्य लाग्यो, अनि नामको पहिलो अल्फावेट ए मात्र राखेको हुँ ।
अर्जुनबाट ए मात्र हुँदा फाइदा भयो त ?
भयो नि, मेरो दोस्रो चलचित्र ‘झोले’ मा निर्वाह गरेको पात्र ‘भँगेरी डन’ का रूपमा चर्चा कमाएँ । एकपछि अर्को चलचित्रमा काम पाइरहेको छु ।
तपाईं त ए गुरुङभन्दा पनि भँगेरी डनका रूपमा चिनिनुहुन्छ होइन ?
हो, मलाई भँगेरी डन भनेर चिनिएको मन पनि पर्छ ।
कतिवटा चलचित्रमा काम गरिसक्नुभयो ?
पहिलो चलचित्र नेपालकै पहिलो थ्री–डी चलचित्र थियो– भिजिलान्ते । त्यसपछि झोले, षडङ्ग, लभ यु बाबा अब प्रदर्शन हुन लागेको फन्को । अहिले म चलचित्र लालटिनमा व्यस्त छु ।
तपाईं त चलचित्रमा निर्माण नियन्त्रक पो हुनुहुन्थ्यो, होइन र ?
अहिले पनि निर्माण नियन्त्रकको काम गरिरहेको छु । मौका परे अभिनय पनि गर्छु ।
निर्माण नियन्त्रक हुनु रमाइलो कि कलाकार ?
पर्दा अघि आउनु नै रमाइलो नि, सबैले चिन्छन् ।
अभिनय गरेर जीविका चल्छ ?
चलाउन जाने चल्छ ।
अभिनय बाहेक अरू कुनै काम ?
फुर्सदमा भाइले चलाएको भाँडाकुडाको व्यापारमा उसलाई साथ दिन्छु ।
चलचित्रमा कस्तो भूमिका निर्वाह गर्न मन छ ?
भँगेरी डनको चरित्र मनपराइएपछि मलाई त्यस्तै खालको भूमिकाबाट प्रस्ताव आउँछ । म अब केही फरक ढंगबाट देखिन चाहन्छु, चाहे त्यो जस्तोसुकै भूमिका होस् ।
जान्नै पर्ने, तर नजानेको कला ?
अभिनेता भएपछि धेरै विधामा सामान्य भए पनि जानकारी हुनुपर्छ, मचाहिँ नाच्नमा कमजोर छु ।
कुन निर्देशकसँग बारम्बार काम गरिरहन सकिन्छ ?
दीपेन्द्र के. खनाल
मन परेका तीन अभिनेता ?
सौगात मल्ल, दयाहाङ राई र राजेश हमाल । तीनै जनासँग काम गरिसकेकोमा म खुसी पनि छु ।
सेक्सी लाग्ने तीन नायिका ?
प्रियंका कार्की, नम्रता श्रेष्ठ र माल्भिका सुब्बा । माल्भिका नायिका नभए पनि मलाई औधी मनपर्छिन् ।