‘फेसबुक स्टाटस’ले मानिसको सामाजिक सम्बन्धलाई मात्र उजागर गर्दैन, उसको मानसिक द्वन्द्वलाई पनि प्रस्ट पार्छ । ‘ह्वाट इज इन योर माइन्ड ?’ जवाफ दिने क्रममा आफ्नो मनको कुरामात्र ‘अपडेट’ गरिँदैन, आफ्नो बानी–बेहोरा पनि सार्बजानिक भैरहेको हुन्छ । कहिलेकाहीँ ‘पोस्ट’ गर्ने सुन्दर तस्बिरले मात्र हाम्रो भावना सुन्दर देखिँदैन, दैनिक ‘अपडेट’ गरिने ‘स्टाटस’ले पनि हामी कस्तो देखिन्छौं र कस्ता छौं भन्ने कुराको निर्धारण गर्छ भन्ने गजुरियल ठम्याइ छ ।
एउटा जमाना थियो, विवाह गर्ने बेलामा केटाकेटीको टिपन मिलाइन्थ्यो । गजुरियल विश्लेषण भन्छ– अब फेसबुक मिलाए पुग्छ । आफूले विवाह गर्ने केटीको आनिबानी, रुचि, स्वभाव कस्तो छ भन्ने कुरा उसको फेसबुक प्रोफाइल ‘भिजिट’ गरे हुन्छ । सम्भावित श्रीमान्को विचार, सम्पर्क र सम्बन्ध कस्तो छ, उसको ‘लाइक’ ‘कमेन्ट’ ‘फ्रिक्वोइन्ट भिजिटर’को लिस्ट हेरे पुग्छ ।
फेसबुक अरूका लागि सामाजिक सञ्जाल हो तर प्रयोगकर्ता स्वयंका लागि आन्तरिक पहिचान हो । कस्ता भिडियो ‘लाइक’ गरिन्छ, कुन स्टाटस ‘सेयर’ गरिन्छ, कस्ता साथीलाई ‘इन्भाइट’ र ‘सजेस्ट’ गरिन्छ, त्यसैका आधारमा अरूले हाम्रो पहिचान गर्छन् । फेसबुक कसैको व्यक्तिगत पुस्तिका रहेन, त्यहाँ सानो सन्देशले पनि ठूलो परिवर्तन ल्याउन सक्छ । मेरो ठूलो प्रस्तुतिले पनि केही नगर्न सक्छ । त्यसैले सञ्जालमा जोडिएपछि यो मेरो निजी मामिला हो भनेर अराजक हुनुहुँदैन भन्ने गजुरियल ठम्याइ छ ।
अहिले धेरै सर्वसाधारण फेसबुकमा पहुँच राख्छन् । यसले तोडिएका सम्बन्धलाई जोड्ने काम पनि गरेको छ । जोडिएका सम्बन्धलाई तोडिने अवस्थामा पनि पुर्याएको छ । गजुरियल विश्लेषक भन्छ– सञ्जाल भनेकै जोड्ने हो । जोड्ने माध्यमको प्रयोग गरेर सम्बन्धहरू तोड्ने खालका कमेन्टस वा स्टाटस लेख्नु हुँदैन । मनले सोचेका र मस्तिष्कले अराएका सबै कुरा फेसबुकमा छरपस्ट गर्नु बेवकुफी हो । मन र फेसबुकको बीचमा एउटा बुद्धि भन्ने ‘बटम’ पनि छ, त्यसलाई पनि प्रयोग गर्नुपर्ने गजुरियल सुझाव छ ।
मान्छे अशान्त, अधैर्य, आक्रोशित, निराश र उत्तेजित छ भन्ने कुरा फेसबुक स्टाटस वा त्यसमा देखिने कमेन्टबाट थाहा हुन्छ । रिस र आवेगमा लेखिएका स्टाटसमा लाइक र कमेन्टको बाढी देखिन्छ । घृणा र द्वेश फैलाउने खालका विषयहरू सबैभन्दा बढी सेयर हुन्छन् । तिरस्कार र अपराधका ‘पोस्ट’हरू सबैभन्दा बढी ‘भाइरल’ भएको देखिन्छ ।
गजुरियल विश्लेषण भन्छ, हाम्रो ‘स्टाटस’ हौसला उन्मुख हुनुपर्छ । अरूको स्टाटसमाथिको प्रतिक्रिया सिर्जनात्मक हुनुपर्छ । जीवनउपयोगी ‘लिंक’ नै सेयर गर्नुपर्छ । सुन्दर ‘पिक्चर’ सेयर गर्नुपर्छ । समाजउपयोगी भिडियोमात्र भाइरल बनाउनुपर्छ । नराम्रा विचारमा राम्रा प्रतिक्रिया दिनुपर्छ । असल साथीमात्र ‘एसेप्ट’ गर्नुपर्छ अनि समय मिलाएर मात्र फेसबुक चलाउनुपर्छ ।
इन्टरनेट एउटा भव सागर हो, यहाँ यसको मैले सोचेजस्तो सदुपयोग नै हुन्छ भन्ने छैन वा तपाईंले चाहेजस्तो मात्र चल्छ भन्ने पनि होइन । संसारमा मानिसको जति संख्या छ, त्यति नै विचार छन् । ती सबैलाई मैले भनेझैं बनाउन असम्भव छ । यद्यपि एउटा कुरा के चाहिँ सत्य हो भने आफ्नो फेसबुक आइडी आफ्नै नियन्त्रणमा छ । त्यसलाई समाजउपयोगी हिसाबले चलाउन सकियो भने त्यही ठूलो कुरा हो ।
कहिलेकाहीँ लाग्न सक्छ, संसार फेसबुकमा छरपस्ट छ । सामाजिक सञ्जालहरूले मानिसको मनोदशालाई बजारमा छ्यालब्याल पारिरहेका छन् । यहाँ म एउटाले यसको सदुपयोग गरेर के नै हुन्छ र ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यसको जवाफमा एउटा नीति कथा सुनाएर आजको गजुरियल विश्लेषण समाप्त गर्छु– कुनै विशाल समुद्रमा एकपटक एउटा ठूलो आँधी आयो । आँधीले लाखौं माछालाई किनाराभन्दा धेरै पर–परसम्म पुर्याएको थियो । आँधी थामिएपछि माछाहरू किनारामा पानीको अभावमा तड्पिइरहेका थिए । त्यही ठाउँमा एउटा सानो बालक एक–एक माछा टिप्दै समुद्रमा फाल्दै थियो । एकजना साधु त्यहाँ पुगे र अचम्म मान्दै उनले सोधे– ‘बाबु, लाखौं माछा छटपटाई रहेका छन् । तिमीले एक–दुईवटा माछालाई बचाएर के फरक पर्छ र ? बालकले एउटा माछालाई समुद्रमा फाल्दै साधुलाई जवाफ फर्कायो– ‘सबैलाई फरक नपरे पनि मैले समुद्रमा फिर्ता पठाएको माछालाई त फरक पर्छ नि ।’