शंकर शाही ठकुरी, कलाकार
रमेश बुढाथोकीद्वारा निर्देशित मेघा सिरियल ‘कसलाई आफ्नो भनौं’ मार्फत अभिनय क्षेत्रमा आएका कलाकार हुन्– शंकर शाही ठकुरी । बुटवलका स्थायी बासिन्दा शंकरले करिब एक दशकअघि निर्देशक प्रताप सुब्बासँग अभिनयको प्रशिक्षण लिएपछि यही क्षेत्रमा करियर बनाउने निर्णय गरेका थिए । इन्टरनेसनल डान्स सेन्टरबाट नृत्यको समेत प्रशिक्षण लिएका शंकर रमेश बुढाथोकीको श्रृंखलाका कारण टेलिश्रृंखलाका स्थापित अभिनेता बने । त्यसक्रममा शंकरले दुई दर्जनभन्दा बढी टेलिश्रृंखलामा अभिनय गरे । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिश्रृंखला ‘करुणा’ शीर्षकमा करिब दुई वर्षसम्म अभिनय गरेर शंकरले प्रसस्त प्रशंसक कमाएका थिए । मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (मह जोडी) सँग पनि ‘डाक्टर सुनिता’, ‘घरेलु कामदार’ सहित करिब एक दर्जन टेलिश्रृंखलामा अभिनय गरेका शंकरले प्रदीप कसपालद्वारा निर्देशित टेलिश्रृंखला ‘हाम्री शिवानी’ पछि सानो पर्दालाई समय दिन भ्याएका छैनन् । ‘हाम्री शिवानी’ को प्रसारणपछि आलोक नेम्वाङसहितका केही निर्देशकसँग आधादर्जन म्युजिक भिडियोमा अभिनय गरेका शंकर विगत तीन–चार वर्ष अभिनयबाट अलग भएर आफ्नै व्यवसायमा सक्रिय थिए । अभिनयमा किशोरावस्था बिताएका शंकर यतिबेला पुन: अभिनयमै फर्किएका छन् । माघ १५ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘कैफियत’ मा अभिनेत्री नन्दिता केसीसँग अनस्क्रिन रोमान्स गर्दै दर्शकमाझ आउन लागेका शंकरसँग साप्ताहिककाको तीन प्रश्न :
कुनै बेला टेलिश्रृंखलामा सफल भएको कलाकार, अचानक हराउनुभयो नि ?
करिब आधा दशकसम्म सानो पर्दामा सक्रिय भएपछि केही वर्ष हराउनु बाध्यता जस्तै भयो । व्यक्तिगत तथा व्यवसायिक कारणले दर्शकबाट टाढिएको थिएँ । सानो पर्दाबाट हराएको म अब ठूलो पर्दामार्फत दर्शकमाझ आउन पाउँदा उत्साहित छु ।
ठूलो र सानो पर्दाको अभिनयमा कस्तो अन्तर पाउनुभयो ?
कलाकारका रूपमा तथा अभिनयको दृष्टिकोणले भन्नु पर्दा दुवै विधामा खासै भिन्नता छैन तर प्रभावकारिताको दृष्टिकोणले चलचित्र अगाडि छ । टेलिश्रृंखलामा साताको केही दिन व्यस्त भएपछि केही दिनमै परिणाम थाहा पाउन सकिन्थ्यो भने चलचित्रमा धेरै दिनको मेहनत धेरै पछिमात्र थाहा पाउन सकिन्छ ।
‘कैफियत’मा कसरी अभिनेता बन्नुभयो ?
लामो समयदेखि चलचित्रमा पदार्पण गर्ने योजना बनाइरहेका बेला निर्देशक दशरथ गिरीले यो चलचित्रमा मुख्य भूमिकामा प्रस्तुत गर्नुभएको छ । एउटा व्यवसायिक चलचित्रमा आबद्ध भएर अभिनयका सबै पाटामा उपस्थित हुने धोको यही चलचित्रबाट पूरा गरेको छु ।