साप्ताहिक संवाददाता
अक्सर अभिभावक आफ्ना छोराछोरीले धेरै कुरा जान्न/सिक्न सकून् भन्ने चाहन्छन् । यसैको परिणाम, अभिभावकहरू छोराछोरीलाई विद्यालय पठाउँछन्, पाठ्यपुस्तक घोकाउँछन्, होमवर्क गराउँछन् । यद्यपि अब शिक्षा आर्जनका निम्ति विद्यालय र पाठ्यपुस्तकमा मात्र निर्भर रहनुपर्ने बाध्यता छैन । अहिलेको अवस्थामा इन्टरनेट पनि ज्ञान आर्जनको राम्रो स्रोत हुनसक्छ । गुगल सर्च इन्जिन र विकीपिडिया नै यस्ता स्रोत हुन्, जसको प्रयोग अबको पुस्ताका निम्ति अनिवार्यजस्तै भैसकेको छ । यसबाहेक पनि केही वेबसाइट उपयोगी हुनसक्छन्, जसबाट बालबालिकाले खेल एवं मनोरञ्जनको माध्यमबाट उपयोगी शिक्षा आर्जन गर्न सक्छन् ।
about.com
विकिपीडियाभन्दा धेरै पहिले सार्वजनिक भएको यो वेबसाइटमा करिब त्यस्तै सामग्री छ । फरक के छ भने विकिपिडियामा जो–कोही प्रयोगकर्ताले आफुले जानेको कुरा लेख्न तथा हटाउन सक्छन् तर यो वेबसाइटमा त्यो सुविधा छैन । यसलाई प्रयोग गर्ने तरिका पनि धेरै सजिलो छ । विकिपिडियामा हरेक शीर्षकको लेख उपलव्ध हुन्छ भने अवाउट डटकममा त्यही शीर्षकमा भिन्न–भिन्न सामग्री पाइन्छ ।
howstuffworks.com
यो वेबसाइट पनि विद्यार्थीका निम्ति निकै उपयोगी छ । उत्पादन, प्रविधि, उपकरण, भौगोलिक घटना, सफ्टवेयर, हार्डवेयर आदिले कसरी काम गर्छ र त्यसको नतिजा कसरी निस्कन्छ भन्ने कुरा जान्न यो वेबसाइट निकै भरपर्दो छ ।
worldcentral.com
यदि अंग्रेजी भाषाको अभ्यास गर्न चाहनुहुन्छ भने यो वेबसाइट उपयोगी हुनसक्छ । यहाँ डिक्सनरीलगायत धेरै सुविधा उपयोग गर्न सकिन्छ । यसमा शब्दको अर्थ, सही उच्चारण र त्यसको इतिहास पनि उपलव्ध छ । यदि अंग्रेजीमा राइम्स लेख्ने सौख भए, यसको राइमिङ डिक्सनरी धेरै उपयोगी हुनेछ । यसमा एकै खालको उच्चारण भएका धेरै शब्द पनि फेला पर्छ ।
kids.nationalgeographic.com
यो प्रकृति र त्यसको रचनासम्बन्धी जानकारीले भरिएको वेबसाइट हो । यसमा बालबालिकासम्बन्धी गतिविधि, ब्लग र कथाका साथै उपयोगी तथा रोचक लेखको भण्डार नै छ । यसमा बालबालिकालाई अनेकौं किसिमको प्रतियोगितामा भाग लिने अवसर पनि उपलब्ध हुन्छ । क्राफ्ट, रेसिपिज, फन एक्निभिटिज, देश, सहर र व्यक्तिसँग जोडिएको जानकारी, जनावरसँग जोडिएको कुरा आदि पनि यसमा समावेश छन् ।
windows2eniverse.org
यो वेबसाइटमा स्पेस, सोलार सिस्टम र हाम्रो पृथ्वीका सम्बन्धमा जानकारीको राम्रो संकलन छ । जुपिटरमा रहेको ग्रेट रेड स्पट के हो, सुपरनोवा कसलाई भनिन्छ, मानिसको विकासक्रम कसरी भयो जस्ता हजारौं जिज्ञासाको रोचक जवाफ छ यसमा । स्पेससँग जोडिएको ताजा खबर र शिक्षकका निम्ति उपयोगी सामग्री पनि यसमा उपलब्ध हुन्छ ।
whyfiles.org
कुनै पनि घटनाको पछाडि वैज्ञानिक कारणको खुलासा गर्ने यो वेबसाइट विज्ञानमा रुचि राख्नेहरूका लागि निकै उपयोगी हुनसक्छ । यसको अर्काइभ सेक्सनमा गएर बायोलोजी, जियोलोजी, इन्भारोमेन्ट, चिकित्सा, सोसोलोजीजस्ता शीर्षकमा लाखौं उपयोगी लेख प्राप्त गर्न सकिन्छ । धजथाष्भिक ले सजिलो भाषामा प्रश्नको जवाफसमेत दिन्छ ।
pbskds.org
यो साना नानीहरूका लागि निकै लोकप्रिय वेबसाइट हो, खासगरी चार, पाँच कक्षाका शिशुका लागि । पीबीएस टेलिभिजन च्यानलका लागि बनाइएको यो वेबसाइटमा च्यानलका लोकप्रिय पात्रहरू (जस्तो किलफ्फोर्ड, एल्मो, काइलू, माया, मार्था र ग्वेल) सँग कुराकानी गर्दै ख्यालख्यालमा धेरै कुरा सिक्न सकिन्छ । यसमा अंक, शब्द, स्पेलिङ, साइन्स स्किल्स आदिसँग जोडिएका रोचक खेल तथा एक्सरसाइज समावेश छन् ।
curiosity.doscovery.com
यो वेबसाइट विद्यार्थीका निम्ति उपयोगी छ । यहाँ जनावर र मानिसका सम्बन्धमा रोचक जानकारीहरू राखिएको छ । यसले एकदमै सरल र बुझ्ने भाषामा कुनै पनि जानकारी दिन्छ । यो साइट भूगोल तथा अन्तरिक्ष विज्ञानसँग जोडिएको रोमान्चक तथ्य, ऐतिहासिक घटना आदिको राम्रो खजना हो ।
abcteach.com
यो वेबसाइट विद्यालयमा पढाइने विषयदेखि मस्तिष्कको कसरत र भाषाको भण्डार हो । इन्टरनेटमा शिक्षासँग जोडिएको सबैभन्दा राम्रो यो वेबसाइटमा ड्रइङदेखि क्राफ्टसम्म दर्जनौं राम्रा प्रोजेक्ट छन् । फ्लेस कार्ड, क्रसवर्ड पजल्स र यस्ता थुप्रै रमाइला कुरा यहाँ फेला पार्न सकिन्छ, जसले मनोरञ्जनका साथै शिक्षा पनि प्रदान गर्छन् ।
switchzoo.com
जनावरका सम्बन्धमा चासो राख्नेहरूका लागि यो साइट राम्रो स्रोत हुनसक्छ । यहाँ जनावरको कथा र चित्र प्राप्त गर्न सकिन्छ भने आवाज सुन्न तथा भिडियो हेर्नसमेत सकिन्छ । जंगली जीवनसँग जोडिएका सम्पूर्ण गेम पनि यहाँ छन् । सेरेनगेटी नेसनल पार्कको वेबसाइटमा समेत वन्यजीवन सम्बन्धी जानकारी प्राप्त गर्न सकिन्छ ।