हाई हिल फेसनले विश्वमा छुट्टै लोकप्रियता कमाएको छ । पन्ध्रौं शताब्दीमै इटालीबाट प्रारम्भ भएको हाई हिलको अवधारणा अहिले विश्वव्यापी भैसकेको छ । विश्वमा पहिलो पटक उत्पादन गरिएको हाई हिल ४ इन्चको थियो । त्यसयता ८–९ इन्चसम्मका हाई हिल प्रयोगमा आइसकेका छन् ।
वास्तवमा केही क्षण भए पनि आफूलाई अग्ली देखाउन अधिकांश महिला हाई हिल लगाउँछन् । होचो कद भएका महिलाहरूका लागि हाई हिल वरदान नै सावित भएको छ । सामान्यत: हाई हिलको प्रयोग विशेष ठाउँमा बढी हुन्छ । जस्तो— पार्टी, इभेन्ट, समारोहलगायत विवाह तथा अन्य सामाजिक कार्यमा महिलाहरू हाई हिल प्रयोग गर्न रुचाउँछन् । किशोरी अर्थात् १५ वर्षभन्दा माथिका युवतीहरू हाई हिलको प्रयोग अत्यधिक गर्छन्, तीमध्ये पनि १६ वर्षदेखि ३५ वर्षसम्मका युवतीहरूमा हाई हिलको क्रेज बढी छ । विश्वमा हाई हिल नलगाउने वा यसका बारेमा जानकारी नभएका महिला कमै होलान् । आधुनिक महिलाहरू एकपटक भए पनि हाई हिलको अनुभव प्राप्त गर्न लालायित हुन्छन् । आकर्षक लुक्स तथा फरक व्यक्तित्व दिने भएकाले नै यो युवतीहरूमा लोकप्रिय भएको हो ।
हाई हिलको आकर्षण जति नै भए पनि यसले स्वास्थ्यमा पार्ने प्रतिकूल असरका बारेमा पनि चर्चा–परिचर्चा भै नै रहेको हुन्छ । हाई हिलले महिलाहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने विषयमा स्वास्थ्य विज्ञहरूबाट बेलाबेलामा सल्लाह तथा सुझावहरू पनि आइरहन्छन् । तैपनि महिलाहरू हाई हिल मोहबाट मुक्त हुन सकेका छैनन्, किनभने हाई हिललाई अहिले महिला सौन्दर्यको अभिन्न अंग मान्न थालिएको छ ।
जुनसुकै पहिरनसँग लगाउन मिल्ने अनेकन डिजाइनका हाई हिल बजारमा सहजै प्राप्त गर्न सकिन्छ ।
यसलाई साडी, लेहंगा–चोली, स्कर्ट, पेन्ट, वानपिसजस्ता फर्मल वा क्याजुअल सबै प्रकारका पहिरनमा प्रयोग गर्न सकिन्छ । युवतीहरू कुनै विवाह, पार्टी, विभिन्न समारोह आदिमा सहभागी हुन जानुपर्ने भएपछि कस्तो हाई हिलमा जाने भन्ने कुरामा विशेष ध्यान दिन्छन् । हाई हिलको व्यापार हरेक मौसममा उत्तिकै हुन्छ । विभिन्न मूल्यमा उपलब्ध हुने हाई हिलका विभिन्न डिजाइनले अहिलेका युवतीहरूमा विशेष प्रभाव जमाएका छन् ।