श्रेया गुरूङ , ओ टु फेसियल वक्र्स
चिसो मौसममा हाम्रो छालामा थुप्रै किसिमका समस्या देखा पर्छन् । कामकाजी वा गृहिणी जो–कसैलाई पनि चिसोले धेर थोर असर गर्छ । चिसो मौसममा छालाको हेरचाह कसरी गर्नेे भन्ने विषयमा ओ टु फेसियल वक्र्स, भाटभटेनीकी ब्युटिसियन श्रेया गुरुङसँग गरिएको कुराकानी :
चिसोले छालामा कस्तो असर पुर्याउँछ ?
छाला बढी सुख्खा हुने, चाउरिने, चायाँ–पोतोजस्ता समस्या देखिनुका साथै छाला फुटेर रगतसमेत बग्ने जस्ता समस्या देखा पर्छन् ।
शरीरको कुन अंगमा चिसोले बढी असर गर्छ ?
चिसोले सबैभन्दा बढी अनुहारको छालामा असर गर्छ । त्यसपछि, हातखुट्टा तथा टाउकाको छालामा असर गर्छ ।
अनुहारको हेरचाह कसरी गर्ने ?
अनुहार हरदम खुल्ला हुने भएकाले, चिसोले बढी असर गर्छ । यसकारण, दैनिक क्लिनजिङ, टोनिङ, मोस्चराइजसहित मसाज गर्नुपर्छ । घर बाहिर निस्कँदा क्लिन्जिङ तथा टोनिङ गरेर मोस्चराइजर दली एसपिएफ–५० को सन ब्लक लगाउँदा छालालाई चिसोको असरबाट जोगाउन सकिन्छ ।
हात–खुट्टाको हेरचाह कसरी गर्ने ?
हात–खुट्टा फुटेको भए सुत्नुअघि अलिकति नुन र तेल मिसाइएको मनतातो पानीमा पन्ध्र मिनेटसम्म खुट्टा राखेर ढुंगा वा ब्रसको सहायताले मृत छाला सफा गर्ने । त्यसपछि, कोल्ड क्रिम प्रयोग गर्ने । यो उपाय १५ दिनमा एक पटक अवलम्बन गर्ने हो भने हात–खुट्टालाई चिसोमा पनि उत्तिकै सुन्दर राख्न सकिन्छ ।
टाउकोको छालालाई समस्या रहित बनाउन के कुरामा ध्यान दिनुपर्छ ?
टाउकाको छालामा पनि जाडोले असर पुर्याउँछ । चिसोका कारण टाउकोमा देखिने सुख्खापनले केश झर्ने, टुक्रिने तथा चायाँ पर्ने समस्या देखा पर्छ । यसकारण, नुहाउनुपूर्व नरिवलको तेलले मसाज गरेपछि स्याम्पुले केश धुनुपर्छ । हप्तामा एक पटक यो उपाय अवलम्बन गर्दा टाउकाको छालामा कुनै पनि समस्या देखा पर्दैन ।