साप्ताहिक संवाददाता
आभास श्रेष्ठ, गायक
सांगीतिक व्यस्तता कस्तो छ ?
भर्खरै दोस्रो एकल एल्बम ‘आभार’ लिएर श्रोता तथा दर्शकमाझ आएको छु । अहिले यो एल्बमका गीतका साथै म्युजिक भिडियोको प्रमोसनमा जुटिरहेको छु ।
सांगीतिक क्षेत्रमा सक्रिय हुनुभएको कति भयो ?
२०५७ सालदेखि औपचारिक रूपमै यो क्षेत्रमा सक्रिय छु । भानुभक्त ढकाल, ईश्वर अमात्य तथा गुरुदेव कामतसँग संगीतको औपचारिक प्रशिक्षणपछि गायनलाई नै करियर बनाएको छु । पहिलो एल्बमको ‘तिमी छौ र म छु नि प्रिय’ तथा ‘आज फेरि एकपल्ट’ गीत लोकप्रिय भएपछि सांगीतिक कार्यक्रमका साथै चलचित्रको पाश्र्व गायनमा पनि सक्रिय छु ।
दोस्रो एल्बम सार्वजनिक गर्न समय लगाउनुभयो नि ?
पहिलो एल्बम ‘आभास’ सार्वजनिक भएको करिब चार वर्षपछि मात्र ‘आभार’ तयार पार्न सफल भएँ । पहिलो एल्बमका क्रममा संगीतको विद्यार्थी थिएँ, अझ धेरै सिक्ने क्रममा दोस्रो एल्बमका लागि चार वर्ष लाग्यो ।
आभार र आभासका गीतमा कत्तिको भिन्नता छ ?
पहिलो एल्बम तयार पार्दा ममा मेलोडी र शब्द छनौटसम्बन्धी ज्ञान कम थियो । म नोट, बिट, रिदमजस्ता कुराबाट अनभिज्ञ थिएँ । अहिले यी सबै कुरामा पारंगत भएर गीत गाउने प्रयास गरेको छु ।
‘आभार’मा कस्ता गीत समावेश गर्नुभएको छ ?
सुगम संगीतमा आधारित पाँचवटा गीत समावेश छन् । डिपी खनाल, रामकुमार समाल तथा शंकर थापाका शब्द एवं संगीतका मेलोडियस गीतहरूले यो एल्बम सजाएको छु ।
म्युजिक भिडियो कस्तो बनेको छ ?
‘तिमी स्वास मभित्रै...’ गीतको म्युजिक भिडियो टेलिभिजनमार्फत दर्शकमाझ पुगिसकेको छ । त्यसलाई युट्युबबाट पनि सार्वजनिक गरेको छु । वसन्त सापकोटाले अभिनेता निर्मल सेन्चुरी तथा अभिनेत्री रेखा घिमिरेलाई लिएर रोमान्टिक भिडियो तयार पार्नु भएको छ ।
कतिवटा गीतबाट आशावादी हुनुहुन्छ ?
एल्बमका पाँचवटै गीतमा उत्तिकै मेहनत गरेको छु । खासगरी अञ्जु पन्तसँगको युगल गीत ‘थाहै नपाई’ तथा प्राश्ना शाक्यसँगको युगल गीत ‘पिरतीको अंकुसेले’ कर्णप्रिय छन् । ‘ढकमक फूलै फुल्यो...’ तथा ‘कोही छ कि...’ पनि स्तरीय बनेका छन् ।