दीपकराज गिरी, अभिनेता
पर्दामा जतिसुकै फेसनेबल देखिए पनि वास्तविक जीवनमा फेसनेबल हुन नचाहने अभिनेता दीपकराज गिरी समारोह, इभेन्ट तथा भेटघाटको अवस्थाअनुरूप पहिरन छनौट गर्छन् । पहिरन ब्रान्डेड हुनैपर्छ भन्ने मान्यता नराख्ने गिरी विचारचाहिँ ब्रान्डेड हुनुपर्छ भन्ने तर्क गर्छन् । जिन्सका पहिरनले उनको मन चाँडै तान्छन् भने दीपक प्राय: सुतीका पहिरनमा देखा पर्छन् ।
अहिले उनको केशको स्टाइल कर्ली छ । समय–समयमा केशको स्टाइल परिवर्तन गरिरहन रुचाउने कलाकार गिरी हेयरस्टाइलले नै व्यक्तित्व खोल्ने दाबी गर्छन् । परफ्युमबाहेक अन्य कुनै पनि कस्मेटिक प्रोडक्ट प्रयोग गर्न नरुचाउने गिरी प्राकृतिक सुन्दरतामा विश्वास राख्छन् ।
गहनाप्रति कुनै मोह नराख्ने गिरीले ज्योतिषको सल्लाहअनुसार औंलामा पन्नाजडित चाँदीको औंठी लगाएका छन् । उनलाई घडी असाध्यै मन पर्छ र उनीसँग विभिन्न ब्रान्डका १० वटा घडी छन्, तर उनी एउटै घडी लगाउँदैनन् । चश्मा सातामा तीनवटा खरिद गर्ने र सोही संख्यामा हराउने भएका कारण ननब्रान्डेड, सस्तो र कामचलाउ सनग्लासमै आफू रमाउने दीपक बताउँछन् ।
कलाकार गिरी नेपाली ढाकाबाट बनेको पर्स बोक्छन् । ११ वर्षदेखि शिखर सुजको ब्रान्ड एम्बेस्डर भएका कारण मात्र नभई प्रोडक्ट नै मनपर्ने भएकाले उनी प्राय: शिखर सुजनै प्रयोग गर्छन् । गिरीसँग मोबाइल र ल्यापटप जस्ता सबै ग्याजेट एप्पलकै छन् ।
सेलिब्रेटी भएपछि पहिरन होस् वा अन्य एसेसरिज व्यवस्थित ढंगले मिलाएर प्रयोग गर्ने हो भने त्यसले सबैलाई सहजै आकर्षित गर्न सकिने उनको दाबी छ ।