साप्ताहिक संवाददाता
रिमा र नम्रताको चिनाजानी धेरै पहिले नै भए पनि चार वर्षअघि नेपालका विभिन्न जिल्लामा भएको म्युजिकल टुरका बेला उनीहरूको मित्रतामा झांगियो । टुरमा नम्रता नृत्यकलाकारका रूपमा सहभागी थिइन् भने रिमा सञ्चालकका रूपमा । मित्रता भएको धेरै समयसम्म चलचित्र तथा म्युजिक भिडियोहरूमा साथै काम नगरे पनि गत साता यी दुईले गायिका दुर्गा खरेलको गीत ‘त्यो काले केटाले’मा एकसाथ नृत्य तथा अभिनय गरेका छन् । आपसमा ‘तँ’ सम्बोधन गर्दै अत्यन्तै नजिकको सम्बन्ध बनाएका यी दुई सखीमध्ये रिमाले नम्रताको कुरा यसरी काटेकी छिन् :
असल बाइट्स
राम्री : नम्रतामा एउटी सुन्दर युवतीमा हुने सबै गुण छन् ।
असल नृत्याङ्गना : जस्तोसुकै नृत्य होस्, उनमा देखेको भरमा टिप्न सक्ने गज्जबको खुबी छ ।
मृदुभाषी : जोसँग पनि मीठो बोल्ने उनको गुण मलाई राम्रो लाग्छ ।
असल मित्र : साथी भैसकेपछि मित्रका रूपमा हरेक दायित्व पूरा गर्न पछि पर्दिनन् ।
कुशल अभिनेत्री : उनको अभिनय क्षमता स्वभाविक छ, सबैमा यो गुण हुँदैन ।
खराब बाइट्स
धेरै बोल्ने : बोल्ने मामिलामा नम्रता शोलेकी वसन्ती नै हुन् भन्दा फरक पर्दैन ।
खानामा नो कन्ट्रोल : मुख बार्छु र दुब्लाउँछु भनेको धेरै पटक भयो, खाना देख्यो कि कन्ट्रोल गर्न सक्दिनन् ।
धेरै सुत्ने : निदाउन यति रुचाउँछिन् कि पाए त दिन–रात सुतिरहन्थिन् होला ।
नाइँ भन्न नसक्ने : परिचित कसैले कुनै काम लगाए नाइँ भन्न सक्दिनन् ।
अलि मोटी हो कि ? : नम्रताको शरीरको बनावट नै यस्तो छ कि जे गर्दा पनि मोटी देखिन्छ । दुब्लाउनु जरुरी छ ।