पुस ८, २०७२
नेपालमा पनि अब अफलाइनमा समेत युट्युब भिडियो हेर्न सकिन्छ । नेपालमा यसका लागि ‘युट्युब अफलाइन प्लेब्याक’ फिचर प्रारम्भ भएको छ, तर यसका लागि इन्टरनेट भएको समयमा ती भिडियो सेभ गरेर राखिएको हुनुपर्छ । त्यसपछि आफ्नो अनुकुल समयमा बिना इन्टरनेट पनि ती भिडियो हेर्न सकिन्छ ।
यसका लागि युट्युबको मोबाइल एप प्रयोग गर्नुपर्छ । युट्युबमा अपलोड गरिएका भिडियोहरूमा दायाँतर्फ ‘डाउनलोड’ बटन हुन्छ । डाउनलोड बटन क्लिक गरेपछि डाउनलोड भएका ती भिडियो इन्टरनेट नभएको समयमा पनि युट्युब एपमार्फत हेर्न सकिन्छ ।
युट्युबका अनुसार एकपटक डाउनलोड गरिएको भिडियो ४८ घण्टासम्म मात्र अफलाइन हेर्न मिल्छ । यसबाहेक भिडियो अपलोडकर्ताले अफलाइन भिडियो हेर्न डाउनलोड गर्न दिने कि नदिनेमध्ये ‘डाउनलोड गर्न नदिने’ अप्सन पनि प्रयोग गर्न सक्छन् ।