साप्ताहिक संवाददाता
विन्ध्यवासिनी फाउन्डेसनले यस वर्षको कला पत्रकारिता सम्मान साप्ताहिकका वरिष्ठ उप सम्पादक कृष्ण भट्टराईलाई प्रदान गर्ने भएको छ । बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै फाउन्डेसनले लामो समयदेखि संगीत पत्रकारितामा सक्रिय भट्टराईलाई नगद २५ हजार ५ सय २५ रुपैयाँ राशीसहित सम्मान गर्न लागेको जनाएको छ । विन्ध्यवासिनी म्यूजिक एवार्ड वितरण गरिने दिन आगामी शुक्रवार पत्रकार भट्टराईलाई सम्मान गरिने बताइएको छ ।
उक्त अवसरमा वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाइफटाइम एचिभमेन्ट एवार्ड प्रदान गरिने भएको छ भने गायक राजेश पायल राईलाई विन्ध्यवासिनी संगीतरत्न सम्मान प्रदान गरिने भएको छ । आर्मी अफिसर्स क्लबमा सम्पन्न हुन गइरहेको छैठौं विन्ध्यवासिनी म्यूजिक एवार्डको अवसरमा गायक एवं संगीतकार प्रेमध्वज प्रधानलाई ५१ हजार १ सय ५१ नगद सहितको बिन्ध्यबासिनी लाईफ टाईम एचिभमेन्ट एवार्ड प्रदान गरिन लागिएको हो । गायक राईलाई भने १५ हजार ५ सय १५ राशिसहितको बिन्ध्यबासिनी संगीत रत्न सम्मानबाट सम्मानित गरिने छ ।
त्यसैगरी संसारकै सबैभन्दा सानो उमेरमा चलचित्र निर्देशन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम राख्न सफल निर्देशक सौगात विष्टलाई १० हजार १ राशिसहित बिन्ध्यबासिनी चलचित्र सम्मानबाट सम्मानित गरिने भएको एवार्ड आयोजक सुवास रेग्मीले बताएका छन् । उक्त अवसरमा विभिन्न ३१ विधाका उत्कृष्ट संगीतकर्मी, सर्जक, सिर्जनालाई एवार्ड प्रदान गरिनेछ ।