काभ्रे फोक्सिन्टारका ३० वर्षे उत्तम मोक्तानले सबैभन्दा लामो समय योगासन गरेर विश्व किर्तिमान कायम गरेका छन् । पौष २ गतेदेखि ५ गतेसम्म लगातार ५० घन्टा १५ मिनेटभन्दा बढि योगासन गरेर उनले विश्वकिर्तिमान कायम गरेका हुन् । काठमाडौंको वाल्मिकी विद्यापिठको प्राङ्गणमा गरिएको उक्त योगासनको भिडियोलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले आधिकारीकता प्रदान गरेपछि उनको रेकर्ड आधिकारिक मानिने छ । यसअघि भारतीय नागरिक योगराज सिपीले हङकङमा सन् २०१५ को फेब्रुअरीमा ४० घन्टा १५ मिनेटको योगासन रेकर्ड कायम गरेका थिए । मोक्तानले सिपीको रेकर्ड १० महिनामै तोडेका हुन् ।
गिनिज बुक अफ वर्ड रेकर्डस्को पछिल्लो किर्तिमान् भंग गरेपछि मोक्तानसँग इकान्तिपुरका लागि अश्विनी कोइरालाले गरेको कुराकानी ।
योगमा वर्ड रेकर्ड राख्ने सोच कसरी राख्नु भयो ?
म डा. योगी विकासानन्दबाट असाध्यै प्रभावित छु । उहाँ जहिल्यै पनि मानिसको जीवनको विशेष अर्थ छ र कुनै न कुनै रेकर्ड राख्नुपर्छ भन्नुहुन्थ्यो । उहाँको क्षत्रछाँयामा मैले पाँच वर्षे आध्यात्मिक कोर्स गरेको थिएँ । त्यसपछि भारतको बैङ्लोरमा रहेको विवेकानन्द योग विश्वविद्यालयबाट योगमा स्नातक तह उतिर्ण गरेँ । आफ्नो क्षमता प्रदर्शन गर्ने विश्व रेकर्ड महत्वपूर्ण कुरा हो भन्ने लागेपछि यो सोच आएको हो ।
यो रेकर्डले के के फाइदा हुन्छ भन्ने ठान्नुहुन्छ ?
सबैभन्दा ठूलो कुरा, नेपाल आध्यात्मिक मुुलुक हो । त्यसमाथि पनि यो शिवको भूमि, गोरखनाथको भूमि भएकाले योगको केन्द्र नेपाल नै हो । यस्तो कामले नेपालको योगभूमिलाई विश्वसामू चिनाउन मद्दत गर्छ । यो रेकर्डले नेपालीलाई पनि यौगिक जीवनप्रति उत्प्रेरित गर्छ । यस्तो कठिन काम गरेपछि मानिसमा कति ठूलो र असाधरण प्रतिभा हुँदो रहेछ भन्ने जानकारी हुन्छ । मुख्य कुरा म आफैलाई पनि आफूभित्रको अथाह शक्तिको जानकारी लिनु थियो । त्यो परम शक्तिको पहिचान गर्न पनि मैले यो रेकर्ड राखेको हुँ ।
लगातार ५० घन्टा योगासन गर्दा गाह्रो भएन ? खानपिन र ट्वाइलेट कसरी गर्नुहुन्थ्यो ?
गिनिज बुक अफ वर्ड रेकर्डको नियम अनुसार हरेक एक घन्टामा ५ मिनेटको आराम गर्ने समय पाइन्छ । यो समयलाई सदुपयोग गर्दै मैले खानपिन र ट्वाइलेटको काम सक्थेँ । लगातार चार पाँच–घन्टामा १०–१५ मिनेट समय पनि निकाल्थे । त्यसैले खानपीन र ट्वाइलेटको समस्या पर्दैन । मानिसले रेकर्ड राखुन् भनेरै गिनिजले यस्तो नियम बनाएको हुनुपर्छ ।
तै पनि सुत्ने समय हुँदैन, गाह्रो भएन ?
पहिलो रात गाह्रो भएन । किनभने जब जब निद्रा लाग्न खोज्थ्यो, कडा आसन गर्दथे । आधा घन्टा कडा आसन गरेपछि निन्द्रा भाग्थ्यो । दोस्रो रात विहानको ३ बजेसम्म मैले योगलाई सहजै अगाडि बढाएँ । जब ४ बजे पुरानो रेकर्ड तोडियो, मलाई असाध्यै निन्द्रा लाग्यो । मेरो मस्तिष्कले जसरी पनि रेकर्ड तोड्नु पर्छ भन्ने सोचेर होला, उसले निन्द्रा पनि आउन दिएन । जसै रेकर्ड तोडियो, आसनमै निदाउन पुग्दो रहेछु । मैले यो समस्या सहयोगी साथीहरुलाई भनेँ, उहाँहरुले हल्ला गरेर मलाई सुत्न दिनु भएन । विहानको ७ बजेसम्म मलाई धेरै गाह्रो भयो । जब विहान रेकर्ड तोडिएको समाचार वाहिर आयो, धेरै साथीहरु योगस्थलमा जम्मा हुनुभयो र बधाई दिन थाल्नु भयो । यसले फेरी मैले आफ्नो आसनलाई अघि बढाएँ । करिब १० घन्टा बढिको रेकर्ड कायम भएको छु ।
अब यो रेकर्ड तोडिएला कि नतोडिएला ?
कुनै पनि रकेर्ड तोडिनका लागि नै बन्छन् । तै पनि यो रेकर्ड सजिलै तोड्न भने गाह्रै छ ।
भविष्यको योजना के छ ?
मैले भारतमा ३ वर्षे योगमा स्तानक गरेपछि ठूला अवसर लाउला भन्ने सोचेको थिएँ तर यसको महत्व नेपालीलाई अझैसम्म थाहा रहेनछ । वास्तवमा योग विधाको चौतर्फी फाइदा छ । विश्वका विकसित मुलुकमा योगमा रेकर्ड राख्ने, योगमा पारंगंत मानिसलाई धेरै ठूलो महत्व दिइन्छ । नेपालमा त्यो अवस्था रहेनछ । यहि कारण योगको महत्व बुझाउन म देश–विदेश घुम्छु । यसले नेपालको मात्रै होइन, मेरो महत्व पनि सायद स्थापित गर्ला । हाल विश्व दर्शन अभियान अन्तरगत नेपाली भाषा, संस्कृति र यहाँको पर्यटनसम्बन्धी जानकारी दिन विश्वका विभिन्न मुलुकको भ्रमण गर्ने योजनामा छु ।
तस्विर सौजन्य: मिडियाएनपी