साप्ताहिक संवाददाता
पारदर्शी ट्रक
यसको नाम सेफ ट्रक राखिएको छ । लियो बर्नेट र एक इलेक्ट्रोनिक कम्पनीद्वारा निर्मित यो ट्रकले सडक दुर्घटनालाई न्यूनीकरण गर्न भूमिका खेल्ने विश्वास गरिएको छ । सडकमा यात्रा गर्दा अगाडि ठूलो ट्रक छ भने त्योभन्दा अघिल्तिरको दृश्य देख्न पाइँदैन । यही समस्या समाधानका लागि यो इलेक्ट्रोनिक सिस्टमको विकास गरिएको हो । यस प्रकारको ट्रकको अघिल्लो भागको भिडियो फुटेज ट्रकको पछिल्लो भागमा रहेका चारवटा स्क्रिनमा देख्न सकिन्छ । यसका कारण ड्राइभरले अघिल्लो भागका सबै दृश्य स्पष्टसँग देख्न सक्छ । प्रारम्भिक परीक्षणमा उक्त सेफ्टी ट्रकले ३ दिनमा १ हजार किलोमिटरको यात्रा बिना दुर्घटना पूरा गरेको थियो । उक्त प्रविधिको परीक्षण अर्जेन्टिनामा भएको थियो । अर्जेन्टिनामा तीव्र गतिको हावा र घुमाउरा सडकका कारण ट्रक चलाउन निकै गार्हो हुन्छ । यस प्रकारको सेफ्टी ट्रक चालकहरूका लागि सहयोगी हुने विश्वास गरिएको छ ।
लक्जरी इलेक्ट्रिक कार
विश्वको प्रतिष्ठित कार कम्पनी टेस्लाले मोडल एक्सका रूपमा इलेक्ट्रिक एसयुभी निर्माण गरेको छ । यो कार सन् २०१६ देखि बजारमा उपलब्ध हुनेछ । एकपटक चार्ज गरेपछि यसलाई ४ सय किलोमिटरसम्म चलाउन सकिन्छ । यसमा ७ जना मानिस बस्न सक्छन् । कारको पछिल्लो भाग चराको पखेटा जस्तै माथिल्तिर खुला रहन्छ । यसले ३ सेकेन्डमा ४५ किलोमिटर प्रतिघण्टाको गति कायम गर्न सक्छ ।
होभरबोर्ड स्कुटर
स्वयंले नै सन्तुलन मिलाएर चलाउन मिल्ने स्केटबोर्ड जस्तो यो स्कुटरलाई होभरबोर्ड भनिन्छ । यसलाई यो वर्षको निकै लोकप्रिय आविष्कार मान्न सकिन्छ । यस प्रकारको स्कुटरमा एक जोडी जाइरोस्कोप फिट गरिएको हुन्छ, जसले सन्तुलन मिलाउन सहयोग पुर्याउँछ । प्रयोगकर्ताले आफ्नो शरीरलाई हलचल गराई यसलाई अगाडि–पछाडि वा अन्य दिशामा लान सक्छ । यसमा तीव्र गतिमा कुद्ने, उफ्रिने, नाच्ने आदि कलात्मक कार्य पनि गर्न सकिन्छ । यो स्कुटर सहरका स्कुल कलेज जान–आउन उपयोगी साधन बन्न सक्ने अनुमान गरिएको छ ।
ड्रोनका लागि एयरपोर्ट
हाल ड्रोनको उपयोग निकै बढिरहेको छ । त्यसैले अब ड्रोनलाई कहाँ राख्ने भन्ने समस्या पनि थपिँदै छ । यसको समाधान रुवान्डाले तयार पारेको छ । रुवान्डामा छिट्टै यसका लागि तीनवटा पोर्ट निर्माण गरिँदैछ । त्यहाँबाट पहाडी इलाकामा खाद्य सामग्री, औषधी, इलेक्ट्रोनिक्स डिभाइस तथा अन्य सामग्री पठाउन सहज हुनेछ । यसको निर्माणकर्ता आर्किटेक्चर फर्म फास्टरले ड्रोन एयरपोर्ट निर्माणको पहिलो चरण सन् २०२० मा पूरा हुने जनाएको छ ।
एप्पल पेन्सिल
एप्पलको उत्पादन आइप्याड प्रोमा लेख्न एप्पल पेन्सिलको विकास गरिएको छ । यो पेन्सिलको ब्याट्री १२ घण्टासम्म चल्छ । यसको सहयोगले टेक्स्ट, पेन्टिङदेखि लिएर ड्रइङसम्म गर्न सकिन्छ । कागजमा लेखे जसरी आइप्याड प्रोबाट स्क्रिनमा लेख्न सकिन्छ ।
सुविधाजनक जुत्ता
मस्तिष्क पक्षघातबाट पीडित एक बिरामी म्याथ्यु वाल्जरले सन् २०१२ मा नाइकी कम्पनीलाई आफ्नो कलेज पढ्ने सपना भएको बेहोराको चिठी लेखेका थिए । उनले प्रत्येक दिन आफ्नो जुत्ताको तुना अरू कसैले बाँधिदिनुपर्ने र त्यसो गर्नु नपरे धेरै सहज हुने कुरा बताएका थिए । यही कुरालाई ध्यानमा राखेर नाइकीले तुरुन्त आफ्नो डिजाइन टिमलाई त्यस्तो जुत्ता बनाउन निर्देशन दिएको थियो । त्यसैबमोजिम यो वर्ष फ्लाइइज–८ नामक जुत्ता तयार पारिएको छ । यो जुत्तालाई ढोका खोले जसरी एउटै हातले लगाउन र फुकाल्न सकिन्छ ।
गुगल कार्डबोर्ड
भर्चुअल संसारमा यथार्थताको अनुभव दिलाउन महँगा ह्यान्डसेट वा त्यस्तै अन्य प्रविधि प्रयोग गरिन्छ, तर यो वर्ष गुगल कार्डबोर्डले नयाँ सम्भावना देखाएको छ । सन् २०१४ मा बजारमा उपलब्ध भएयता यो प्रविधिमा धेरै परिवर्तन आइसकेको छ । यसको सहयोगले स्मार्टफोनको स्क्रिनमा भिज्युअल हेर्न सकिन्छ । त्यसैगरी कार्डबोर्ड एपको सहयोगले कार चलाउन सकिन्छ । संगीत सुन्न वा भिडियो गेम खेलेको आनन्द लिन सकिन्छ । यसलाई विश्वकै सर्वाधिक सम्भावनायुक्त प्रविधि मानिएको छ ।