यो वर्षका चर्चित व्यक्तित्वहरूको कुरा गर्दा वर्षको अन्त्यतिर अमेरिकामा मुसलमानहरूको प्रवेशमा क्षणिक प्रतिबन्ध लगाउनुपर्छ भन्ने वक्तव्य दिएर विवाद र चर्चा दुवै कमाएका डोनाल्ड ट्रम्प अग्रस्थानमा देखा परे । सन् २०१६ मा हुन गैरहेको अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारीको दावी गर्नेहरूबीच अग्रपंक्तिमा रहेका डोनाल्ड ट्रम्प उक्त अभिव्यक्तिपछि थप चर्चामा आए । व्यापक आलोचना गरिएको उनको अभिव्यक्तिको सबैभन्दा ठूलो समर्थकका रूपमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन देखा परेपछि ट्रम्पको लोकप्रियता अहिले चुलिएको छ ।
चर्चा कमाउनेहरूमा आईएस नामक इस्लामिक आतंकवादी संगठनका प्रमुख अबु अल बक्र बगदादी पनि शीर्ष स्थानमै रहे । सन् १९७१ मा इराकको समारामा जन्मिएका बगदादीले इराककै इराकी विश्वविद्यालयबाट स्नातकसम्म अध्ययन गरेका छन् । कुनै बेला अमेरिकाले इराकका तत्कालीन राष्ट्रपति सद्दाम हुसेनविरुद्ध कारबाही थाल्दा पक्राउ परेर अमेरिकी सेनाको ब्यारेकमा बन्दी बनाइएका बगदादीले आफू रिहा भएपछि इस्लामिक स्टेट अर्थात् आईएस नामक संगठन निर्माण गरे, जसले विगत केही वर्षदेखि इराक र सिरियालाई केन्द्रबिन्दु बनाएर संसारभरि नै इस्लामिक आतंकवादको विस्तार गरिरहेको छ ।
चर्चाको यो श्रृंखलामा गत वर्षझैं अग्रपंक्तिमै छन् रूसका राष्ट्रपति भ्लादीमिर पुटिन । पछिल्लो समय डोनाल्ड ट्रम्पको अभिव्यक्ति र विचारलाई समर्थन गरेर चर्चा कमाएका पुटिन खासमा यो वर्ष इराक र सिरियामा सक्रिय आईएसविरुद्ध सञ्चालित सैनिक अभियानको नेतृत्व गरेका कारण चर्चामा आएका हुन् ।
जनताको प्रजातान्त्रिक भावना अनुभव गरेर मात्र पुग्दैन, त्यसलाई स्वीकार गरेर नेतृत्व दिने धैर्य एवं साहस पनि देखाउनुपर्छ । यही भावनालाई आत्मसात् गर्ने म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी यो वर्षकी अर्की चर्चित अनुहार हुन् । लामो समयदेखि सैनिक शासनका कारण थिलथिलो भएको म्यानमारमा यसैवर्ष सम्पन्न आमनिर्वाचनमा सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीले ८० प्रतिशतभन्दा बढी स्थानमा विजय प्राप्त गर्यो । अहिले म्यानमार सुकीको नेतृत्वमा नयाँ युगमा प्रवेश गर्ने तरखरमा छ ।
चर्चाको यो क्रममा फ्रान्सका राष्ट्रपति फ्र्याङकोइस होलान्ड पनि अग्रपंक्तिमै रहे । इस्लामिक स्टेट अर्थात् आईएसले फ्रान्सको राजधानी पेरिसमा गरेको आतंकवादी आक्रमणलाई होलान्डले सफलतापूर्वक व्यवस्थापन गर्न सफलता पाए । पेरिस आक्रमणपछि इस्लामिक आतंकवादविरुद्ध कठोर देखिएका होलान्ड वर्षको अन्त्यतिर पेरिसमा आयोजित ग्लोबल वार्मिङसम्बन्धी विश्व सम्मेलनका कारण पनि चर्चामा रहे ।
लामो समयदेखि संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूबाट एक्लिएको इरानलाई विश्व राजनीतिको मूलधारमा फर्काउन त्यहाँका राष्ट्रपति हसन रुहानीले गरेको प्रयासको विश्व समुदायले ठूलो प्रशंसा गर्यो । यसै क्रममा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका सर्तहरू स्वीकार गरेर रुहानीले आफ्नो देशमाथि लाग्दै आएका विभिन्न किसिमका प्रतिबन्धबाट मुक्ति पाउने उपायहरूको अवलम्बन गरेर आफू र आफ्नो देश दुवैलाई चर्चामा ल्याए ।
यस्तै चर्चा सिरियाका राष्ट्रपति बसार अल असदको पनि भयो, तर उनी सिरियाको सत्ता त्याग्नुपर्ने दबाबका कारण चर्चामा रहे । असदले सत्ता त्याग्नुपर्छ कि पर्दैन भन्ने विषयमा संसार नै दुई धु्रवमा विभाजित भयो । इस्लामिक स्टेटको पहिलो निसानामा रहेको सिरियाका जनता शरणार्थीका रूपमा संसारभरि छरिन थालेपछि पनि असद थप चर्चामा आए ।
ओलम्पिक गोल्ड मेडलिस्ट ब्रुस जेनर विश्वव्यापी चर्चा पाउने अर्का व्यक्तित्व हुन् । उनको चर्चा राजनीतिभन्दा फरक कारणले भयो । गत अप्रिल महिनामा डियानी सेवेयरलाई अन्तर्वार्ता दिने क्रममा जेनर तेस्रो लिंगीका रूपमा प्रस्तुत भएपछि संसार नै आश्चर्यमा पर्यो । ई–च्यानलबाट प्रसारण भएको ‘किपिङ अप विद द कार्दसियनन्स : अबाउट ब्रुस’ शीर्षकको उक्त कार्यक्रम जेनर कसरी पुरुषबाट तेस्रो लिंगी भए भन्ने विषयमा केन्द्रित थियो ।
अघिल्लो वर्ष रूसको दादागिरी सहेर आफ्नो मुलुकको एक भाग क्रिमिया गुमाउनुको पीडा सहेका युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्को यो वर्ष पनि चर्चामै रहे । पोरोसेन्को क्रिमियाको मुद्दा विश्वव्यापी रूपमा नवउपनिवेशवाद र शक्तिराष्ट्रको दादागिरी हो भन्ने कुरा संसारलाई बुझाउन सफल रहे ।
र अन्त्यमा, प्रतिष्ठित टाइम पत्रिकाले जर्मनीकी चान्सलर एन्जेला मर्केललाई पर्सन अफ द इयर चुनेर अनेक किसिमका सम्भावनाहरूमा पूर्णविराम लगायो ।