डेंगु भ्याक्सिन
सन् २०१५ को अन्त्यतिर मेक्सिकोमा डेंगु रोगको भ्याक्सिनलाई क्लिनिकल ट्रायलका रूपमा अनुमति प्रदान गरिएको छ । अहिलेसम्मको परीक्षणमा उक्त भ्याक्सिन डेंगुजस्तो घातक रोगको रोकथाममा उपयोगी पाइएको छ । भ्याक्सिन डेंगु भाइरस डीइएन ३ र डीइएन ४ मा प्रभावकारी मानिएको छ । यद्यपि यो डेंगु भ्याक्सिन डीइएन १ र डीइएन २ मा भने कम प्रभावकारी छ ।
हेपाटाइटिस सीको उपचार
सन् २०१५ हेपाटाइटिस सीका बिरामीका लागि निकै आशाप्रद वर्ष रह्यो । अब यो रोग एक प्रकारले उपचारयोग्य बनेको छ । सोफोसाविर र लेडीपेसविर नामक औषधी करिब ३ महिनासम्म सेवन गरे यो रोगबाट मुक्ति प्राप्त गर्न सकिन्छ । विभिन्न देशमा यो औषधी उपलब्धसमेत हुन थालेको छ र त्यो महँगो पनि छैन ।
रगत पातलो बनाउने औषधी
रगत पातलो गराउन ड्याबिगएट्रान नामक औषधीको विकास गरिएको छ । यो औषधीले रगतलाई क्लटिङ हुनबाट बचाउँछ । यद्यपि कतिपय बिरामीलाई यसको साइड इफेक्ट भएकाले साइड इफेक्ट कम गर्ने औषधीको समेत विकास गरिएको छ । यसका कारण अब मानिसले रगत बाक्लो हुने वा जम्ने समस्याबाट मुक्ति पाउनेछन् ।
मधुमेहको नयाँ औषधी
मधुमेहका बिरामीका लागि एसजीएलटी–२ नामक औषधीको विकास गरिएको छ । यसको कार्य उत्साहवद्र्धक छ । यसले बिरामीको रगतमा रहेको चिनीको मात्रा नियन्त्रण गर्नुका साथै वजनसमेत कम गर्छ । यसबीच अमेरिकाको न्युयोर्क विश्वविद्यालयका वैज्ञानिकहरूले दोस्रो प्रकारको मधुमेहलाई पूर्णतया निको पार्ने र पहिलो प्रकारको मधुमेहलाई समेत नियन्त्रणमा राख्ने ‘प्रोवायोटिक’ पिलको विकास गरेका छन् । यो जीवाणुमिश्रित पिल दुवै प्रकारको मधुमेहका कीटाणुलाई नष्ट गर्ने प्रतिरोधी जीवाणु भएको बताइएको छ ।
रक्त परीक्षणबाट क्यान्सरको जाँच
बेलायतको ब्य्राडफोर्ड युनिभर्सिटीमा क्यान्सर जाँचका लागि लिम्फोसाइट जिनोम सेन्सिटिभी नामक टेस्ट गर्न थालिएको छ जसअन्तर्गत एउटा साधारण रक्त परीक्षण गरिन्छ । यसका आधारमा क्यान्सर कोशिका (सेल) को जाँच गरिन्छ । अहिले प्रचलित क्यान्सरको कोशिका जाँचका लागि लामो र अप्ठ्यारो प्रक्रियाको तुलनामा यो निकै सहज छ ।
यसैगरी वैज्ञानिकहरूले मलेरिया सम्बद्ध प्रोटिन उपचार पद्धतिबाट अधिकांश प्रकारका क्यान्सर रोगको सफल र प्रभावकारी उपचार गर्न सकिने पद्धतिको विकास गरेका छन् । यो प्रविधि आगामी चार वर्षभित्र मानिसमा प्रयोग गर्न सकिने गरी विकास हुने वैज्ञानिकहरूको विश्वास छ ।
डेस्कटप डिएनए ल्याब
डिएनएको एउटा तन्तुलाई लाखौं कोशिका बनाउन दिनभरको समय लाग्छ, तर जूनो नामक संस्थाले यसलाई तीन घण्टामै पूरा गर्ने बताइएको छ । त्यसपछि वैज्ञानिकहरू बचेको समय यसलाई विश्लेषण गर्न उपयोग गर्न सक्नेछन् । यसको माइक्रोचिपमार्फत पानीको कणभन्दा पनि लाखौं गुणा सानो डिएनएको नमुनालाई लाखौ हिस्सामा बदल्न सकिन्छ । यो मेसिनको प्रयोग अनुसन्धान प्रयोगशालामा प्रारम्भ भैसकेको छ ।
प्रदूषणको पहिचान
इलेक्ट्रिसियन केभिन हार्टले जोआ इन्भाइरोमेन्टल ट्रयाकरले निर्माण गरेका छन् । ट्रयाकर सेन्सरले कुनै पनि क्षेत्रमा भएको तापक्रम, धुलोका कण, सवारी साधनको धूवाँ आदिको मापन गरी डाटा अपलोड गर्छ । त्यसपछि उक्त डाटालाई प्रदूषण जाँच गर्ने केन्द्रमा पठाउँछ । यो डिभाइस एउटै स्थानमा स्थिर रहन्छ । कम्पनीले यसको वेरेबल भर्सन पनि तयार पार्ने योजना बनाएको छ ।
ग्लुटेन सेन्सर
गहुँ र अन्य खाद्य पदार्थमा पाइने प्रोटिन ग्लुटेनका कारण लाखौं मानिसमा विभिन्न प्रकारका रोग लाग्छ । ग्लुटेन सेन्सरले यस्ता कुनै पनि खाद्य वा पेय पदार्थमा भएको ग्लुटेनको मात्रा पत्ता लगाउँछ । उक्त डिभाइसमा खाद्य वा पेय पदार्थको नमुना राख्नासाथ ग्लुटेनको अवशेष देखिन्छ । विभिन्न प्रकारको एलर्जी उत्पन्न गर्ने खाद्य पदार्थको पहिचान गर्न पनि यो सेन्सर निकै उपयोगी हुने बताइएको छ ।
अल्जाइमर्सको उपचार
अमेरिकी वैज्ञानिकहरूले विकास गरेको रोगविरुद्ध लड्ने क्षमता राख्ने इम्युन सेलहरूको गतिविधिले गर्दा मानिसमा अल्जाइमर्स (बिर्सने) रोगको मुख्य कारण पत्ता लागेको छ । अब यो रोगको उपचार औषधीबाटै सम्भव हुने वैज्ञानिकहरूले बताएका छन् । यसैगरी कोरियाली अनुसन्धानकर्ताहरूले वंशानुगत रूपमा देखा पर्ने अल्जाइमर्स रोगको उपचारका लागि एक प्रकारको औषधी मिश्रित पिलको विकास गरेका छन् । हाल जनावरमा सफल परीक्षण गरिएको ‘इपीपीएस’ नामक यो औषधीको परीक्षण चाँडै मानिसमा सुरु हुने बताइएको छ ।
रक्तचापको औषधी
अमेरिकाको एरिजोना विश्वविद्यालयका वैज्ञानिकहरूले रक्तचाप (ब्लड प्रेसर) को अझ राम्रो औषधी निकट भविष्यमै उपलब्ध हुने विश्वास दिलाएका छन् । वैज्ञानिकहरूले विकास गरेको नयाँ प्रविधिले रक्तचापको त्यस्तो औषधीको विकास सम्भव भएको दाबी गरिएको छ ।
पाठेघरको विकास गरी शिशुको जन्म
संसारमै पहिलो पटक बेल्जियमकी एक बाँझी महिलाले अर्की एक महिलाको पाठेघरको टिस्यु प्रयोग गरी नयाँ उमारिएको पाठेघरबाट शिशुलाई जन्म दिएकी छिन् । यो सफलतापछि अब कुनै पनि महिलाले उक्त प्रविधि प्रयोग गरी आफ्नै कोख र डिम्बबाट सन्तान जन्माउन सक्ने बताइन्छ ।
थ्रीडी प्रिन्टेट दाह्रा प्रत्यारोपण
अस्ट्रेलियाका वैज्ञानिकहरूले संसारमै पहिलो पटक प्राकृतिक रूपमै थ्रीडी प्रिन्टेड प्रोस्थेटिक दाँतसहितको दाह्रा मानिसमा प्रत्यारोपण गर्ने काममा सफलता हासिल गरेका छन् । यो प्रविधिले बुढ्यौली अवस्थामा दाँत र दाह्रा नभै कडा कुरा चपाउन नसक्ने तथा थोते भएर बस्नुपर्ने पीडापूर्ण अवस्थाको अन्त्य हुनेछ ।
ओपन हार्ट सर्जरी गर्नु नपर्ने
चिकित्सा क्षेत्रका वैज्ञानिकहरूले गरेको नयाँ अविष्कारका कारण अब मुटु रोगीहरूका लागि गरिने ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्ने छैन । मुटुरोगीमा प्रत्यारोपण गरिने एक नयाँ प्रकारको निर्वाध रगत प्रवाह हुने ठूलो कृत्रिम नली ‘स्टेन्ट’को विकास गरी रोगीमा त्यसको सफल प्रत्यारोपण सम्भव भएकाले ओपन हार्ट सर्जरी गर्नु नपर्ने भएको हो ।
अन्धोपन निर्मूल पार्न सकिने
अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले आँखामा हाल्ने एक प्रकारको झोल औषधीको विकास गरेका छन् जुन औषधीको थोपाले आँखामा पानी रसाइरहने, धमिलो देखिनुका साथै अन्धोपनको मुख्य कारक मानिने समस्याहरू निर्मूल पार्छ ।
प्रयोगशालामा मानव अंगको विकास
यसै वर्ष वैज्ञानिकहरूले संसारमै पहिलो पटक प्रयोगशालामा मानव अंगको विकास गर्न सकिने प्रविधि सार्वजनिक गरेका छन् । यो प्रविधिअन्तर्गत मुसाका विभिन्न अंगको विकास गरेर तिनको सफल प्रयोगसमेत गरिसकिएको बताइन्छ ।
इबोलाविरुद्ध खोप
क्यानाडा सरकारको जनस्वास्थ्य एजेन्सीले संसारमै पहिलो पटक अफ्रिकामा महामारीका रूपमा फैलिएको प्राणघातक र अहिलेसम्मकै सबैभन्दा डरलाग्दो इबोला रोगविरुद्ध खोपको विकास गरेको छ । यो खोपको परीक्षणबाट शतप्रतिशत परिणाम प्राप्त भएको समाचारमा जनाइएको छ ।
महिलाका लागि भियग्रा
अमेरिकी अनुसन्धानकर्ताहरूले आविष्कार गरेको महिलाहरूको यौन उत्तेजना बढाउने भियग्रालाई अमेरिकाको खाद्य तथा औषधी प्रशासन केन्द्रले व्यवहारमा ल्याउन स्वीकृति प्रदान गरेको छ । खास गरेर ४०–४५ वर्ष कटेका महिलामा यौन उत्तेजना मर्ने समस्या निराकरण गर्न यो औषधीको विकास गरिएको वैज्ञानिकहरूले बताएका छन् ।
रोग पत्ता लगाउने एप
एप निर्माताहरूले यस्तो एप बनाएका छन् जसले मानिसको आवाज पहिचान गरी ३० सेकेन्डभित्र उक्त मानिसले स्वास्थ्यअनुसार खानुपर्ने खानेकुरा तथा विभिन्न रोगका बारेमा जानकारी प्रदान गर्छ । अमेरिकाको नेभेदास्थित एप विकासकर्ताहरूको एउटा समूहले उक्त एपको विकास गरेको हो ।