फोब्र्स पत्रिकाले हरेक वर्ष विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्छ । फोब्र्सले सन् २०१५ का धनी व्यक्तिहरूको पनि सूची तयार पारेको छ । फोब्र्सद्वारा जारी यो सूचीको पहिलो १० स्थानमा केही अर्बपति लगातार रहँदै आएका छन् । यो वर्ष पनि गत वर्ष झैं बिल गेट्स पहिलो स्थानमा छन् । यो वर्षको सूचीमा लिलियन बेटनकोर्टले पहिलो पटक प्रवेश पाएकी छिन् भने गत वर्ष यो सूचीको दसौं स्थानमा रहेका एलिस वाल्टन बाहिरिएका छन् ।
१. बिल गेट्स
६० वर्षीय बिल गेट्स अमेरिकी नागरिक हुन् । गतवर्ष पनि यो सूचीको पहिलो स्थानमा रहेका गेट्सले केही सम्पत्ति गुमाए पनि आफ्नो स्थान कायमै राखेका छन् । उनको सम्पत्ति यो वर्ष झन्डै १ अर्ब ५० करोड डलरले घटेर ७९ अर्ब २० करोड डलर कायम भएको छ । बिल गेट्सले आफ्नो आम्दानीको ठूलो हिस्सा विभिन्न सामाजिक कार्यमा लगानी गरेका छन् । गेट्स तीन सन्तानका पिता हुन् । उनी हार्बर्ड विश्वविद्यालयमा अध्ययन गर्दागर्दै सफ्टवेयरको व्यापारमा लागेर कलेज छाडेका थिए । उनको माइक्रोसफ्ट कम्पनीबाट उत्पादित अपरेटिङ सिस्टमद्वारा अहिले विश्वका ९४ प्रतिशत कम्प्युटर सञ्चालित छन् ।
२. कार्लोस स्लिम हेलु
गत वर्ष पनि यो सूचीको दोस्रो स्थानमा रहेका मेक्सिकोका ७५ वर्षीय कार्लोस स्लिम हेलु मुख्यत: दूरसञ्चार व्यवसायी हुन् । उनको व्यापारले मेक्सिकोमा एकाधिकार नै जमाएको छ । त्यसबाहेक सम्पूर्ण ल्याटिन अमेरिकी क्षेत्रमा समेत उनको प्रभाव छ । उनी खुद्रा व्यापार, बैंकिङ तथा बिमासम्बन्धी कारोबार पनि गर्छन् । यो वर्ष उनको कुल सम्पत्ति ६ अर्ब २० करोड डलरले बढेर ७७ अर्ब १० करोड डलर कायम भएको छ । हेलु ६ सन्तानका बुबा हुन् । तीमध्ये ३ छोरा उनको व्यापारमा संलग्न छन् ।
३. वारेन बफेट
८५ वर्षीय वारेन बफेट अमेरिकी नागरिक हुन् । धनीहरूको यो सूचीमा बफेट यो वर्ष तेस्रो स्थानमा झरेका छन् । यो वर्ष उनको सम्पत्ति ७० करोड डलरले घटेर ७२ अर्ब ७० करोड कायम भएको छ । बफेटले युनिभर्सिटी अफ नेब्रास्काबाट आर्ट्स र साइन्समा स्नातक तथा कोलम्बिया युनिभर्सिटीबाट साइन्समा स्नातक गरेका छन् । वित्तीय क्षेत्रमा चर्चित बफेटले सेयर, बैंकिङ एवं बिमा आदि क्षेत्रमा लगानी गरेर यत्रो सम्पत्ति हासिल गरेका हुन् । उनको सेयर अमेरिकन एक्सप्रेस, कोकाकोला, जिलेटजस्ता प्रमुख कम्पनीमा छ । बफेट बिमा कम्पनी प्रमुखसमेत हुन् ।
४. अमान्सियो ओर्टेगा
गत वर्ष पनि अर्बपतिहरूको सूचीको चौथो स्थानमा रहेका स्पेनका ७८ वर्षीय व्यवसायी अमान्सियो ओर्टेगा यो वर्ष पनि चौथो स्थानमै छन् । यो वर्ष उनको कुल सम्पत्ति ३ अर्ब १० करोड डलरले बढेर ६४ अर्ब ५० करोड डलर पुगेको छ । ओर्टेगा मूलत: खुद्रा व्यापारी हुन् । स्पेनमा उनको जारा नामक स्टोर छ । उक्त स्टोरमा लत्ताकपडादेखि लिएर घरायसी उपभोग्य सामग्रीसम्म उपलब्ध हुन्छ । विश्वका ७१ देशमा यस्ता ४ हजारभन्दा बढी स्टोर छन् । त्यसबाहेक ओर्टेगाको ग्याँस, पर्यटन, बैंकिङ तथा रियल स्टेटका क्षेत्रमा पनि विभिन्न राष्ट्रमा लगानी छ ।
५. लरेन्स एलिसन
७१ वर्षीय लरेन्स एलिसन अमेरिकी नागरिक हुन् । यो वर्ष उनको सम्पत्ति ३ अर्ब २० करोड डलरले बढेर ५४ अर्ब ३० करोड डलर पुगेको छ । गत वर्ष पनि पाँचौं स्थानमा रहेका एलिसन ओराकल सफ्टवेयरका मालिक हुन् । लरेन्सले सन् १९७७ मा ओराकलको क्षेत्रमा काम गर्न थालेका थिए जुन सन् १९८६ देखि सार्वजनिक प्रयोगमा आएको हो । एलिसनले युनिभर्सिटी अफ सिकागोमा भौतिकशास्त्र अध्ययन गरे पनि स्नातक नसक्दै बीचमै पढाइ छाडेका थिए ।
६. चाल्र्स कोच
अमेरिकाका ८० वर्षीय चाल्र्स कोच संयुक्त रूपमा छैटौं नम्बरका अर्बपति हुन् । यो वर्ष उनको कुल सम्पत्ति १ अर्ब ६० करोड डलरले बढेर ४२ अर्ब ९० करोड डलर पुगेको छ । गत वर्ष पनि उनी यो सूचीमा संयुक्त रूपमा छैटौं स्थानमै थिए । अमेरिकाको परम्परागत जमिन्दार परिवारबाट आएका चाल्र्स कोचको लगानी अमेरिकाभरि छरिएको छ । उनले अमेरिकामा खुद्रा बजारदेखि होटल व्यवसाय, कृषि फर्म तथा कृषि उत्पादन प्रशोधन गर्ने उद्योगहरूमा लगानी गरेका छन् । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ग्राजुएट कोचले ‘द साइन्स अफ सक्सेस : हाउ मार्केट बेस्ड म्यानेजमेन्ट बिल्ट द वल्र्डस् लार्जेस्ट प्राइभेट कम्पनी’ शीर्षकको पुस्तकसमेत लेखेका छन्, जसमा कोचले आफ्नो परिवारको प्रगतिको कथा प्रस्तुत गरेका छन् ।
७. डेभिड कोच
अमेरिकाका ७५ वर्षीय डेभिड कोच संयुक्त रूपमा छैटौं नम्बरका अर्बपति हुन् । यो वर्ष उनको कुल सम्पत्ति १ अर्ब ६० करोड डलरले बढेर ४२ अर्ब ९० करोड डलर पुगेको छ । गत वर्ष पनि उनी यो सूचीमा संयुक्त रूपमा छैटौं स्थानमै थिए । उनी चाल्र्स कोचका भाइ हुन् । चाल्र्स कोचको लगानी पनि अमेरिकाभरि छरिएको छ । उनले अमेरिकामा खुद्रा बजारदेखि होटल व्यवसाय, कृषि फर्म तथा कृषि उत्पादन प्रशोधन गर्ने उद्योगहरूमा लगानी गरेका छन् । डेभिड म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ग्राजुएट छन् । उनको अधिकांश व्यापार दाजु चाल्र्स कोचको साझेदारीमा छ ।
८. क्रिस्टी वाल्टन
गत वर्ष पनि यो सूचीको आठौं स्थानमा रहेकीे अमेरिकाको वाल्टन परिवारकी सदस्य क्रिस्टी वाल्टन यो वर्ष पनि आठौं स्थानमै कायम छिन् । ६० वर्षीया क्रिस्टी वाल्टन अमेरिकाको प्रसिद्ध वालमार्ट सुपर मार्केटकी मुख्य सेयरहोल्डर हुन् । क्रिस्टी अमेरिकाको प्रसिद्ध चिल्ड्रेन्स स्कलरसिप फन्डकी सहअध्यक्ष समेत हुन् । यो वर्ष क्रिस्टी वाल्टनको सम्पत्ति १ अर्ब ३० करोड डलर बढेर ४१ अर्ब ९० करोड डलर कायम भएको छ ।
९. जिम वाल्टन
६७ वर्षीय जिम वाल्टन अमेरिकाको प्रसिद्ध वालमार्ट सुपर मार्केटका मुख्य सेयरहोल्डर हुन् । उनी अमेरिकाको आर्भेस्ट बैंक समूहका मुख्य कार्यकारी अधिकृतसमेत हुन् । गत वर्ष संसारका सर्वाधिक धनीको सूचीको नवौं स्थानमा रहेका वाल्टनको कुल सम्पत्ति १ अर्ब डलरले बढेर ४० अर्ब ६० करोड डलर कायम भएको छ । जिम वाल्टन क्रिस्टी वाल्टनका दाजु हुन् ।
१०. लिलियन बेटेनकोर्ट
यो वर्षका सर्वाधिक धनीको सूचीको दसौं स्थानमा फ्रान्सको विश्व प्रसिद्ध सौन्दर्य प्रसाधन निर्माता कम्पनी लोरियलकी मालिक ९३ वर्षीया लिलियन बेटेनकोर्ट छिन् । अघिल्लो वर्ष यो सूचीको ११ आंै स्थानमा रहेकी बेटेनकोर्टको सम्पत्ति ४० अर्ब १० करोड डलर छ । उनी यो सूचीमा अटाउने सबैभन्दा बढी उमेरकी अर्बपति हुन् ।