रेफ्रीको ‘पेस्तोल’ निकालेपछि
ब्राजिलीयन एमेच्योर फुटबलमा यो वर्ष गजबको घटना देखियो । अमान्टेस बोला र ब्रुमाडिन्होबीचको खेल चलिरहँदा रेफ्री ग्याब्रियल मुरटाले अविश्वसनीय काम गरे । उनले मैदानमै खेलाडीलाई तेस्र्याउँदै ‘पेस्तोल’ निकाले । भएको के रहेछ भन्दा दुई टिमका खेलाडी सुरुमा एकआपसमा लडे र पछि दुवै मिलेर रेफ्रीलाई आक्रमण गरे । रेफ्री पनि के कम ? सुरुमा उनी चेञ्जिङ रूपतिर भागे र त्यहाँबाट ‘पेस्तोल’ लिएर मैदानमा फर्किए । ती रेफ्रीलाई बल्लतल्ल खेल पदाधिकारीले सम्झाएर बाहिर लानुपरेको थियो । यो सबै घटनाको भिडियो पनि खिचिए पनि त्यो प्रस्ट भने छैन ।
टेनिसको नयाँ शब्द ‘पिनिस’
यूएस ओपनको तेस्रो चरणका क्रममा भिक्टोरिया अजरेन्काले टेनिस खेलमा नयाँ शब्द प्रयोग गरिन्, ‘पिनिस’ । उनी आफैंले आफैंलाई उक्साउन एन्जेलिक्य केबरविरुद्धको खेलमा लगातार यो शब्द चर्को स्वरमा दोहर्याइरहेकी थिइन् । त्यसको अर्थ कसैलाई थाहा थिएन । खेल सकिएपछि भिक्टोरियासँग मिडियाले यस विषयमा प्रश्न गर्यो । बेलारूसकी यी सुन्दरीको उत्तर थियो, ‘यो दुई शब्दको मेल हो, पनिस र फिनिस ।’ अर्थात प्रतिद्वन्द्वी खेलाडीलाई अप्ठ्यारोमा पार्ने र अंक जित्ने अर्थात ‘पिनिस’ ।
टेलरको गम्भीर भुल
जिम्बावेका पूर्वकप्तान ब्रेन्डन टेलर यो वर्ष अरू कसैको कारमा रातभरि सुतेको भेट्टाइए । नटिङघमसायरले डरमहमाथि जित निकालेपछिको पार्टी सकेर उनी गाडी पार्किङतर्फ लागे र कसैको गाडीमा छिरेर सुतिहाले । गाडीका वास्तविक मालिकले उनको त्यो स्थिति स्थानीय प्रहरीलाई बताएपछि मात्र घटना बाहिर आएको थियो । टेलरले पनि माने, आफ्नो तर्फबाट गम्भीर भूल भएको कुरा । खासमा उनी मदिराको प्रभावमा थिए र आफ्नो कार भनेर अरू कसैको कारमा छिरेछन् । होस हराएको स्थितिमा उनी त्यही कारमा रातभरि सुते ।
गल्फ कोर्समा प्रेम प्रस्ताव
डेनमार्क गल्फमा स्थानीय खेलाडी आन्द्रेस हार्टो कट गर्ने प्रयासमा असफल रहे, तर निराश हुनुपर्ने स्थितिमा उनले उल्टै १६ औं ग्रिनमा खुसीयाली मनाए । त्यो देखेर अरू सबै छक्क परे । के भएको रहेछ भने दर्शक झुम्मिन थालेपछि २७ वर्षीय हार्टोले सबैका अगाडि आफ्नी प्रेमिका लुइससामु विवाहको प्रस्ताव राखे । अब भनिरहनु पर्दैन, ती प्रेमिकाले पनि खुसीपूर्वक उक्त प्रस्ताव स्वीकार गरिन् ।
जोकोभिचले घाँस खाएपछि
यो वर्ष नोभाक जोकोभिचले तेस्रोपल्ट विम्बल्डन जितेपछि अहिलेसम्म अरू कुनै खेलाडीले नगरेको काम गरे र यो सर्वाधिक चर्चाको विषय पनि रह्यो । फाइनलमा उनका प्रतिद्वन्द्वी रोजर फेडेरर थिए र त्यो जित प्रस्पिर्धात्मक थियो । उपाधि जितेपछि जोकोभिच मैदानमा लडे र त्यहाँ रहेको घाँस चपाउन थाले । पछि मिडियाले सोध्यो, घाँसको स्वाद कस्तो रहेछ त ? ‘घाँस त खुबै मिठो छ है,’ जोकोभिचले भने ।
खेलाडीले भूत देखेपछि
न्युजिल्यान्ड भ्रमणमा रहेका पाकिस्तानी खेलाडी ह्यारिस सोहेलले सुनाएको एउटा घटना पनि यो वर्ष चर्चामा रह्यो । पाकिस्तानी टिम बसेको होटलमा उनले भूत देखेको दाबी गर्दै यस विषयमा टिमका व्यवस्थापक नभिद अक्रमलाई जानकारी दिए । सोहेलका अनुसार उक्त भूत उनको कोठामा आउने जाने गरिरहेको थियो । पछि यी २६ वर्षीय अलराउन्डरलाई लिएर के जानकारी आयो भने उनमा खास–खास रंग छुट्याउने समस्या रहेछ र त्यही कारणले उनले भूतको आकृति देखेका रहेछन्, तर सोहेलले भने जिद्दी गरिरहे— त्यो भूत नै थियो भनेर ।