साप्ताहिक संवाददाता
वसन्त निरौला चलचित्र निर्देशक हुन् भने पवित्रा आचार्य उनको चलचित्रकी नायिका । पवित्रालाई नायिका लिएर वसन्तले तीनवटा चलचित्र निर्देशन गरिसकेका छन्— ‘विजयपथ’, ‘राजनीति’ र ‘आवेग’ । केही वर्षअघि वसन्तको टेलिचलचित्र ‘कृपा’का लागि नायिकाको खोजी गर्ने क्रममा उनलाई कसैले पवित्राको फोन नम्बर दिएछन् । चोभारमा उनीहरूको पहिलो भेट भयो । पवित्रा चलचित्र ‘विजयपथ’मा नायिका थिइन् । चलचित्रमा काम गर्दागर्दैै निर्देशक निरौलालाई नायिका पवित्रा मन परिन् अनि उनले पवित्राको घरमा मागी विवाहको प्रस्ताव पठाए । विवाहपछि पनि पवित्रालाई उनले एकपछि अर्को चलचित्रमा नायिका बनाइरहेका छन् । नायिकाका अतिरिक्त नृत्य निर्देशक तथा प्रशिक्षक पवित्रा पनि उनलाई हरेक पाइलामा साथ दिइरहेकी छिन् । निर्देशक वसन्तले नायिका पवित्राका बारेमा यसरी कुरा काटे :
असल बाइट्स
असल नृत्याङ्गना : जस्तो पनि नृत्य गर्न सक्ने खुबी छ । म उनको नृत्यकलाको प्रशंसक हुँ ।
व्यवहारिक : जोसँग पनि मीठो र राम्रो व्यवहार गर्छिन् ।
सुन्दर नयन : मैले मात्र होइन, धेरैले उनको आँखाको निकै प्रशंसा गर्छन् । सुन्दर छन् उनका नयन ।
नामजस्तै पवित्र मन : कसैको दु:ख देख्न सक्दिनन् । सहयोग गर्न हरदम तत्पर रहन्छिन् ।
सिकाउन र सिक्न तत्पर : जानेको कुरा सिकाउन र नआएको कुरा सिकाउन जहिले पनि तयार हुन्छिन् ।
खराब बाइट्स
चित्त दुखाइहाल्ने : स–साना कुरामा चित्त दुखाइरहने उनको बानी मन पर्दैन ।
कडा रिस : उनी हत्तपत्त रिसाएको पाएको छैन, तर रिसाएपछि फकाउनै सकिँदैन ।
मनमा कुरा राख्न नसक्ने : मनको कुरा मन भित्र राख्न नसक्ने बानी छ । कसै न कसैलाई सुनाइहाल्छिन् ।
सहयोग गर्दा दु:ख पाउने : सबैलाई परेका बेला सहयोग गर्छिन् र आफैंले दु:ख पाउँछिन् ।
मिडिया फ्रेन्ड्ली छैनन् : उनी सञ्चारकर्मीहरूलाई त्यति वास्ता गर्दिनन् । कोही बोल्न आए बोल्छिन्, नबोले आफैं बोल्दिनन् । यहाँ चर्चा पाउन मिडियासँग नजिक हुनुपर्छ ।