यो वर्ष प्राकृतिक प्रकोप र विपत्तिले नराम्रो चोट दिएर गयो । नेपालको विनाशकारी भूकम्प होस् वा जर्जियाको बाढी, टेनेसीको हिमपात होस् वा क्यालिफोर्नियाको खडेरी, प्राकृतिक विपत्तिको हिसाबले यो वर्ष बिर्सनलायक रह्यो ।
नेपालमा महाभूकम्पको विनाशलीला
यो वर्ष विश्व परिदृश्यमा नेपालको महाभूकम्प ठूलो विपत्तिका रूपमा देखा पर्यो । नेपाली नयाँ वर्षको प्रारम्भमै गएको विनाशकारी भूकम्पले ८ हजार जनाभन्दा बढीको ज्यान लियो भने लाखौं घरबारविहीन भए । भूकम्पले सयौं प्राचीन सम्पदा, मठमन्दिर, भवन, बस्ती आदिलाई खण्डहरमा परिणत गर्यो ।
साइबेरियामा आगलागी
रुसको साइबेरियाको जंगल क्षेत्रमा लागेको आगलागीले २३ जनाको ज्यान लियो । अप्रिल महिनाको मध्यतिर लागेको उक्त आगलागीबाट ६० वटा गाउँ जलेर नष्ट भए भने ६ हजार मानिस घरवारविहीन भए । सुख्खा घाँसबाट सल्किएको आगो हावाको बेगसँगै अनियन्त्रित रूपमा फैलिएपछि उक्त विपत्ति निम्तिएको थियो ।
टेनेसीको तुफान
अमेरिकाको टेनेसी प्रान्तले यस वर्ष खराब हिमपातको सामना गर्नुपर्यो । फेब्रुअरी महिनाको मध्यतिर परेको हिमपात विगत २० वर्षयताकै सबैभन्दा ठूलो थियो । हिमपातसँगै बढेको चिसोले ३० जना मानिसको ज्यान लियो । यसरी मृत्यु हुनेमा धेरैजसो वृद्धवृद्धा थिए ।
टेक्सासको चक्रवर्ती आँधी
मे महिनामा बाढी र त्यसपछि आएको चक्रवर्ती आँधीले अमेरिकाको दक्षिणी प्रान्त टेक्सासलाई नराम्रोसँग प्रभावित तुल्यायो । उक्त प्रकोपका कारण त्यहाँ २२ जनाले ज्यान गुमाउनुपर्यो भने तीन दर्जनभन्दा बढी हराए । भारी वर्षासँगै आएको बाढीका कारण १ हजारभन्दा बढी मानिस सडकमा फसे । त्यसले टेक्साससँगै ओक्लाहोमा र ह्युस्टनमा पनि विनाश मच्यायो । ह्युस्टनमा मात्र अढाई हजार कार बाढीले बगाएको थियो । त्यहाँ ५ सयभन्दा बढीलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो । टेक्सासमा सैयौं घर ध्वस्त भए ।
अस्ट्रेलियाको आगलागी
अस्ट्रेलियाको जंगलमा लागेको भीषण आगलागी नियन्त्रणमा नआउँदा जनधनको ठूलो क्षति भयो । दक्षिण अस्ट्रेलियाको एडिलेड, भिक्टोरिया, मेलवोर्न र न्यु–साउथ वेल्सको जंगलमा फैलिएको उक्त आगोका कारण त्यहाँको तापमान ४६ डिग्री सेन्टिग्रेटसम्म पुग्नुका साथै वातावरणमा तातो हावा फैलिएको थियो । आगो सल्किएपछि ग्रामीण क्षेत्रका मानिसहरू घर छाडेर भागेका थिए । आगलागीमा परी ६५ जनाको मृत्यु भयो भने ८५ हजार हेक्टरमा लगाइएको खेती खरानी भयो ।
अफगानिस्तानमा हिमस्खलन
यसै वर्ष अफगानिस्तानमा सुख्खा हिमस्खलन हुँदा २ सय ५० जनाको ज्यान गयो । काबुलनजिकैको पर्वतीय क्षेत्रमा लगातारको भारी हिमपातपछि गएको उक्त हिमस्खलनका कारण अफगानिस्तानको पन्जशिर प्रान्तमा मात्र कम्तीमा १ सय ८६ जनाको ज्यान गएको थियो ।
फिलिपिन्समा भीषण आँधी
वर्षको अन्त्यतिर उत्तरी फिलिपिन्समा आएको ‘मेलार’ नामक आँधीले ठूलो विनाशलीला मच्चाउनुका साथै २० जनाभन्दा बढीको ज्यान लिएको छ । आँधीको त्रासका कारण ७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।
चीनको चक्रवात आँधी
सुपर चक्रवात आँधीका कारण चीन र ताइवानमा व्यापक धनजनको क्षति भयो । जुलाई महिनाको यो प्राकृतिक प्रकोपले चीनको पूर्वी प्रान्त झेझियाङ्ग नराम्रोसँग प्रभावित भयो । १ सय ८७ किलोमिटर प्रतिघण्टाको वेगमा चलेको हावाका कारण झेझियाङ्ग र फुजियान प्रान्तबीचको तटीय क्षेत्रमा भूस्खलन गएको थियो ।
क्यालिफोर्नियाको जंगलमा आगलागी
क्यालिफोर्नियाको जंगलमा लागेको आगलागीले ठूलै विध्वंस मच्यायो । आगलागीले ४ सय घर, व्यवसायिक प्रतिष्ठान, अपार्टमेन्टलगायत दर्जनौं गाडी जलेर नष्ट भए । आगलागीका कारण हजारौं मानिसले घर छाडेर भाग्नुपरेको थियो । आगलागीले ४० हजार एकडमा रहेको जंगललाई खरानी बनायो ।
क्यालिफोर्नियामा खडेरी
इतिहासमै पहिलो पटक क्यार्लिफोर्नियालाई खडेरीले तहसनहस बनायो । हिमपात हुने स्थानमा यस्तो विपत्ति आएपछि यसलाई अमेरिकीहरूले ‘अभूतपूर्व संकट’ का रूपमा व्याख्या गरे । कुनै बेला पाँच फुटसम्म हिउँ जम्ने स्थानमा यस्तो खडेरी लागेको थियो । खडेरीका कारण त्यस क्षेत्रको कृषि उत्पादनमा ठूलो ह्रास आयो ।
चिलीमा ज्वालामुखी
करिब पाँच दशकपछि चिलीमा भयानक ज्वालामुखी विस्फोट भयो । अप्रिल महिनामा भएको उक्त ज्वालामुखी बिस्फोटले प्रत्यक्ष रूपमा ६ हजार मानिस प्रभावित भए । चिलीको राजधानी सेन्टियागोदेखि १ हजार किलोमिटर टाढा दक्षिणी प्यूर्तोवराज्यनजिकै उक्त ज्वालामुखी बिस्फोट भएको थियो । यसले आसपासको २० किलोमिटर क्षेत्र नराम्रोसँग प्रभावित भयो । बिस्फोटका कारण ४ हजार व्यक्तिलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो ।
जर्जियाको भीषण बाढी
जुन महिनामा भीषण वर्षासँगै बेरे नदीको तटबन्ध फुटेर आएको बाढीले मध्यएसियाको जर्जियामा उत्पात मच्यायो । जर्जियाको राजधानी टिब्लिसीमा भारी वर्षासँगै आएको बाढीले कम्तीमा एक दर्जन मानिसको ज्यान लियो । उक्त बाढी स्थानीय चिडियाघरमा पसेपछि त्यहाँ रहेका कतिपय जनावर मरेका थिए भने, कतिपय हराएका थिए । चिडियाघरवाट हिंस्रक जनावर बाघ, भालु हराएपछि स्थानीयवासीमा त्रास बढेको थियो ।