कार्ल माक्र्सले भनेका छन्— जबसम्म समाज रहन्छ तबसम्म द्वन्द्व पनि रहन्छ । द्वन्द्वले नै समाजमा गतिशीलता र परिवर्तन ल्याउँछ । सम्भवत: द्वन्द्वविहीन समाज यो संसारमा विरलै होला । समयको विकासक्रमसँगै द्वन्द्वका स्वरूपहरू फेरिन्छन् । नयाँ–नयाँ समस्याहरू उत्पन्न हुन्छन् र समाधान पनि हुन्छन् ।
नेपाल बहुजाति, बहुधर्मी र बहुभाषी भएको विशिष्ट मुलुक हो । अनेकतामा एकता नै यो देशको विशेषता हो । विविधखालका सामाजिक भेदभाव एवं वर्गीय द्वन्द्वले हाम्रो समाज पनि ग्रसित नै छ, तर समयसँगै समाजमा चेतनाको विकास पनि हुँदै जान्छ र कतिपय विभेदको अन्त्य पनि आफैं हुन्छ । यद्यपि हालै जनकपुरधाममा एकल महिला रहेकी यो देशकी राष्ट्रपति प्रवेश गरेर अपवित्र पारिन् भन्ने समाचारहरू प्रकाशमा आए । गंगाजल छर्केर र कुचो लगाएर मन्दिर सफा गरिरहेका युवाहरूका तस्बिर पनि बाहिर आए । सतहमा आएजस्तै कुरा त्यही नै थियो भने एक्काइसौं शताब्दीमा आएर यो देशमा घटेको त्यो एउटा दर्दनाक घटना हो । संसार बुझेका र देखेका आजका शिक्षित एवं चेतनशील युवाहरू कसरी त्यस्तो निकृष्ट कार्यमा सामेल भए ? युवाहरूको मस्तिष्कमा विष घोलेर समाजमा विग्रहको बीउ कसले छरिरहेको छ ? कुनचाहिं मुण्ड बुद्धि भएको फटाहाको कुरा सुनेर आजका युवा विवेकशून्य भैरहेका छन् ? आफ्नो अभीष्ट पूरा गर्न युवाहरूको दुुरुपयोग कसले गरिरहेको छ ? हामीलाई कसले र किन उचालिरहेको छ ?
गंगाजल त आज सबैको मनमा छर्किनुपर्ने बेला आएको छ । कुचो त मस्तिष्कको फोहर फाल्न लगाउनुपर्ने भएको छ । शोषणका अनेक स्वरूप मधेसमा पनि छन्, पहाडमा पनि छन् । छुवाछूत र कुप्रथा जारी नै छ । आजको शिक्षित युवा चाहे मधेसमा बसोस् वा पहाडमा, उसको साझा चिन्ता भनेको विश्वको गतिसँगै देशलाई कसरी अघि बढाउने भन्ने नै हो । धर्मको नाममा, जातको नाममा आजका चेतनशील युवाहरू एकआपसमा लड्नेछन् भनेर कल्पना पनि गर्न सकिँदैन । यो देशको चिन्ता के मधेस के पहाड सबै युवालाई उत्तिकै छ । आजका युवाहरूको साझा समस्या एउटै छ भने साझा सपना पनि एउटै छ । काम वा अवसरको खोजी गर्दै पहाड र तराई दुवै ठाउँका युवा सहर वा विदेश पस्न बाध्य छन् ।
मूर्ति फुटाएर वा भत्काएर इतिहास मेटिँदैन । इतिहासको जगमा टेकेर नै भविष्यको खम्बा बलियो हुन्छ । यो देशका प्राय: शासकहरू बेरोजगार युवाहरूको चरम दुरुपयोग गरेर आफ्नो दुनो सोझयाउँछन् । कसैले बुद्ध नेपालमा जन्मिएका होइनन् भन्दा हाम्रो चित्त दुख्छ । त्यसको विरोध गर्न हामी हिंसात्मक काम गर्न पनि अग्रसर हुन्छौं तर बुद्धले के गर्नु के नगर्नु भनेका थिए त्यसपट्टि हाम्रो ध्यान जाँदैन । उनका उपदेशहरू कति पालना गर्यौं, कति व्यवहारमा उतार्यौं हामी मतलब गर्दैनौं । कसैले भन्दैमा जोगिने र नभन्दैमा सकिने त्यति कमजोर पहिचान छ र हाम्रो ? सिमाना फेरबदल होला तर इतिहास कसैले मेट्न सक्दैन । सगरमाथाको देश भनेर गर्व गरे पनि हामी कति जना सगरमाथाको फेदसम्म पुगेका छौं ? खोक्रो आडम्बरले मात्र देश बन्दैन ।
कुनै पनि धर्म ठूलो वा सानो हुँदैन । कुनै पनि धर्मले हिंसा गर्नु भन्दैन तर आजको युगमा पनि यसको नाममा संसारभर लडाइँ भैरहेको छ । एउटाले अर्कोलाई मारेर आफ्नो धर्म जोगाउने कस्तो धर्मको खोजी भैरहेको छ ? सबैको सनातन धर्म त मानवता हुनुपर्ने तर यो हराइरहेको छ । कागले कान लग्यो भनेको भरमा कान नछामी काग लखेट्न कहिलेसम्म कुदिरहने ? बोक्सी विद्या जानेर सम्पन्न हुन सक्ने भए आरोपितहरू समाजमा धनी भै राज गरेर बस्थे होला ? सधंै गरिब तथा कमजोर महिलामाथि बोक्सीको आरोप लाग्ने थिएन होला । आफ्नो कर्मले आज जुनसुकै जातिको मानिस पनि महान् बन्न सक्छ । इन्टरनेटको विकासले विश्व सिमानाविहीन हुँदै गएको छ । संसार बुझ्न कतै गैरहन पर्दैन । के नारी के पुरुष शिक्षा पाए सबैले उत्तिकै प्रगति गर्न सक्छन् ।
आज विश्वको चेतना कहाँ पुगिसक्यो । विज्ञानको प्रयोग र विकासले चमत्कार गरिरहेको छ तर हामी जातभात, मधेस–पहाड, नारी–पुरुष, छुुवाछूतजस्ता मध्ययुगीन समस्यामै अल्झेर ऊर्जा खर्च गरिरहेका छौं । एक–अर्काको विरोधमा समय बिताइरहेछौं । चेतनाको घैंटो र विवेकको बिर्को बन्द गरेर अन्ध भैरहेछौं । हामी कुन युगमा बाँचिरहेछौं भन्ने सत्य भुलेर अन्धाधुन्ध लडिरहेछौं । हामीलाई विभाजित गरेर बदमास नेताहरू वा समाजका कथित नाइकेहरू आफ्नो स्वार्थसिद्ध गर्न लागिपरेका छन् । अब आजका युवा यो तन्द्राबाट जाग्नु जरुरी छ । समाजमा विष घोल्नेहरूलाई चिनेर लखेट्नु जरुरी छ ।
समान शिक्षा, अवसर र विकासको मुद्दालाई लिएर लड्नु जरुरी छ । भूगोल, जात, रंग एवं समुदायको कुरा उठाएर युवाहरूबीच फुट ल्याउन खोज्ने अनेक भेषधारी तत्वका विरुद्ध सारा देशका युवा एक भएर लड्ने समय आएको छ । कसैका पक्ष र विपक्षमा होइन, समतामूलक समाजका लागि लडौं । युवा जागेको दिन यो देशले काँचुली फेर्नेछ ।