साप्ताहिक संवाददाता
रात परेपछि उसै तातिने पोखरा यतिबेला झनै रंग फेरिएको छ । क्रिसमस इभसँगै अंग्रेजी नयाँ वर्षको रौनकले सहर गुलजार बन्दैछ । सबैलाई यतिबेला न्यू इयरले छोपिसकेको छ । नयाँ योजना बनाउन युवाहरू व्यस्त देखिन्छन् । क्रिसमस इभसँग न्यू इयरको रौनकले ताल नगरी रंगिएको छ ।
सामान्यदेखि स्टार होटलमा न्यू इयरका कार्यक्रम छन् । फूलबारीदेखि अतिथि रिसोर्टसम्मले क्रिसमस र न्यू इयरलाई फोकस गरेर कार्यक्रम गरेका छन् । हरेक क्रिसमस र न्यू इयरमा स्पेसल कार्यक्रम गर्दै आएको अतिथि रिसोर्टले यसपटक दुई ठूला इभेन्ट राखेको छ । क्रिसमसमा राष्ट्रिय सेलिब्रेटीलाई लिएर फेसन शो राखेको छ भने न्यू इयरको अघिल्लो रात म्युजिकल कन्सर्ट हँुदैछ । ‘यो बेला कोठाहरू पनि बुकिङ राम्रै हुन्छ, अतिथि रिसोर्टका सञ्चालक भरतराज शर्माले भने, संगीत र फेसनको कार्यक्रमले वातावरण बेग्लै हुन्छ । उनले यस्ता कार्यक्रमहरूले नयाँ वर्ष मनाउन पोखरा आउनेहरूलाई आनन्दित बनाउने बताए ।
यतिबेला पोखराका सानादेखि ठूला होटलहरूले न्यू इयर स्पेसल कार्यक्रमहरूले रंगारंग बनेका छन् । सबैलाई कार्यक्रमको चाँजोपाँजो जुटाउन भ्याइनभ्याइ छ । नाकाबन्दीको प्रभाव रहे पनि आन्तरिक पर्यटक नै न्यू इयर मनाउन अधिक मात्रमा पोखरा आउने भएकाले पनि खासै प्रभाव नपर्ने व्यवसायीहरू बताउँछन् ।
यो बेला लाग्ने भीडले यहाँका व्यवसायीलाई सेवा दिन भ्याइनभ्याइ हुन्छ । स्वदेशी तथा विदेशी न्यू इयरको मज्जा ताल आसपासका होटल रेस्टुराँमा टहलिएर मनाउँछन् । सामान्यदेखि भिआइपी न्यू इयर पार्टीका लागि होटल रेस्टुरेन्ट अग्रिम बुकिङ भैसकेको स्थानीय व्यवसायीहरू बताउँछन् । ‘न्यू इयरका लागि होटलका सबै कोठा बुकिङको क्रम बढिरहेको छ,’ ल्यान्डमार्क होटलका बजार प्रबन्धक पुष्प चालिसेले भने, ‘कल्चरलदेखि पाश्चात्य संगीतका कार्यक्रमहरू न्यू इयरमा विशेष हुने गरेको छ ।’ यस्ता कार्यक्रममा तन्नेरी जमातको बाक्लै उपस्थिति देखिन्छ ।
न्यू इयर स्पेसल डान्सपार्टीले कार्यक्रम सबै बुक भएको छ,’ मर्कियु डान्स क्लबका सुमन श्रेष्ठले भने, ‘न्यू इयर डान्सपार्टी धमाधम आयोजना भैरहेका छन् ।’ डान्स मात्र होइन, कल्चरल प्रोग्रामका लागि दोहोरी साँझहरू पनि उत्तिकै रंगारंग बनेका छन् । ‘सबै ठाउँबाट घुम्नका यो बेला पोखरा आउने भएकाले न्यू इयरमा पोखरा तातिन्छ, पर्यटन व्यवसायी टिकाराम सापकोटाले भने, ‘न्यू इयरमा पोखरा आउने युवा जमात निकै बाक्लो हुन्छ ।’ उनले अंग्रेजी नयाँ वर्षमा विगत केही वर्षयता पोखरा घुम्न आउने युवाहरू निकै बढेको बताए । यो बेला प्रेम जोडी हुन् वा साथीको समूह बनाएर युवायुवतीहरू पोखरामा रमाउने गरेका छन् ।
नाइट क्लब, होटल–रेस्टुराँमा देखिने भीडभाडले पनि यो कुरालाई पृष्टि गर्छ । ‘न्यू इयरका बेला आउने पाहुनाले भ्याइनभ्याइ हुन्छ,’ लेकसाइडस्थित इमोन क्याफेका सञ्चालक पृथ्वी गुरुङले भने, ‘न्यू इयरको मज्जा जे छ पोखरामै छ ।’
यो बेला लाग्ने भीडले यहाँका व्यवसायीलाई सेवा दिन भ्याइनभ्याइ हुन्छ । सामान्यदेखि भिआइपी न्यू इयर पार्टीका लागि होटल–रेस्टुराँ अग्रिम बुकिङ भैसकेको स्थानीय व्यवसायीहरू बताउँछन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) को आयोजनामा हरेक वर्ष लेकसाइडको सडकमै आयोजना हुने सडक महोत्सवको माहौलले अझ बढी तन्नेरीहरू न्यू इयरका लागि आउने गरेका छन् । न्यू इयरको आगमनलाई स्वागत गर्दै आयोजना हुने सडक महोत्सवमा रमाउनेहरू लेकसाइडका सडक मै बरालिन्छन् । सडकमै म्युजिकल कन्सर्टदेखि विभिन्न सांगीतिक कार्यक्रमले धुमले सडक गुन्जिन्छ । यो माहौल हात समातेर होस् वा आलिंगनमा बाँधिएर तन्नेरी जोडी माहौलमा मस्त हुन्छन् । यो वर्ष पनि यही महोत्सवको चमकधमक छ ।
अंग्रेजी नयाँ वर्षमा देश–विदेशका पर्यटकहरू ओइरिने हुँदा होटलहरू ओभरलोड भएर व्यवसायीहरूले पनि यही बेला धेरै राहतको महसुस गर्छन् । ‘अहिले पर्यटकीय सिजन पनि भएकाले होटलहरू प्राय: भरिएका छन्,’ पोखरा पर्यटन परिषद्का पुर्व अध्यक्ष डम्बरबहादुर केसीले भने, ‘अंग्रेजी नयाँ वर्ष इभमा पर्यटकको भीड बढने हुनाले पनि व्यवसायीलाई केही राहतको महसुस हुन्छ ।’
न्यू इयरमा यहाँ हुने हूलले होटलमा कोठा नपाएर हैरानी बेहोर्नुपर्ने झझन्ट पनि उस्तै छ । न्यू इयरमा साँच्चिकै पोखरा ब्लास्ट हुन्छ ।