जुरासिक वल्र्ड (युनिभर्सल)
वर्ष २०१५ मा प्रदर्शन भएका हलिउडका चलचित्रमध्ये ‘जुरासिक वल्र्ड’ सर्वाधिक आम्दानी गर्ने चलचित्रको सूचीको पहिलो स्थानमा छ । समीक्षकहरूले यसलाई विश्वकै सबैभन्दा ठूलो चलचित्र भनेका छन् । जुरासिस वल्र्ड १ दशमलव ६९ अरब डलर आम्दानी गरेर विश्वको तेस्रो ठूलो चलचित्र बनेको छ । यो चलचित्र निर्माण कम्पनी युनिभर्सल स्टुडियो यही चलचित्रका कारण विश्वका पाँच सर्वाधिक आम्दानी गर्ने चलचित्र निर्माण गर्ने कम्पनीका रूपमा समेत स्थापित भएको छ । २०१५ अघि युनिभर्सलका थुप्रै चलचित्र प्रदर्शन भए तर यत्तिको आम्दानी अन्य कुनै चलचित्रले गरेका थिएनन् । कोलिन ट्रेवोरोद्वारा निर्देशित यो चलचित्र ‘जुरासिक वल्र्ड’को चौथो श्रृंखला हो । यो चलचित्रमा क्रिस प्राट, ब्राइस डालास होवार्ड, भिन्सेट डि’ओलोफ्रियो, इरफान खान आदिले अभिनय गरेका छन् ।
फास्ट एन्ड फ्युरियस– ७
चलचित्र ‘फास्ट एन्ड फ्यूरियस—७’ वर्ष २०१५ को दोस्रो सफल चलचित्र हो । यो चलचित्रले १ दशमलव ५१ अरब डलरको व्यवसाय गरेको छ । यो चलचित्र ‘फास्ट एन्ड फ्यरियस’ को सातौं सिक्वेल हो । वर्ष २०१३ मा कार दुर्घटनामा निधन भएका अभिनेता पल वाकरप्रति समर्पित यो चलचित्र दर्शकको रोजाइमा पर्न सफल छ । यो एक्सन प्रधान चलचित्रको निर्देशन जेन्स वानले गरेका हुन् । यो चलचित्रमा पल वाकर, भिन डिजेल, डेवान जोन्सन, मिचेल रोड्रिग्युज, लुकास ब्ल्याक आदि कलाकारले अभिनय गरेका छन् ।
एभेन्जर : एज अफ अल्ट्रन
‘मार्भल’ कमिक्सका कथाहरूमा आधारित चलचित्र ‘एभेन्जर्स : एज अफ अल्ट्रन’ वर्ष २०१५ मा सर्वाधिक आम्दानी गर्ने चलचित्रको तेस्रो स्थानमा छ । यो चलचित्रले १ दशमलव ४० अरब डलरको व्यवसाय गरेको छ । जोस वेडनद्वारा निर्देशित यो चलचित्रमा रोबर्ट डोनी जुनियर, क्रिस हेम्सवर्थ, मार्क रुफालो, क्रिस इभान्स आदि कलाकारले अभिनय गरेका छन् । मार्भल स्टुडियोले निर्माण गरेको यो चलचित्र अप्रिल १३ मा प्रदर्शन भएको थियो ।
टर्मिनेटर : जेनेसिस
एलेन टेलरद्वारा निर्देशित यो चलचित्रमा हलिउडका सफल अभिनेता आर्नोल्ड स्वार्जनेगर मुख्य भूमिकामा छन् । उनलाई एमिलिया क्लार्क, जेसन क्लार्क, मेट स्मिथ, जेके सिम्पसन, जे कोर्टनी आदिले साथ दिएका छन् । ‘आई विल बि ब्याक’ भन्दै अभिनेता आर्नोल्ड स्वार्जनेगरले पुन: एकपटक दर्शकको मन जितेका छन् । चलचित्रमा पृथ्वीभन्दा छुट्टै अर्को एउटा संसारको कथा चित्रण गरिएको छ । अमेरिकाका टेलिभिजन तथा चलचित्रका चर्चित निर्माता एवं निर्देशक एलेन टेलरको यो चलचित्रले ४४ सय करोड डलरको व्यवसाय गरेको छ ।
इनसाइड आउट
यो एउटा एनिमेसन चलचित्र हो । पेट डाक्टरद्वारा निर्देशित यो चलचित्रमा एमी फोइलर, फिलिस स्मिथ, बिल हाडर, लेविस ब्ल्याक आदिले स्वर दिएका छन् । यो चलचित्रमा एनिमेटेड चरित्रका माध्यमबाट मानवीय भावनाहरूको नयाँ व्याख्या प्रस्तुत गरेको छ । रिस, डर, घृणा, खुसीजस्ता भावनालाई चरित्र बनाएर तयार पारिएको यो चलचित्र दर्शकलाई नौलो अनुभूति दिन सफल भयो । यो चलचित्रले ८५ करोड डलरको व्यवसाय गरेको बताइन्छ ।
जेम्स बोन्ड : स्पेक्टर
जेम्स बोन्डको पछिल्लो श्रृंखला ‘स्पेक्टर’ दर्शकको मन जित्न सफल रह्यो । चलचित्रको प्रिमियर समारोहमै बेलायती राजपरिवारको साथ पाएको यो चलचित्रका निर्देशक सेम मेन्डिस हुन् । चलचित्र अभिनेता डेनियल क्रेगले जेम्स बोन्ड– ००७ को भूमिका निर्वाह गरेका छन् । सेमले १९९९ मा ‘अमेरिकी ब्युटी’ चलचित्रका लागि ओस्कार एवार्ड जितेका थिए । चलचित्रमा क्रेगसँगै इटालियन नायिका मोनिका बेलुची, क्रिस्टोफ वाल्ट्ज, लि सेडक्स, बेन विस आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्रले ८२ करोड डलर आम्दानी गरेको छ ।
मिसन इम्पोसिबल : रग नेशन
हलिउडको सफल चलचित्र ‘मिसन इम्पोसिबल’ को पाँचौं सिक्वेल चलचित्र ‘रग नेशन’ पनि व्यवसायिक रूपमा सफल भएको छ । क्रिस्टोफर मेक्कोरीद्वारा निर्देशित यो चलचित्रमा टम क्रुज, रेबिका फरगुसन तथा जेर्मी रेनरले मुख्य भूमिका निर्वाह गरेका छन् । डरलाग्दा एक्सन दृश्य तथा स्टन्टहरूको श्रृंखलाका कारण यो चलचित्रलाई पनि दर्शकले मन पराए । हलिउडका एक्सन अभिनेता टम क्रुजको यो चलचित्रमा डरलाग्दो एक्सन समेटिएको छ । ‘मिसन इम्पोसिबल–५’ मा अभिनेता क्रुजले उडिरहेको हवाईजहाजको पखेटामा चढेको दृश्यसमेत कैद गरिएको छ । उक्त दृश्यका लागि कुनै डुप्लिकेटको सहायताबिना अभिनेता क्रुज आफैंले ज्यानको बाजी थापेर स्टन्ट गरेको बताइन्छ । यो चलचित्र ६८ करोड डलर आम्दानी गर्न सफल भएको छ ।
द मार्सियन
मंगल ग्रहको यात्रालाई मुख्य विषय बनाइएको यो चलचित्रले अमेरिका तथा क्यानाडामात्र होइन विश्वभर नै उत्कृष्ट व्यवसाय गर्यो । चलचित्रमा अभिनेता मेट डेमले एक अन्तरिक्ष यात्रीको भूमिका निर्वाह गरेका छन् जो मंगल ग्रहमा कुनै कारणवश एक्लै फस्छन् । यसअघि अन्तरिक्षको विषयमा आधारित चलचित्र ‘इन्टरस्लेटर’ भन्दा यो चलचित्रको व्यवसाय अब्बल मानिएको छ । यो चलचित्रले ५८ करोड डलरको व्यवसाय गरेको छ । चलचित्रमा मेट डेमका साथै जेसिका कास्टिन, क्रिष्टेन विग, जेफ डेनियल्स आदि कलाकारले अभिनय गरेका छन् ।
द हंगर गेम्स : मोकिङजोय पार्ट टु
सन् २०१२ मा प्रदर्शन भएको ‘द हंगर गेम्स’ को सिक्वेल चलचित्र ‘मोकिङजोय’ ले पनि व्यवसायिक सफलता हासिल गर्यो । फ्रान्सिस लरेन्सद्वारा निर्देशित यो चलचित्रमा जेनिफर लरेन्स, जोस हचर्सन, लियाम हेम्सवर्थ, उडी हारेल्सन आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रले ५७ करोड डलरको व्यवसाय गरेको बताइन्छ । यो चलचित्रमा जेनिफर लरेन्सले उत्कृष्ट अभिनय गरेकी छिन् ।
फिफ्टी सेड्स अफ ग्रे
साम टेलर–जोन्सनद्वारा निर्देशित यो चलचित्रलाई ‘इरोटिक रोमान्टिक ड्रामा’ भनिएको छ, अर्थात् यो चलचित्र यौनजन्य विषयमा आधारित छ जसमा डाकोटा जोन्सन, जेमी डोर्नन्, जेनिफर इल, मार्सिया गे हार्डेन आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्रले सर्वाधिक आम्दानी गर्ने एडल्ट चलचित्रको कीर्तिमान समेत कायम गरेको छ । यूनिभर्सल पिक्चरको यो चलचित्र यौनजन्य भएकै कारण मध्यपूर्वका देशमा प्रतिबन्धमा पर्यो । यो चलचित्रले ५७ करोड डलरको व्यवसाय गरेको बताइन्छ ।